मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ भदौ १७ बुधबार
  • Wednesday, 02 September, 2026
नवराज मैनाली काठमाडाैं
२o८३ भदौ १७ बुधबार o६:५७:oo
Read Time : > 4 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

बाढीको एक साता : उद्धारकै आशा 

Read Time : > 4 मिनेट
नवराज मैनाली, काठमाडाैं
नयाँ पत्रिका
२o८३ भदौ १७ बुधबार o६:५७:oo

रसुवाको भोटेकोशी नदीमा गेग्य्रानसहितको भीषण बाढी आएको एक साता हुँदा पनि उद्धार सकिएको छैन । जलविद्युत् आयोजनाका सुरुङ तथा रसुवाका विकट क्षेत्रमा अझै उद्धार प्रयास जारी छ । सरकारी तथ्यांकअनुसार चार हजार ५७१ जना सम्पर्कविहीन छन् ।

उद्धारमा ढिलाइ भएको भन्दै पीडितका आफन्त थप आक्रोशित हुँदै गएका छन् । यद्यपि, सरकारले खोज तथा उद्धार जारी राखेको छ । सीमित स्रोत–साधन र समन्वयको कमजोरीका कारण खोज तथा उद्धार प्रभावकारी हुन सकेको छैन । १० भदौमा बाढी आएको थियो ।

मंगलबार बेलुकासम्म एक हजार ९३ शव फेला परेका छन् । रसुवा र नुवाकोटका बाढी प्रभावित क्षेत्रमा आइतबारदेखि बल्ल सुरक्षाकर्मी पुगेर खोज तथा उद्धार थालेका छन् । सोमबार वेत्रावतीस्थित एउटै घरमा २४ जनाको शव भेटिएको थियो । त्यस्तै, रसुवामा मंगलबार ३५ शव भेटिएका छन् । सोमबार मात्र टिमुरे क्षेत्रमा ६१ शव भेटिएका थिए । रसुवाको टिमुरे क्षेत्रमा बल्ल खोज तथा उद्धार अभियान थालिएको छ । स्याफ्रुबेँसी, मैलुङलगायत क्षेत्रमा अझै खोज तथा उद्धार टिम पुग्न सकेको छैन । 

रसुवा र नुवाकोटका ६ जलविद्युत्का सुरुङ बाढीले पुरिएका छन् । त्यहाँ करिब पाँच सय कर्मचारी फसेको अनुमान छ । ती सुरुङबाट एक साता हुँदा पनि उद्धार हुन नसकेपछि सुरुङमा फसेकाहरूका आफन्त आक्रोशित हुँदै गएका छन् । गृहमन्त्री सुधन गुरुङले भने प्राप्त स्रोत–साधनअनुसार अधिकतम प्रयास भइरहेको बताए । धेरै लेदो भएको र सुरुङ टालिएकाले उद्धारमा कठिनाइ भएको उनको भनाइ छ । जलविद्युत् आयोजनामा कार्यरत करिब नौ सय कर्मचारी अझै सम्पर्कविहीन छन् । सुरुङभित्र रहेकाको अझै सकुशल उद्धारको आशा जीवितै भए पनि ढिलाइ भइरहेको छ ।

त्यस्तै, भोटेकोशीआसपासका कतिपय विकट क्षेत्रमा आफ्नो मान्छे अलपत्र परेको हुन सक्ने भन्दै खोजी गरिदिन आफन्तहरूले अनुरोध गरेका छन् । तर, हेलिकोप्टरमार्फत पटक–पटक रेकी गर्दा केही नभेटिएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री गुरुङले बताए । 

बाढीले बगाएकाहरूको हकमा भने उद्धारभन्दा शवको प्रतीक्षा हुन थालेको छ । बाढीले बगाएकाहरूलाई सकुशल भेट्टाउने सम्भावना क्षीण हुँदै गएपछि कतिपय आफन्तले कुशको प्रतीकात्मक शव बनाएर दाहसंस्कार गर्न थालेका छन् । 

सम्पूर्ण शक्ति लगाएका छौँ, केही कमजोरी भए माफी चाहन्छौँ : गृहमन्त्री सुधन गुरुङ 
गृहमन्त्री सुधन गुरुङले बाढीपछिको खोज, उद्धार, शव व्यवस्थापन र राहत वितरणमा सरकारले आफ्नो सम्पूर्ण शक्ति लगाएको दाबी गरेका छन् । कामको क्रममा केही कमजोरी भएको हुन सक्ने भन्दै उनले माफीसमेत मागेका छन् । 

मंगलबार राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले कल्पना नै नगरेको क्षति हुँदा उद्धारमा केही कठिनाइ भएको बताए । सुरुङमा रहेका व्यक्तिको सकुशल उद्धारमा हरसम्भव प्रयास गरिरहेको उनको दाबी छ । 

