नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङले अविरल वर्षाका कारण मनाङमा भएको जनधनको क्षतिप्रति सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधिसभाको सोमबारको बैठकमा आकस्मिक समयमा बोल्दै गुरुङले मनाङको भौगोलिक विकटतासँगै बाढीपहिरोका कारण जिल्लामा मानवीय तथा भौतिक क्षति बढेको जानकारी गराए।
उनका अनुसार असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षाका कारण सदरमुकाम चामे क्षेत्रमा आधा दर्जनभन्दा बढी घर बाढीले बगाएको छ। मर्स्याङ्दी नदीको बहाब बढेपछि मनाङ जोड्ने मुख्य सडक तथा मोटरेबल पुलसमेत डुबानमा परेका छन्।
मर्स्याङ्दी नदी थुनिएपछि मनाङ जाने सडक अवरुद्ध भएको र तातोपानीआसपासका घरहरू डुबानमा परेपछि स्थानीय बासिन्दालाई सुरक्षाकर्मीको सहयोगमा सुरक्षित स्थानमा सारिएको गुरुङले बताए।
उनका अनुसार नासोङ गाउँपालिकामा मात्रै डेढ दर्जनभन्दा बढी घरमा नदीले क्षति पुर्याएको छ। दर्जनौँ पुल तथा पुलेसा बगाएपछि जिल्लाका विभिन्न क्षेत्रमा आवतजावत प्रभावित भएको छ।
बाढीपहिरोका कारण सञ्चार तथा विद्युत् सेवा अवरुद्ध हुँदा उद्धार तथा राहत कार्यमा समेत कठिनाइ भएको उनले बताए। निसाङ र नार्पाभूमि गाउँपालिकामा विद्युत् तथा टेलिफोन सेवा सञ्चालनमा आउन नसक्दा स्थानीयवासीसँग सम्पर्कविच्छेद भएको गुरुङको भनाइ छ।
सडक तथा पदमार्ग अवरुद्ध भएपछि आन्तरिक र बाह्य पर्यटकसमेत मनाङका विभिन्न स्थानमा अलपत्र परेको गुरुङले जानकारी दिए। बाटो र पुलपुलेसा क्षतिग्रस्त हुँदा सयौँ पर्यटक प्रभावित भएको र त्यसले जिल्लाको पर्यटन व्यवसाय तथा स्थानीय अर्थतन्त्रमा समेत असर परेको उनले बताए।
सांसद गुरुङले बाढीपहिरोबाट प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत तथा सडक र सञ्चार पूर्वाधार पुनर्स्थापनाका लागि सरकारको ध्यानाकर्षण गराएका छन्।