मधेश प्रदेश सरकारको बजेटबाट सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका– १२ मा निर्माण गरिएको व्यवस्थित शवदाह गृहमा अर्को पालिकाबाट ल्याइएका शव जलाउन रोक लगाइएको छ।
वडा नम्बर १२ का वडाध्यक्ष चन्द्र मुखियाले सूचना जारी गर्दै नगरपालिका क्षेत्रबाहिरका शव उक्त शवदाह गृहमा जलाउन निषेध गरेका हुन्। सूचनामा नगरपालिका क्षेत्रभन्दा बाहिरका कुनै पनि शव जलाउन ‘सख्त मनाही’ गरिएको उल्लेख छ। निर्देशन बेवास्ता गरी बाहिरबाट ल्याइएको शव जलाएको पाइए कानुनबमोजिम कडा कारबाही गरिने चेतावनीसमेत दिइएको छ।
लगातारको वर्षा, बाढी तथा प्रतिकूल मौसमका कारण जिल्लाका विभिन्न स्थानमा मृतकको अन्तिम संस्कार गर्नसमेत कठिन भइरहेका वेला व्यवस्थित शवदाह गृहमा अर्को पालिकाका शव जलाउन रोक लगाइएपछि स्थानीयस्तरमा विरोध सुरु भएको छ।

विपतकाे समयमा अन्तिम संस्कारका लागि सहज सुविधा उपलब्ध गराउनुपर्नेमा स्थानीय तहको सीमा देखाएर शवदाह गृह प्रयोगमा रोक लगाइएको भन्दै समाजका अगुवाहरूले निर्णयको विरोध गरेका छन्। उनीहरूले विपत् तथा असहाय अवस्थामा अर्को पालिकाका बासिन्दालाई समेत उक्त शवदाह गृह प्रयोग गर्न दिनुपर्ने माग गरेका छन्।
पूर्वजनप्रतिनिधिसमेत रहेका नागरिक अगुवा समीर झाले शवदाह गृहमा अर्को पालिकाका शव जलाउन रोक लगाउने निर्णय अमानवीय भएको बताएका छन्।
‘हनुमाननगर– १२ मा रहेको व्यवस्थित शवदाह गृहमा अर्को पालिकाको शव जलाउन नदिने सूचना टाँस्नु र दाहसंस्कार गर्न रोक्नु अमानवीय कार्य हो। यस्तो निर्णय तत्काल रोक्नुपर्छ,’ झाले भने।
दाहसंस्कारमा पनि भौगोलिक सीमा तोक्नु उचित नभएको तर्क गर्दै उनले प्रश्न गरे, ‘दाहसंस्कारको पनि कुनै निश्चित क्षेत्र वा सीमा हुन्छ र ? त्यसो हो भने पशुपतिनाथमा देशैभरका शवको अन्तिम संस्कार किन गर्न दिइन्छ ?’
यता, वडाध्यक्ष मुखियाले भने गाउँ–समाजको निर्णयअनुसार सूचना जारी गरी बाहिरबाट ल्याइएका शव जलाउन रोक लगाइएको बताएका छन्।
‘गाउँ समाजको निर्णयअनुसार सूचना जारी गरेर रोक लगाएको हुँ,’ मुखियाले भने, ‘समाजकै निर्णय भएकाले बाहिरबाट ल्याइएको शव जलाउन रोक लगाएको छु।’
घटनाबारे जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक (एसपी) रूपक खड्काले पनि चासो जनाएका छन्। उनले शवदाह गृहमा यसरी रोक लगाउन नहुने भन्दै घटनाबारे बुझ्न लगाएको बताए। ‘यसरी रोक लगाउनुहुँदैन। के भएको हो भन्नेबारे बुझ्न लगाएको छु,’ एसपी खड्काले भने।