‘हाम्रो नयाँ विचारचाहिँ के आइरहेको छ भने पावरहाउसको टुप्पाबाट पनि खनेर त्यहाँबाट प्वाल पारेर हावा र रासन सप्लाई गर्न सक्छौँ कि भनेर प्रयास गरिरहेका छौँ,’ उनले भने । बाढीपछि गृहमन्त्री गुरुङले पहिलोपटक पत्रकारसँग साक्षात्कार गरेका हुन् । 

मन्त्री गुरुङ आफैँ बाढीको भोलिपल्टदेखि फिल्डमा खटिएका थिए । नुवाकोटमा बसेर उनले समन्वय गरेका थिए । उद्धारका लागि विदेशी विज्ञ टोलीलाई कहिल्यै नरोकेको उनको भनाइ छ । दलदल र सुरुङ टालिएका कारण विदेशी विज्ञलाई पनि कठिन भइरहेको उनले बताए । दुर्घटनाको जोखिम हुने भएकाले निजी क्षेत्रलाई हेलिकोप्टर उडाउन नदिइएको उनको स्पष्टीकरण छ । 

सीमित स्रोत–साधनका बाबजुद सुरक्षाकर्मीहरूले अधिकतम प्रयास गरिरहेको मन्त्री गुरुङको दाबी छ । नेपालको इतिहासमा विपत्को उद्धारमा यति धेरै हेलिकोप्टर प्रयोग भएको पहिलोपटक भएको उनी बताउँछन् । ‘राज्यको भएभरको संयन्त्र हामीले प्रयोग गरेका छौँ,’ उनले भने, ‘राहत पनि सबैतिर पठाउने अधिकतम प्रयास गरिरहेका छौँ, राज्यको तर्फबाट कुनै ठाउँमा कमी हुन पुगेको खण्डमा हामीलाई खबर गर्नुहोला, कति ठाउँमा हाम्रो कमजोरी भयो होला, सबै ठाउँमा राज्य संयन्त्र पुग्न सकेन होला, यसमा नेपाल सरकार तपाईंहरूसँग माफी माग्न चाहन्छ ।’ डाँडाकाँडामा अलपत्र रहेको विषयमा हेलिकोप्टरबाट रेकी भइरहेको उनले बताए ।

सुरुङबाट उद्धार गर्न सेनाले बल्ल खोज्यो प्रवर्द्धकको साथ 

भोटेकोशी र त्रिशूली नदी क्षेत्रका जलविद्युत्को सुरुङमा फसेकाको साता बित्दा पनि उद्धार हुन सकेको छैन । सुरुमा सेना मात्रै खटाएको सरकारले दुई दिनदेखि भारतीय र चिनियाँ विज्ञ टोलीलाई पनि अनुमति दिएको थियो । मंगलबार जलविद्युत् परियोजनाका प्रवर्द्धकहरूको पनि साथ खोजेको छ । सरकारले विदेशी उद्धार टोली र स्वदेशी इन्जिनियरलगायतलाई वेलैमा अनुमति नदिनु गल्ती भएको भन्दै आलोचना भइरहेको छ ।

रसुवा र नुवाकोटका विभिन्न जलविद्युत् आयोजनाका सुरुङभित्र पाँच सयभन्दा धेरै मजदुर, कर्मचारीलगायत फसेको आकलन गरिएको छ । अब सेना, विदेशी प्राविधिक टोलीसँगै प्रवर्द्धक कम्पनीले संयुक्त रूपमा उनीहरूको उद्धारको पहल गर्नेछन् । नेपालमा सुरुङ उद्धार नयाँ चुनौती पनि थियो । 

‘सेनाले सुरुदेखि नै यसमा प्राविधिक ज्ञान छैन भन्दै आएको थियो । तर, हामीलाई उद्धारमा सहभागी गराउन मानेको थिएन । तर, मंगलबार अब तपाईंहरूको पनि साथ चाहियो भने,’ एक प्रवर्द्धकले भने, ‘तर, अब यो निकै ढिलो भयो । त्यही पनि हामी थप उद्धार सामग्रीसहित काममा उत्रिँदै छौँ । मंगलबार तयारीमै बित्यो । बुधबारदेखि थप काम अघि बढ्छ ।’

२१६ मेगावाटको माथिल्लो त्रिशूली १ को सुरुङ पुरिएको अवस्थामा छ । ५७३ जना सम्पर्कविहीन रहेको यो परियोजनाको सुरुङमा तीन सयभन्दा धेरै फसेका छन् । मंगलबार हाकुस्थित बाँधबाट प्रवेश गरेको उद्धार टोलीले १६० मिटरभित्र पुग्दा सुरुङ टालिएको अवस्थामा फेला पारेको थियो । यहाँको सुरुङ १० किमि लामो छ । ‘अपर त्रिशूली १ को हाकुमा विदेशीसहितको संयुक्त खोज तथा उद्धार टोली १६० मिटरसम्म पुग्दा टनेल टालिएको अवस्थामा फेला परेको छ,’ सेनाले भनेको छ । 

