मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ भदौ १७ बुधबार
  • Wednesday, 02 September, 2026
२o८३ भदौ १७ बुधबार o८:१८:oo
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

प्राकृतिक विपतमा हालसम्मकै ठुलो बिमा दाबी : प्रारम्भमै २५ अर्ब ८७ करोडको  बिमा दाबी, अग्रिम भुक्तानीको तयारी

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८३ भदौ १७ बुधबार o८:१८:oo

गत १० भदौमा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीको प्रारम्भमै निर्जीवन बिमा कम्पनीहरूमा २५ अर्बभन्दा बढीको दाबी परिसकेको छ । सोमबारसम्म १५ बिमा कम्पनीमा पाँच सय ८३ वटा दाबी परेको नेपाल बिमा प्राधिकरणको तथ्यांक छ । प्राधिकरणका अनुसार त्यसको अनुमानित दाबी रकम भने २५ अर्ब ८७ करोड ३५ लाखबरारको हुने देखिएको छ ।

विपत् तथा आकस्मिक रूपमा आउने बिमा दाबीमा यो रकम हालसम्मकै ठुलो हो । यसअघि ०७२ को भूकम्पमा १६ अर्ब ८२ करोडबराबरको बिमा दाबी परेको थियो । त्यस्तै, असोज ०८१ को बाढीमा करिब १३ अर्ब र भदौ ०८२ को जेन–जी आन्दोलनबाट साढे २३ अर्बको रुपैयाँको दाबी परेको प्राधिकरणको तथ्यांक छ । जुन नियमित नभएर प्राकृतिक प्रकोप तथा आकस्मिक घटनाले परेको दाबी थियो । अहिले भोटेकोशीमा आएको बाढीका कारण प्राकृतिक विपत्मा विगतमा परेकोभन्दा ठुलो दाबी परिसकेको र अझै आउने क्रम भने जारी नै रहेको छ । त्योअनुसार यो संख्या र रकम अझै बढ्ने कम्पनीहरूको भनाइ छ ।

बाढीले ठुलो संख्यामा मानवीयसँगै भौतिक क्षति पनि भएको छ । मानवीयतर्फ जीवन बिमामा हालसम्म दाबी आइसकेको छैन । तर, निर्जीवन बिमा कम्पनीमा प्रारम्भमै ठुलो दाबी पेस भइसकेको छ । बाढीबाट भोटेकोशी र त्रिशूली नदीआसपासमा रहेका जलविद्युत् आयोजना, घर, होटेल, व्यापार तथा व्यवसाय प्रभावित भएका छन् । त्यस्तै, सयौँ संख्यामा सवारीसाधन पनि बगेका छन् । बाढीबाट प्रभावित भएका बिमा गरेकाले दाबी पेस गर्न सुरु गरिसकेको नेपाल बिमक संघका पूर्वअध्यक्ष चंकी क्षेत्रीले बताए । आवश्यक प्रक्रिया पूरा गरेर तत्काल निश्चित हिस्सामा अग्रिम भुक्तानी गरिने उनको भनाइ छ । साथै, बिमा दाबीयोग्य क्षति मूल्यांकनपछि अन्तिम भुक्तानी दिइने उनले बताए ।

प्राधिकरणका निर्देशक साम्भराज लामिछानेले रसुवा बाढीबाट आउने दाबीलाई प्राथमिकता दिएर सहजीकरण गरिने बताए । ‘यसअघि जेन–जी आन्दोलनबाट आएको दाबीमा पनि हामीले सहजीकरण गरेका थियौँ । त्यसवेला सरकारकै निर्देशनअनुसार ५० प्रतिशत अग्रिम भुक्तानी दिन निर्देशन जारी गरेका थियौँ,’ उनले भने, ‘यसपालि पनि सोहीअनुसार दाबी प्रक्रिया अघि बढाउने तयारी छ । हामी छलफलमै छौँ ।’

ओरियन्टलमा मात्रै १३ अर्बको दाबी
भदौ १५ गतेसम्म बाढीबाट १५ वटा निर्जीवन बिमा कम्पनीमा दाबी परेको प्राधिकरणको तथ्यांक छ । त्यसमध्ये दी ओरियन्टल इन्स्योरेन्समा सबैभन्दा धेरै १३ अर्ब चार करोड २१ लाख रुपैयाँबराबरका आठवटा दाबी परेका छन् ।

