चीनतर्फको तेस्रो महत्वपूर्ण व्यापार नाका कोरोला नाका पनि अवरुद्ध भएको छ । शनिबार र आइतबार परेको अविरल वर्षापछि आएको बाढीपहिरोले सडक अवरुद्ध पारेपछि जोमसोम–कोरोला नाकासमेत बन्द भएको हो ।
बाढीपहिरो तथा हिमपातका कारण अहिले कोरोला नाकाबाट हुने व्यापारसमेत रोकिएको नेपाल हिमालयन सीमापार व्यापार संघका अध्यक्ष रामहरि कार्कीले जानकारी दिए । यससँगै चीनसँग स्थलमार्गबाट हुने अन्तर्राष्ट्रिय व्यापार पूर्ण रूपमा रोकिएको उनले बताए ।
१० भदौमा आएको बाढीले रसुवा नाकाको मितेरी पुलसहित भन्सार प्रशासनका संरचना बगाएपछि उक्त नाका सञ्चालन नै अनिश्चित भएको छ । अर्कोतर्फ चीनले तातोपानी नाका पनि नखुलाएका कारण उत्तरी नाकाबाट हुने आयात प्रभावित भएपछि सरकारले कोरोला नाकाबाट सामान ल्याउन सहजीकरण गर्ने घोषणा गरेको थियो । भन्सार विभागले पनि कोरोला नाकाबाट आयात हुने सामान काठमाडौंको चोभारस्थित सुक्खा बन्दरगाहमा ल्याएर जाँचपास गर्न सकिने व्यवस्था गरेको थियो ।
रसुवा र तातोपानी नाका बन्द भएपछि चीनबाट हुने वस्तु आयात गर्ने तस्रो प्रमुख नाका कोरोला व्यस्त भएको थियो । तर, म्याग्दी र मुस्ताङका विभिन्न ठाउँका सडकमा पहिरो गएपछि र नाका क्षेत्रमा हिमपात भएपछि आगमन रोकिएको हो । यससँगै कोरोलाबाट हुने चीनतर्फको व्यापारसमेत रोकिएको व्यवसायीले बताएका छन् ।