Skip This
मौसम खुलेपछि चामेवासी घर फर्किए, ब्लास्ट गरेर मर्स्याङ्दी नदी खोल्ने तयारी
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १२ सोमबार
  • Monday, 28 September, 2026
तस्बिर : लोकेन्द्र घले अध्यक्ष चामे गाउँपालिका
शान्ता कमली काठमाडौं
२o८३ असोज १२ सोमबार १४:१२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मौसम खुलेपछि चामेवासी घर फर्किए, ब्लास्ट गरेर मर्स्याङ्दी नदी खोल्ने तयारी

Read Time : < 1 मिनेट
शान्ता कमली, काठमाडौं
नयाँ पत्रिका
२o८३ असोज १२ सोमबार १४:१२:oo

स्थानीय खोलामा बाढी आउनुका साथै मर्स्याङ्दी नदी थुनिएपछि जंगल, सामुदायिक भवन र ब्यारेकमा रात बिताएका मनाङको चामेका बासिन्दा मौसम खुलेसँगै घर फर्किएका छन्।

आइतबार ठाडो र घट्टे खोलामा आएको बाढीले घर, पुल तथा सडकमा क्षति पुर्‍याएको थियो। साँझ ठाडो खोलामा पहिरो खसेर आएको लेदो र हिलोले मर्स्याङ्दी नदी थुनिएपछि चामेवासी थप त्रसित बनेका थिए।

चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेका अनुसार जोखिम बढेपछि स्थानीयले जंगल, सामुदायिक भवन र नयाँ भैरवी गणमा रात बिताएका थिए। अहिले स्थानीय खोलामा बाढी रोकिएको र मानिसहरू घर फर्किएको उनले बताए।

अध्यक्ष  घलेका अनुसार सोमबार बिहान मौसम खुलेपछि अवस्था सामान्य बन्दै गएको छ। मर्स्याङ्दी नदी भने अझै थुनिएकाले जोखिम न्यूनीकरणका लागि त्यसलाई खोल्ने तयारी भइरहेको छ।

०७८ सालमा आएको बाढीले मनाङमा ठुलो भौतिक क्षति पुर्‍याएकाले लगातारको वर्षा र स्थानीय खोलामा आएको बाढीपछि चामेवासी शनिबारदेखि नै सतर्क भएर सुरक्षित स्थानतर्फ सरेका थिए। मर्स्याङ्दीसमेत थुनिएपछि आइतबार चामे बजार नै खाली भएको थियो।

मर्स्याङ्दी नदी ब्लास्ट गरेर खोल्ने तयारी

मनाङको चामेमा थुनिएको मर्स्याङ्दी नदी ब्लास्ट गरेर खोल्ने तयारी गरिएको छ।

जिल्ला प्रहरी कार्यालय मनाङका निमित्त प्रमुख प्रहरी निरीक्षक विनोद बोहराका अनुसार सोमबार बिहानदेखि जोखिम कम हुँदै गएको छ। पोखराबाट आएको नेपाली सेनाको बम ब्लास्टिङ प्राविधिक टोलीले थुनिएको नदी विस्फोट गरी आजै खोल्ने तयारी गरेको हो।

 

↑