मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ भदौ १७ बुधबार
  • Wednesday, 02 September, 2026
२o८३ भदौ १७ बुधबार o७:३१:oo
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

बाढीले लग्यो नागरिकका ७,५७० घर

१२ सय ५३ घरको नामोनिसान नै छैन, बाँकी घरहरू पनि अधिकांश पुनर्निर्माण नै गर्नुपर्ने अवस्थामा

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८३ भदौ १७ बुधबार o७:३१:oo

भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीले पाँच जिल्लाका सात हजार ५७० निजी घरमा क्षति पुगेको प्रारम्भिक विवरण छ । सहरी विकास तथा भवन निर्माण विभागले संकलन गरेको विवरणअनुसार रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनमा ठुलो संख्यामा निजी घर बाढीको चपेटामा परेका छन् ।

एक हजार २५३ घरको नामोनिसान नै नरहेको विभागले जनाएको छ । त्यस्तै, ६ हजार ३१७ घर पनि बाढीले धेरै क्षतिग्रस्त बनाएको छ, अधिकांश पुनर्निर्माण नै गर्नुपर्ने अवस्थामा पुगेका छन् । अर्थात् क्षतिग्रस्तमध्ये ठुलो हिस्सा तत्काल मर्मत गरेर बस्न सकिने अवस्थामा छैन । 

विभागका महानिर्देशक रवीन्द्र बोहराले बाढीका कारण पाँच जिल्लामा सात हजार ५८० निजी घर क्षतिग्रस्त भएको प्रारम्भिक विवरण प्राप्त भएको बताए । ‘विभागको टोलीले फिल्डमै गएर क्षतिको विवरण संकलन गरेको छ । त्यसमा सात हजार ५८० घर क्षतिग्रस्त भएको प्रारम्भिक विवरण देखिएको छ,’ उनले भने, ‘निजी घरमा मात्रै १७ अर्ब ३१ करोड रुपैयाँबराबरको क्षति भएको छ ।’

उनका अनुसार सरकारी निकायका ४५ वटा भवनमा बाढीले क्षति पुर्‍याएको छ । ती भवनमा मात्रै करिब साढे चार अर्ब रुपैयाँबराबरको क्षति भएको प्रारम्भिक अनुमान छ । बाढीले घर तथा सरकारी संरचनामा पुर्‍याएको क्षतिको विस्तृत विवरण संकलनको काम जारी रहेको विभागले जनाएको छ ।

कुन जिल्लामा कति ढले घर ? 
तथ्यांकअनुसार रसुवामा कुल एक हजार ७७९ घर क्षतिग्रस्त भएका छन् । त्यसको क्षति रकम भने पाँच अर्ब सात करोड ९८ लाख रुपैयाँ छ । रसुवाका गोसाईँकुण्डमा एक हजार ४३, कालिकामा ११२, आमाछोदिङ्मोमा ५७ र उत्तरगयामा ५६७ घर क्षतिग्रस्त भएका छन् । क्षति रकम भने क्रमशः दुई अर्ब ४९ करोड ८६ लाख, १८ करोड ४८ लाख, नौ करोड ४० लाख र दुई अर्ब ३० करोड २३ लाख रुपैयाँ रहेको छ । 

तथ्यांकअनुसार नुवाकोटमा कुल तीन हजार ९७७ घर क्षतिग्रस्त हुँदा नौ अर्ब २२ करोड ६२ लाख रुपैयाँबराबरको क्षति भएको छ । त्यसमा बेलकोटगढीमा २१२, विदुरमा तीन हजार २६, किस्पाङमा ६९६ र तार्केश्वरमा ४३ घर क्षतिग्रस्त भएका छन् । त्यसमा बेलकोटगढीमा ६० करोड, विदुरमा सात अर्ब १७ करोड ५८ लाख, किस्पाङमा एक अर्ब ३० करोड २४ लाख र तार्केश्वरमा १४ करोड ७९ लाखको क्षति भएको छ । 

विभागका अनुसार धादिङमा कुल एक हजार ४५१ घर क्षतिग्रस्त भएका छन् । त्यसको क्षति रकम दुई अर्ब ४० करोड ९५ लाख रुपैयाँ छ । धादिङको बेनीघाट रोराङमा एक हजार ३७, गजुरीमा १०७, गल्छीमा ७९ र सिद्धलेकमा २२८ घर क्षतिग्रस्त भएका छन् । त्यसमा बेनीघाटमा एक अर्ब ७२ करोड ६४ लाख, गजुरीमा १७ करोड ६५ लाख, गल्छीमा १३ करोड तीन लाख र सिद्धलेकमा ३७ करोड ६२ लाख रुपैयाँबराबरको क्षति भएको छ । 

