मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ भदौ १७ बुधबार
  • Wednesday, 02 September, 2026
शिवहरि घिमिरे काठमाडाैं
२o८३ भदौ १७ बुधबार o६:१२:oo
Read Time : > 4 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

अतिप्रभावित नुवाकोट र रसुवाका होल्डिङ सेन्टरमा पुगेन राहत

चार जिल्लामा ३२ होल्डिङ सेन्टरमा छन् बाढीपीडित, तर राहत सामग्री केन्द्र सरकारकै नियन्त्रणमा हुँदा वितरण प्रभावकारी हुन नसकेको गुनासो

Read Time : > 4 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८३ भदौ १७ बुधबार o६:१२:oo

नुवाकोटको बेलकोटगढी नगरपालिका– ८ स्थित जनसेवा आधारभूत विद्यालय होल्डिङ सेन्टरमा ४८ बाढीपीडित छन् । एक हुन् गणेश कार्की । बाढीपीडित कार्कीले जायजेथा सबै बगाएर आफूहरूको बिचल्ली हुँदा केन्द्र सरकार अहिलेसम्म नआएको गुनासो गरे । केन्द्र सरकारले नै एकद्वार प्रणालीअन्तर्गत राहत संकलन गरेर वितरण गर्ने नीति छ । 

‘यहाँ पुग्दो मात्रामा खानेकुरा र अन्य आवश्यकताका सामान छैनन्, अझ महिला, सुत्केरी र बालबालिकालाई चाहिने सामान छैनन्,’ उनले भने, ‘हिजो–अस्ति माथि–माथिबाट हेलिकोप्टर उडेको देखिएको थियो, तर राहत आएको छैन ।’

वडाध्यक्ष सुरेशलाल चित्रकारले केन्द्र सरकारले के, कसो छ भनेर बुझ्ने कामसम्म नगरेको बताउँदै स्थानीय संघसंस्थाले दिएको राहतको भरमा चलिरहेको बताए । ‘काठमाडौंबाट सडक सञ्जालको सम्पर्क टुटेकाले केन्द्र सरकार आइपुग्न घुमाउरो बाटो रोज्नुपर्छ । स्थानीय संघसंस्थाले दिएको राहतले पुर्‍याइरहेका छौँ,’ उनले भने, ‘केन्द्र सरकारले हामीसँग समन्वय गर्ने तथा राहतको आवश्यकता के छ भनेर बुझ्ने काम गरेको छैन ।’

बेलकोटगढी– ७ को शीलादेवी माविमा ६० बाढीपीडित बसिरहेका छन् । तर, यहाँ पनि केन्द्र सरकारको कुनै उपस्थिति छैन । नगरपालिका, वडा कार्यालय र स्थानीय संघसंस्थाको सहयोगमा राहत सामग्री संकलन गरेर खाने, बस्ने व्यवस्था गरिएको वडाध्यक्ष भुवनेश्वर नेपालले बताए । 

नुवाकोटकै विदुर नगरपालिका– ३ को रणभुवनेश्वरी माविमा एक सय बाढीपीडितलाई राखिएको छ भने वडा कार्यालयमा ३५० परिवारले आश्रय लिइरहेका छन् । तर, यहाँ केन्द्र सरकारका कुनै पनि संयन्त्रबाट राहत पुगेको छैन । रणभुवनेश्वरी मावि होल्डिङ सेन्टरमा बसेकाहरूलाई भारत पन्जाबको एक टोली आएर चार दिनदेखि खानपानको व्यवस्था गरिरहेको छ । वडा कार्यालयमा राखिएकाहरूलाई वडाले नै खाने–बस्ने व्यवस्था गरेको छ । यहाँ  केन्द्र सरकारबाट चार दिनअघि तीन–चार बोरा चामलबाहेक कुनै राहत नआएको वडाध्यक्ष बद्रीप्रसाद रिमालले बताए ।

