Skip This
यू–१९ महिला विश्वकपको तयारी : त्रिवि र मूलपानी मैदानको निरीक्षणमा आइसिसी प्रतिनिधि
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १२ सोमबार
  • Monday, 28 September, 2026
त्रिवि क्रिकेट मैदानको निरीक्षण गर्दै आइसिसीका प्रतिनिधि ।तस्बिर : संजित परियार/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडाैं
२o८३ असोज १२ सोमबार o७:४६:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

यू–१९ महिला विश्वकपको तयारी : त्रिवि र मूलपानी मैदानको निरीक्षणमा आइसिसी प्रतिनिधि

नितिसा कोठाइतको नेतृत्वमा आएको आइसिसी प्रतिनिधिले लिए त्रिवि र माथिल्लो मूलपानी क्रिकेट मैदानका पार्किङ, मिडिया व्यवस्थापन, पिच र सुरक्षालगायत विषयमा जानकारी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८३ असोज १२ सोमबार o७:४६:oo

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)का प्रतिनिधिले त्रिवि क्रिकेट र माथिल्लो मूलपानी क्रिकेट मैदानको निरीक्षण गरेका छन् । आइसिसीको नौ सदस्यीय टोलीले अर्को वर्ष नेपाल र बंगलादेशले संयुक्त रूपमा आयोजना गर्न लागेको आइसिसी यू–१९ महिला विश्वकप २०२७ अघि आइतबार मैदानको निरीक्षण गरेको हो । नितिसा कोठाइतको नेतृत्वमा आएको टोलीले त्रिवि र मूलपानीको माथिल्लो मैदानसहित प्रशिक्षण हुने तल्लो मूलपानी मैदानको समेत निरीक्षण गरेको छ । 

टोलीले पार्किङ, आइस बाथ, मिडिया व्यवस्थापन, सुरक्षालगायत विषयमा जानकारी लिएको थियो । आइसिसीले यू–१९ विश्वकप महिला क्रिकेट प्रतियोगिता दुई राष्ट्रमा हुने घोषणा गरे पनि यसको मिती तय गरेको छैन । आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकपका खेल माथिल्लो मूलपानी र त्रिवि क्रिकेट मैदानमा गराउनेछ । विश्वकपजस्तो अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न आवश्यक मापदण्डअनुसार मैदान तथा अन्य पूर्वाधारको अवस्था मूल्यांकन गर्ने चलन छ । 

आइसिसीका प्रतिनिधिलाई क्यानका सचिव पारस खड्का र उपाध्यक्ष रोशन सिंहले जानकारी गराएका थिए । ‘निरीक्षणपछि मैदान राम्रो भएको र सुरक्षालाई ध्यान दिन, लोकल मिडिया व्यवस्थापन, पानीको सम्भावना, अन्य सुविधा हेरेर राम्रो रहेको प्रतिक्रिया दिनुभयो,’ सिंहले भने । त्रिवि मैदानको निरीक्षणपछि आइसिसीका प्रतिनिधिले मैदान पहिलेभन्दा फरक पाएका छन् । प्रतिनिधिले मैदानमा भइरहेको मर्मतसम्भारबारे समेत बुझेका थिए । सुरक्षाको विषयमा प्रतिनिधिमण्डलले सबैभन्दा धेरै चासो राखेको छ । 

टोलीले सुरुमा मूलपानी र त्यसपछि त्रिवि क्रिकेट मैदानको निरीक्षण गरेको थियो । उनीहरूले मैदानको आउटफिल्ड र पिचको अवस्था आइसिसीले तोकेको मापदण्डअनुसार हुनुपर्ने जनाएको छ । तल्लो मूलपानी क्रिकेट मैदानमा सहभागी टोलीलाई अभ्यास गराउने क्यानको तयारी छ । आइसिसीले नेपाललाई कतिवटा खेल आयोजना गर्न दिने भन्ने निर्णय गरेको छैन । नेपालले तल्लो मूलपानी मैदानलाई अभ्यास खेलका रूपमा प्रस्ताव राखेको छ ।

आइसिसीका प्रतिनिधिले प्रसारण सञ्चालन (ब्रोडकास्ट अपरेसन) तथा एन्टी करप्सनसम्बन्धी पूर्वाधारको निरीक्षण गरेका छन् । ‘खेलको प्रत्यक्ष प्रसारणका लागि आवश्यक संरचना तथा खेलको निष्पक्षता सुनिश्चित गर्न अपनाइने एन्टी करप्सन प्रोटोकलका विषयमा पनि जाँच गरिएको छ,’ क्यानले भनेको छ । यसैगरी, मैदानबाहिरका व्यवस्थापन, क्यामेरा तथा अन्य प्राविधिक उपकरण जडान र सञ्चालनका लागि आवश्यक संरचनाबारे पनि निरीक्षण भएको छ । निरीक्षणपछि आइसिसीको टोलीले आवश्यक सुधार तथा व्यवस्थापनका विषयमा सुझाव र सिफारिस गर्नेछ । 

आइसिसीको विश्वकपलगायत अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गर्न आयोजक राष्ट्रले विभिन्न सर्त पूरा गर्नुपर्छ । जसअनुसार दर्शकको सुरक्षा, मैदान प्रवेश तथा निकासको व्यवस्था र एन्टी करप्सनका लागि आवश्यक प्रोटोकल पूरा भएको हुनुपर्नेछ । यसैगरी, प्यारापिट तथा स्ट्यान्डको अवस्था, सिटको व्यवस्था र दर्शकका लागि आवश्यक आधारभूत सुविधा हुनुपर्ने उल्लेख छ । 

१६ टोली सहभागी हुने
आयोजक नेपाल र बंगलादेशसँगै विश्वकपमा १६ टोलीले सहभागिता जनाउनेछन् । आइसिसीले १६ टोलीलाई चार समूहमा विभाजन गर्नेछ । टेस्ट राष्ट्रहरू अस्ट्रेलिया, इंग्ल्यान्ड, भारत, आयरल्यान्ड, पाकिस्तान, न्युजिल्यान्ड, दक्षिण अफ्रिका, श्रीलंका र वेस्ट इन्डिजले वरीयताअनुसार सिधै प्रतियोगितामा स्थान बनाएका हुन् । यसैगरी क्षेत्रीय विजेताका रूपमा नाइजेरिया, सामोआ, युएई र अमेरिकाले स्थान पक्का गरिसकेका छन् । अब क्षेत्रीय छनोटबाट एक राष्ट्र आउन बाँकी छ । छनोटबाट अन्तिम टोली आएपछि आइसिसीले समूह विभाजन गर्नेछ ।

छनोटका भएका राष्ट्रहरू
आयोजकहरू
नेपाल, बंगलादेश
सन् २०२५ को संस्करणका शीर्ष नौ
अस्ट्रेलिया, इंग्ल्यान्ड, भारत, आयरल्यान्ड, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका, वेस्ट इन्डिज
क्षेत्रीय विजेता
नाइजेरिया, साओमा, युएई, अमेरिका

 

↑