यस्तै, गोरखामा कुल २६३ घर क्षतिग्रस्त हुँदा ४३ करोड ३९ लाख रुपैयाँ नोक्सानी भएको छ । गोरखाको गण्डकीमा २४८ र सहिद लखनमा १५ क्षतिग्रस्त भएका छन् । त्यसमा क्रमशः ४० करोड ९२ लाख र दुई करोड ४७ लाख रुपैयाँ नोक्सानी भएको छ । 

यस्तै, चितवनको इच्छाकामनामा सय घर क्षतिग्रस्त हुँदा १६ करोड ५० लाख रुपैयाँ नोक्सानी भएको छ ।

राष्ट्रिय सडक पूर्वाधारमा ३० अर्बबराबरको क्षति
बाढीले सडक पूर्वाधारतर्फ ३० अर्बबराबरको क्षति भएको छ । बाढीले ८२ किमि लामो गल्छी–स्याफ्रुबेँसी–रसुवा सडकको ४० किमि सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । जुन पुनर्निर्माण नै गर्नुपर्छ । यसबाहेक पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्ड क्षतिग्रस्त एको छ । यसैगरी ३१ पुल बगाएको छ भने थप तीन पुल क्षतिग्रस्त भएका छन् । समग्रमा राष्ट्रिय सडकतर्फ ३० अर्बबराबरको क्षति पुगेको सडक विभागका महानिर्देशक डा. विजय जैसीले बताए । पुनर्निर्माणमा भने ५० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको उनको भनाइ छ । अब आवश्यक अध्ययन गरेर पुनर्निर्माणको प्रक्रिया अघि बढाउने उनको भनाइ छ ।

५३ झोलुंगे पुल क्षतिग्रस्त, स्थानीय पूर्वाधारमा सवा अर्ब क्षति
बाढीले रसुवा तथा नुवाकोटमा ५३ मा झोलुंगे पुल क्षतिग्रस्त भएका छन् । त्यसमा ३३ वटा झोलुंगे पुल बाढीले पूर्ण रूपमा बगाएको छ । २० वटा झोलुंगे पुल भने मर्मत गर्न सकिने देखिएको स्थानीय पूर्वाधार विकास विभागका महानिर्देशक अशोककुमार शाहले बताए । उनका अनुसार स्थानीय पूर्वाधारतर्फ सवा अर्बबराबरको क्षति भएको छ ।

तत्काललाई तुइन तानेर ‘कनेक्टिभिटी’ बनाउन खोजेको उनले बताए । रसुवामा तीन र नुवाकोटमा दुई ठाउँमा तुइन तानेर काम चलाउन सकिने देखिएको छ । त्यसमा विदुरको बेलकोटगढी र इन्द्रचौरमा तुइन तान्ने काम भइसकेको छ । रसुवाका लागि भने तयारी भइरहेको उनले बताए । झोलुंगे पुल मर्मत तथा पुनर्निर्माण र स्थानीय सडक मर्मतका पनि तयारी गरिने उनले बताए । उनका अनुसार ग्रामीण सकड मर्मतमा ४० करोड, झोलुंगे पुल मर्मतमा १५ करोड र झोलुंगे पुल पुनर्निर्माणमा ६० करोड लाग्ने अनुमान गरिएको छ ।

चार जिल्लामा खानेपानी आपूर्ति प्रभावित, ६४ करोडको क्षति
बाढीले रसुवा, नुवाकोट, गोरखा र धादिङमा खानेपानी आपूर्ति पनि प्रभावित भएको भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक कमलराज श्रेष्ठका अनुसार रसुवामा १०, नुवाकोटमा १११, धादिङमा सात र गोरखमा २४ वटा खानेपानीको रिजर्भवायर ट्यांकी क्षतिग्रस्त भएका छन् । यीसहित खानेपानीको विभिन्न संरचनामा ६४ करोडबराबरको क्षति भएको छ । साथै, खानेपानी आपूर्ति पनि प्रभावित भइरहेको छ । यसैगरी ढलसहित सरसफाइका संरचनामा २९ करोड रुपैयाँ नोक्सानी भएको छ ।

त्यसका बाबजुत अहिले नुवाकोटमा पम्पिङबाट दैनिक १० लाख लिटर पानी उपलब्ध गराएको उनले बताए । साथै, काठमाडौंमा चारवटा ट्यांकरमार्फत अस्थायी सेल्टरमा पार्नी आपूर्ति गरेको उनले बताए । साथै, पानीको गुणस्तरलगायत प्रयोजनका लागि ‘वाटर एम्बुलेन्स’ पनि परिचालन गरेको उनको भनाइ छ । ‘अहिले रसुवामा पानी आपूर्ति गर्न चुनौती नै भइरहेको छ । समग्रमा डेढ–दुई महिनामा अस्थायी संरचना बनाएर पानी आपूर्ति सहज गर्नेछौँ । स्याथी संरचना बनाएर काम गर्न दुई वर्षजति समय लाग्नेछ,’ उनले भने ।