त्यस्तै, सुरुङमा ३५ सहित ४२ जना सम्पर्कविहीन भएको माथिल्लो त्रिशूली ३ ‘ए’मा इनलेट टनेलमा बनाइएको प्वालबाट भित्र छिर्न असफल भएपछि आउटलेट प्वाल बनाउन लागिएको छ । शनिबारदेखि खोजी थालिएको यहाँ कोही भेटिएका छैनन् । ‘त्रिशूली ३ ‘ए’मा टनेल हेड फेला परेको र तीन एक्स्काभेटरबाट माटो पन्छाएर कम्प्रेसर र रक ब्रेकरद्वारा टनेलमा पारिएको होलमा अत्यधिक पानी आएकाले उक्त स्थानबाट छिर्न असम्भव देखिएकाले टनेलको आउटलेटबाट पुनः होल पार्ने कार्य जारी रहेको छ,’ नेपाली सेनाको सूचनामा भनिएको छ । 

उता २१३ जना सम्पर्कविहीन भएको ३७ मेगावाटको माथिल्लो त्रिशूली ३ ‘बी’मा आयोजनाको कार्यालय तथा निवास पहिचान गरी एक्स्काभेटर पहुँचमार्ग निर्माण जारी रहेको छ,’ सेनाले भनेको छ । यहाँ चिनियाँ सेनाका ३१ विज्ञ टोलीसहितले नेपाली सेनालाई सहयोग गरिरहेको छ । 

त्यस्तै, २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनाको सुरुङ भने पूर्ण रूपमा पुरिएको अवस्थामा भेटिएको छ । यहाँ २५० मिटर लामो सुरुङ छ । ‘चिलिमे हाइड्रोमा विदेशीसहित २६ जनाको संयुक्त खोज तथा उद्धार टोलीले टनेलभित्र प्रवेश गरी करिब १५० मिटरभित्रसम्म पुग्दा भिरालो भाग सुरु भएपश्चात् पूर्ण रूपमा पुरिएको अवस्थामा फेला परेको छ,’ सेनाले भनेको छ । यस परियोजनामा आठजना सुरुङभित्र फसेको अनुमान छ । 

२० मेगावाटको लाङटाङ जलविद्युत् परियोजनाबाट उद्धारमा भारतीयसहितको नेपाली टोली मंगलबार ६५ मिटरसम्म पुगेर थप निगरानीमा राखिएको छ । ४१ जना सम्पर्कविहीन भएको यहाँ सोमबार एउटा शव भेटिएको थियो । बुधबार परियोजनाले सेनासँग मिलर उद्धार अघि बढाउँदै छ ।

त्यस्तै, १११ मेगावाटको रसुवागढी हाइड्रोमा थप उद्धार कार्य भएन । यहाँ पनि सोमबारदेखि सेनाको उद्धार टोलीले प्रयास गरेकामा कसैलाई भेट्न सकेको छैन । ९३ जना सम्पर्कविहीन भएको यहाँ चिनियाँ र नेपाली सेनाको संयुक्त टोलीले अध्ययन गर्दै छ । सोमबारै सेनाको टोली धुन्चे फर्किएको छ भने मंगलबार कुनै काम नै भएन । त्यसैगरी, मैलुङ खोलामा कोरियन विशेषज्ञसहितको टोलीले पाँच मेगावाटको मैलुङ खोलामा हवाई रेकी गरेर काम सुरु गरेको छ । यसमा सातजना सम्पर्कविहीन छन् । 

यसबाहेक १२० मेगावाटको रसुवा भोटेकोशी जलविद्युत्का चार, २४ मेगावाटको त्रिशूली जलविद्युत्का एक, १४.१ मेगावाटको देवीघाट जलविद्युत्का एक र १५.६ मेगावाटको मिडिल त्रिशूलीका दुईजना सम्पर्कविहीन छन् । यस्तै, त्रिशूली ३ ‘बी’ हब सबस्टेसनका १६, चिलिमे त्रिशूली २२० केभी प्रसारणलाइनका दुई र रसुवा वितरण केन्द्रका एकजना सम्पर्कविहीन छन् । उनीहरूको खोजी हुन सकेको छैन । नुवाकोटको त्रिशूली जलविद्युत् आयोजनाबाट तीन, सौर्य आयोजनाबाट चार र देवीघाट आयोजनाबाट चारजनाको उद्धार भइसकेको सेनाले जनाएको छ ।