प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर स्वदेश फर्किएका छन्। प्रधानमन्त्री शाह केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।
प्रधानमन्त्री शाहलाई स्वागत गर्न कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, गृहमन्त्री सुधन गुरुङ तथा संस्कृति, नागरिक तथा उड्डयनमन्त्री खडकराज पौडेल विमानस्थल पुगेका थिए।
महासभामा सहभागी हुन प्रधानमन्त्री शाह गत मंगलबार साँझ अमेरिका प्रस्थान गरेका थिए। उनले सेप्टेम्बर २४ अर्थात् असोज ८ गते महासभाको जनरल डिबेटलाई सम्बोधन गरेका थिए।
सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले नेपालको प्राथमिकता, जलवायु संकट र अन्तर्राष्ट्रिय सहकार्यका विषयमा धारणा राखेका थिए। उनले नेपालमा हालै आएको भोटेकोशी–त्रिशूली बाढीलाई जलवायु परिवर्तनले निम्त्याइरहेको संकटको गम्भीर उदाहरणका रूपमा प्रस्तुत गर्दै अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएका थिए।
नेपालले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नगण्य योगदान गरे पनि जलवायु परिवर्तनका कारण गम्भीर असर भोगिरहेको उल्लेख गर्दै शाहले जलवायु संकट सिर्जना गर्न कम योगदान गरेका देशहरूले त्यसको ठुलो मूल्य चुकाइरहेको बताएका थिए।
उनले हिमाली क्षेत्रमा बढ्दो जोखिमप्रति अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउँदै हिमनदी पग्लिने, पहिरो तथा बाढीजस्ता विपतको प्रभाव नेपालसँगै चीन र भारतसम्म फैलिन सक्ने बताएका थिए।
प्रधानमन्त्री शाहले जलवायु न्यायलाई आर्थिक सहयोगमा मात्रै सीमित गर्न नहुने धारणा पनि राखेका थिए। हिमाली समुदाय, साना टापु राष्ट्र, भूपरिवेष्टित तथा अतिकम विकसित देश र भावी पुस्ताको आवाजलाई अन्तर्राष्ट्रिय निर्णय प्रक्रियामा समान महत्त्व दिनुपर्ने उनको भनाइ थियो।
महासभामा सहभागिताका क्रममा प्रधानमन्त्री शाहले विभिन्न देशका प्रतिनिधि तथा अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधिसँग भेटवार्तासमेत गरेका थिए। उनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस तथा अस्ट्रेलियाका प्रधानमन्त्री एन्थनी एल्बानिजसँग समेत भेटवार्ता गरेका थिए।
महासचिव गुटेरेससँगको भेटमा भोटेकोशी विपत्, नदीकिनारका बासिन्दाको पुनर्वास, हरित पुनर्निर्माण तथा जलवायु संकटका विषयमा छलफल भएको थियो।