मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १० शनिबार
  • Saturday, 26 September, 2026
नयाँ पत्रिका काठमाडाैं
२o८३ असोज १० शनिबार १३:५२:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

तीन महिनामा मधेशबाट २७ करोड ८५ लाखको अवैध सामान बरामद

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८३ असोज १० शनिबार १३:५२:oo

सशस्त्र प्रहरी बल नेपालले पछिल्लो तीन महिनाको अवधिमा मधेश प्रदेशबाट झन्डै २७ करोड ८५ लाख रुपैयाँबराबरको अवैध किराना सामान, लत्ताकपडा, सुर्तीजन्य पदार्थ, इलेक्ट्रोनिक्स, हार्डवेयर, मोटरपार्टस् तथा कस्मेटिक सामान बरामद गरेको छ।

सशस्त्र प्रहरीले अवैध सामान ओसारपसारमा प्रयोग भएका १० करोड २२ लाख रुपैयाँभन्दा बढी मूल्यका सवारीसाधनसमेत नियन्त्रणमा लिएर भन्सार दाखिला गरेको जनाएको छ। सोही अवधिमा ३० लाख रुपैयाँभन्दा बढी मूल्यबराबरको एक हजार एक सय क्युफिट काठ र एक सय दुई ग्राम चाँदी पनि बरामद गरिएको छ। अवैध कारोबारमा संलग्न ८४ जनालाई नियन्त्रणमा लिएर सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

मधेश प्रदेशका सीमा क्षेत्रमा हुने लागुऔषध ओसारपसार नियन्त्रणमा समेत सशस्त्र प्रहरीले सक्रियता बढाएको छ। तीन महिनामा एक सय ९३ ग्राम ब्राउन सुगर, नौ किलो पाँच सय ग्राम चरेस र एक हजार ६ सय ६ किलोभन्दा बढी गाँजा बरामद गरिएको छ।

त्यस्तै, तीन थान कटुवा पेस्तोल, दुई थान सिक्सर, दुई थान भरुवा बन्दुक तथा त्यसका राउन्ड र बारुदसमेत बरामद गरिएको छ। मानव बेचबिखनको आशंकामा २९ महिला र ३० पुरुषलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

सीमा सुरक्षा, चोरी–तस्करी नियन्त्रण तथा अवैध गतिविधि रोकथामका लागि मधेश प्रदेशमा सशस्त्र प्रहरीलाई थप सक्रिय बनाइएको छ। साम्प्रदायिक प्रदर्शन, बलात्कार, सीमापार अपराध, विपत् व्यवस्थापन तथा लागुऔषध नियन्त्रणलगायतका कार्यमा अन्य सुरक्षा निकाय र स्थानीय तहसँग समन्वय गरी परिचालन भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।

सीमा सुरक्षाअन्तर्गत सीमास्तम्भको डिजिटल अभिलेख तथा भौतिक अवस्थाको अद्यावधिक गर्ने, भारतीय समकक्षी सुरक्षा निकायसँग समन्वय गरी सीमास्तम्भको मर्मतसम्भार गर्ने तथा दशगजा क्षेत्रको सुरक्षा र सीमा अतिक्रमण नियन्त्रणमा समेत काम भइरहेको जनाइएको छ। नेपाल–भारत खुला सीमाबाट हुने तस्करी, मानव बेचबिखन र सीमा अपराध नियन्त्रणका लागि मधेश प्रदेशस्थित सशस्त्र प्रहरीका इकाइहरू सक्रिय रहेको जनाइएको छ।

त्यस्तै, नदीजन्य पदार्थको अवैध उत्खननमा संलग्न २२ वटा ट्र्याक्टर, २६ वटा टिपर र दुईवटा जेसिबीसमेत नियन्त्रणमा लिइएको छ। मनसुन सुरु भएयता विपतमा परेका १५ पुरुष र १५ महिला गरी ३० जनाको सकुशल उद्धार गरिएको सशस्त्र प्रहरीले जनाएको छ। विभिन्न घटनामा घाइते भएका दुई सय ११ पुरुष र ६३ महिला गरी दुई सय ७४ जनाको उद्धार गरी उपचारका लागि अस्पताल पुर्‍याइएको छ।

अवैध सामान बरामद गर्न बाहिनीमा वरिष्ठ अधिकृतको कमान्डमा स्ट्राइकिङ टिम तथा सीमा क्षेत्र अनुगमनका लागि गणहरूमा डेडिकेटेड अधिकृत परिचालन गरिएको जनाइएको छ। सीमा सुरक्षा र सहजीकरणमार्फत सीमावासीलाई राज्यको उपस्थितिको अनुभूति दिलाउँदै जनविश्वास बढाउने काममा जोड दिइएको सशस्त्र प्रहरीले जनाएको छ।

यसैबिच, रामेछाप प्रहरीले मन्थलीका तीन सुन व्यवसायीलाई पक्राउ गर्नुका साथै उनीहरूका पसलबाट चोरीका सामानसमेत बरामद गरेको जनाएको छ। घटनामा संलग्न अन्य व्यवसायीमाथि पनि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवालले जानकारी दिए।

↑