Skip This
कांग्रेसमा समानान्तर महाधिवेशन
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १२ सोमबार
  • Monday, 28 September, 2026
नयाँ पत्रिका काठमाडाैं
२o८३ असोज १२ सोमबार o७:५७:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेसमा समानान्तर महाधिवेशन

संस्थापनको क्षेत्रीय अधिवेशन चल्दै, देउवा समूह क्रियाशील सदस्य थप्दै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८३ असोज १२ सोमबार o७:५७:oo

क्रियाशील सदस्यताको दाबी : संस्थापन आठ लाख ७० हजार इतर समूह सात लाख ८३ हजार 

कांग्रेसमा संस्थापन (गगन थापा) र इतर पक्ष (निवर्तमान सभापति शेरबहादुर देउवा)ले समानान्तर १५औँ महाधिवेशन प्रक्रिया अघि बढाएका छन् । संस्थापन पक्ष वडा र पालिका अधिवेशन हुँदै क्षेत्रीय अधिवेशन गर्दै छ भने इतर पक्षले १५ असोजमा वडा अधिवेशन गर्दै छ । संस्थापन पक्षको महाधिवेशन यही १६–१९ असोजमा र इतर पक्षको २१–२३ मंसिरमा १५औँ महाधिवेशन गर्ने कार्यतालिका छ ।

संस्थापन पक्षले आठ लाख ७० हजार क्रियाशील सदस्य कायम गरेको छ भने इतर पक्षले सात लाख ८३ हजार ८३६ क्रियाशील सदस्य रहेको र महाधिवेशनका लागि आगामी १५ असोजसम्म क्रियाशील सदस्यता लिन सकिने बताएको छ । इतर पक्षले गत पुससम्म नवीकरण गरेका र नयाँ क्रियाशील सदस्यलाई महाधिवेशन प्रक्रियामा सहभागी गराउने बताएको छ ।

नेता डा. प्रकाशशरण महतका अनुसार १५ असोजमा वडा अधिवेशन सुरु गरी तहगत सबै अधिवेशन गरेर २१–२३ मंसिरमा १५औँ महाधिवेशन सम्पन्न हुनेछ । हालसम्म नयाँ र पुराना गरी सात लाख ८३ हजार ८३६ क्रियाशील सदस्य रहेको महतले बताए ।

सो समूहका क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक किरणराज शर्मा पौडेलले निर्वाचन समितिका संयोजक एकराज पोेखरेललाई क्रियाशील सदस्यताको विवरण हस्तान्तरण गरिसकेका छन् । उनका अनुसार अनलाइनमार्फत क्रियाशील सदस्यता लिन सकिने व्यवस्था गरिएको छ । सदस्यता वितरणका लागि देउवा पक्षले वेबसाइट नै सञ्चालनमा ल्याएको छ । 

सर्वोच्च अदालतमा आधिकारिकता विवाद विचाराधीन अवस्थामा रहँदा दुवै पक्षले आफूहरू नै आधिकारिक भएको दाबी गरेका छन् । अदालतबाट आफूहरूले आधिकारिकता पाउने दाबीसहित दुवै पक्ष १५औँ महाधिवेशनमा होमिएका हुन् ।
संस्थापन पक्षले वडा, पालिका हुँदै क्षेत्रीय अधिवेशन गर्र्दै छ । गत १० असोजमा सुरु भएको क्षेत्रीय अधिवेशन १३ असोजमा सम्पन्न हुने कांग्रेस प्रवक्ता देवराज चालिसेले बताए । ‘हामी अहिले क्षेत्रीय अधिवेशनमा छौँ । निर्धारित समयमै १५औँ महाविधेशन सम्पन्न गर्छौँ,’ चालिसेले भने ।

सभापति थापाले निरन्तरको वर्षाले जनजीवन प्रभावित भएको भन्दै सुरक्षालाई पहिलो प्राथमिकता दिन आग्रह गरेका छन् । उनले सामाजिक सञ्जालमा फेसबुकमार्फत आ–आफ्नो क्षेत्रको अवस्था बुझेर अप्ठ्यारोमा परेका नागरिकलाई आवश्यक सहयोग र समन्वय गर्न आग्रह गरेका छन् ।

सबै तहका कमिटीमा जेन–जीलाई समेट्दै देउवा पक्ष
देउवा पक्षले वडादेखि केन्द्रसम्मै जेन–जीको प्रतिनिधित्व गराउने दाबी गरेको छ । देउवा पक्षले जारी गरेको ‘निर्वाचन निर्देशिका २०८३’ले सांगठनिक संरचनामा १८ देखि २८ वर्ष उमेर समूहका युवाको सहभागिता अनिवार्य गरेको छ । ‘निर्वाचित हुने सबै तहका कार्यसमितिहरूमा १८ देखि २८ वर्ष उमेर समूहका एकजना महिला र एकजना पुरुष अनिवार्य रूपमा समावेश गर्नुपर्नेछ । यदि, कुनै स्थानमा १८ देखि २८ वर्ष उमेर समूहको युवा नभएको खण्डमा सो पद खाली राख्नुपर्नेछ र अन्य उमेर समूहका व्यक्तिले सो स्थान ओगट्न पाउनेछैनन्,’ निर्देशिकामा छ ।

केन्द्रीय सभापतिको उम्मेदवार बन्न सात–सात प्रस्तावक र समर्थक 
देउवा समूहको केन्द्रीय सभापतिको उम्मेदवार बन्न सात–सात प्रस्तावक र समर्थक चाहिने भएको छ । निर्वाचन निर्देशिकाअनुसार सभापतिको उम्मेदवार बन्न कम्तीमा १४ महाधिवेशन प्रतिनिधि आवश्यक पर्नेछ । सभापतिको उम्मेदवारी दर्ता गर्न ३० हजार रुपैयाँ लाग्नेछ । उपसभापति, महामन्त्री र सहमहामन्त्रीका लागि पाँच–पाँच प्रस्तावक र समर्थक चाहिनेछ । उपसभापति र महामन्त्रीको उम्मेदवारी दर्ता गर्न २५ हजार र सहमहामन्त्रीको उम्मेदवारी दर्ता गर्न २० हजार रुपैयाँ लाग्नेछ । केन्द्रीय सदस्यको उम्मेदवार बन्न चार–चारजना प्रस्तावक र समर्थक चाहिने भएको छ । केन्द्रीय सदस्यको उम्मेदवारी दर्ता गर्न १० हजार रुपैयाँ शुल्क तोकिएको छ ।

↑