युनाइटेड अजोड इन्स्योरेन्समा चार अर्ब ९७ करोड ४८ लाख रुपैयाँबराबरका ३८ वटा, सानिमा जिआइसीमा दुई अर्ब १० करोड २८ लाख रुपैयाँबराबरका एक सय दुईवटा र सिद्धार्थ प्रिमियरमा एक अर्ब ८८ करोड ७३ लाख रुपैयाँबराबरका ६७ वटा दाबी परेका छन् । तथ्यांकअनुसार शिखर इन्स्योरेन्समा एक अर्ब ८७ करोड ५४ लाख रुपैयाँबराबरका एक सय २७ वटा, हिमालयन एभरेस्टमा ६४ करोड ७८ लाख रुपैयाँबराबरका ४५ वटा, नेको इन्स्योरेन्समा ५१ करोड ७० लाख रुपैयाँबराबरका ६६ वटा र सगरमाथा लुम्बिनीमा २४ करोड २३ लाख रुपैयाँबराबरका ३२ वटा दाबी परेका छन् । नेपाल इन्स्योरेन्समा २३ करोड ८६ लाख रुपैयाँबराबरका ३२ वटा र आइजिआई प्रुडेन्सियलमा १८ करोड ७३ लाख रुपैयाँबराबरका २६ वटा दाबी परेका छन् ।

त्यस्तै, एनएलजी इन्स्योरेन्समा ११ करोड ३१ लाख रुपैयाँबराबरका २१ वटा, प्रभु इन्स्योरेन्समा तीन करोड १२ लाख रुपैयाँबराबरका १४ वटा, राष्ट्रिय बिमा कम्पनीमा ७६ लाख रुपैयाँबराबरका दुईवटा, नेसनल इन्स्योरेन्समा ५३ लाख रुपैयाँबराबरका दुईवटा र नेपाल माइक्रो इन्स्योरेन्समा पाँच लाख रुपैयाँबराबरको एउटा दाबी परेको प्राधिकरणको तथ्यांक छ ।

पूर्वाधारतर्फ मात्रै साढे २० अर्बको दाबी 
तथ्यांकअनुसार बाढीबाट पूर्वाधारतर्फ मात्रै २० अर्ब ५० करोड ७७ लाख रुपैयाँको दाबी परेको छ । ५२ वटा संख्यामा सोबराबरको दाबी परेको छ । बाढी प्रभावित क्षेत्रमा ठुलो संख्यामा जलविद्युत् आयोजना छन् । सडक तथा पुल निर्माणका काम पनि भइरहेका थिए । त्यसले गर्दा पूर्वाधार अर्थात् इन्जिनियरिङ तथा ठेक्का जोखिम बिमामा सबैभन्दा ठुलो दाबी परेको छ । यस्तै, सम्पत्ति बिमामा दुई अर्ब ३४ करोड ६२ लाख रुपैयाँबराबरका एक सय १३ वटा, मोटर बिमामा एक अर्ब ५५ करोड नौ लाख रुपैयाँबराबरका तीन सय १३ वटा र परिवहन बिमामा ८९ करोड ७७ लाख रुपैयाँबराबरका ४७ वटा दाबी परेका छन् । स्वास्थ्य बिमामा चार करोड १६ लाख रुपैयाँबराबरका चारवटा तथा अन्य बिमा शीर्षकमा ५२ करोड ९२ लाख रुपैयाँबराबरका ५४ वटा दाबी परेको प्राधिकरणको तथ्यांक छ ।

दाबी अझै बढ्ने
बाढीबाट भएको क्षतिको दाबी आउने क्रम अझै जारी रहेकाले यो रकम बढ्ने बिमा कम्पनीहरूको अनुमान छ । बाढी प्रभावित क्षेत्रमा अहिले पनि उद्धार, राहत तथा शोकको अवस्था रहेकाले धेरै प्रभावितले तत्काल बिमा कम्पनीमा दाबी पेस गर्न नसकेको कम्पनीहरूको भनाइ छ । त्यसैले आगामी दिनमा थप दाबी पर्ने र कुल दाबी रकम अझै बढ्ने देखिएको छ ।

बिमा प्राधिकरणका निर्देशक साम्भराज लामिछाने भन्छन्–
रसुवा बाढीबाट आउने दाबीलाई प्राथमिकता दिएर सहजीकरण गरिरहेका छौँ ।

यसअघि जेन–जी आन्दोलनबाट आएको दाबीमा पनि हामीले सहजीकरण गरेका थियौँ ।

त्यसवेला सरकारकै निर्देशनअनुसार ५० प्रतिशत अग्रिम भुक्तानी दिन निर्देशन जारी गरेका थियौँ ।

यसपालि पनि सोहीअनुसार दाबी प्रक्रिया अघि बढाउने तयारी छ । हामी छलफलमै छौँ ।

नेपाल बिमक संघका पूर्वअध्यक्ष चंकी क्षेत्री भन्छन्– 
बाढीबाट भोटेकोशी र त्रिशूली नदीआसपासमा रहेका जलविद्युत् आयोजना, घर, होटेल, व्यापार तथा व्यवसाय प्रभावित भएका छन् ।

त्यस्तै, सयौँ संख्यामा सवारीसाधन पनि बगेका छन् । प्रभावितले बिमा दाबी पेस गर्न सुरु गरिसकेका छन् ।

आवश्यक प्रक्रिया पूरा गरेर तत्काल निश्चित हिस्सामा अग्रिम भुक्तानी गरिनेछ ।

साथै, बिमा दाबीयोग्य क्षति मूल्यांकनपछि अन्तिम भुक्तानी दिइनेछ ।