देवचुली नगरपालिका– १६, टाँगिकोटस्थित नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत निर्माणाधीन चिनियाँ कम्पनीको परिसरमा ट्याक्टरको ट्रली पल्टिँदा एक महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा देवचुली नगरपालिका– ४ निवासी करिब ४० वर्षीया मनकुमारी सोतीमगर रहेकी छिन्।
प्रहरीका अनुसार लु.२त ६८११ नम्बरको ट्याक्टरको ट्रलीमा कम्पनीका ब्लक लोड गरिएको थियो। सोही ट्रलीको पछाडिपट्टि बसेकी मगर ट्रली घोप्टिँदा त्यसको ढालाले च्यापिएकी थिइन्। ट्रलीले टाउकोदेखि कम्मरसम्मको भाग च्यापिएपछि उनको घटनास्थलमै मृत्यु भएको हो।
घटनाको जानकारी प्राप्त भएपछि प्रहरी नायब निरीक्षक ज्ञानप्रसाद काफ्लेको कमान्डमा सातजनाको प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले ट्रली उठाएर उद्धारको प्रयास गरेको थियो।
घटनाबारे मृतकका आफन्तलाई जानकारी गराइएको प्रहरीले जनाएको छ। हाल मृतकको शव घटनास्थलमै रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको छ।