‘केन्द्र सरकार कहाँ छ हामीलाई थाहा छैन, बाटो नभएर पनि होला, यहाँ चार दिनअघि हेलिकोप्टरबाट ३–४ बोरा चामल खसालेको थियो, त्यसयता केही आएको छैन,’ उनले भने, ‘वडाले गरेको व्यवस्थापनमा बरू अन्य समाजसेवी संस्थाहरूले सहयोग गरिरहेका छन् । भनौँ भने केन्द्र सरकारको विरोध गरेको भन्लान्, तर यहाँ कुनै राहत आएको छैन ।’

उक्त वडा कार्यालय सदरमुकाम विदुरबाट ६–८ घण्टाको पैदल दूरीमा छ । बिजुली नभएर अन्धकार भएको गाउँमा कुटानीपिसानी गर्न नसकिएको वडाध्यक्ष रिमालले बताए । 

विदुर नगरपालिका– ७ मा लाइब्रेरी तथा स्वास्थ्य चौकी भवनको होल्डिङ सेन्टरमा २५० बाडीपीडित बसिरहेका छन् । यहाँ पनि केन्द्र सरकारको उपस्थिति खासै देखिएको छैन । वडा कार्यालय र अन्य सामाजिक संघसंस्थाले खाने र बस्ने व्यवस्था गरेका छन् । यहाँ बसेका पीडितहरू विदुर– १ का हुन् । विदुर– १ का वडाध्यक्ष लेलिन रञ्जितले बाढीपीडितलाई प्रशस्त खानेकुरासहितका राहत उपलब्ध हुन नसकेको बताए । ‘होल्डिङ सेन्टरमा राखिएका २५० बाढीपीडितलाई खाने र बस्ने व्यवस्था गरेका छौँ, केन्द्र सरकारबाट आवश्यक राहत आइपुगेको छैन,’ उनले भने । 

विदुर– ५ स्थित आयुर्वेद वैकल्पिक चिकित्सा भवनमा १०३ बाढीपीडितलाई राखिएको छ । यहाँ पनि केन्द्र सरकारबाट राहत पुगेको छैन । वडा र नगरपालिकाबाट राहत सामग्री संकलन गरेर वितरण गरिएको छ । वडाध्यक्ष लीलानाथ न्यौपानेले स्थानीय संघसंस्था र स्थानीय सरकारी निकायहरूबाट राहतको जोहो गरिएको बताए । ‘हामीले उहाँहरूलाई सकेसम्म व्यवस्थित रूपमा खाने र बस्ने व्यवस्था गरेका छौँ, केन्द्र सरकारबाट भन्दा पनि हामीले नै राहत र खानपिनको व्यवस्था गरेका छौँ,’ उनले भने, ‘यति ठुलो समूहलाई खानपान र बस्ने व्यवस्थाका लागि सामानहरू धेरै नै चाहिन्छ ।’ 

नुवाकोटभन्दा रसुवाका बाढीपीडितको हालत झन् खराब छ । रसुवाको शिवालय आधारभूत विद्यालय र हिमालय क्याम्पसमा १८३ जनालाई राखिएकामा काठमाडौंबाट राहत नपुगेको मात्रै होइन, नुन र सिटामोल नै सकिन लागेको गुनासो छ । प्रभावित वडा कार्यालयहरूले नै राहत सामग्रीको अभाव रहेको बताए । उत्तरगया गाउँपालिकाका प्रवक्ता टुकुप्रसाद सुवेदीले नुन र सिटामोलसमेत सकिने अवस्था भएको बताए । ‘केन्द्र सरकार हामीभन्दा धेरै टाढा छ, यहाँका मानिसहरू अत्यन्तै पीडामा छन्, राहत सामग्री पर्याप्त छैन, नुन र अन्य अत्यावश्यक खानेकुरासमेत सकिने अवस्था छ,’ उनले भने, ‘सेनासँग मागेका छौँ, हेरौँ ।’

नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले भने राहत थुप्रिए पनि पालिकाहरूले लैजान नमानेको दाबी गरे । ‘सेनाको गण र समन्वय समितिमा राहत सामग्री थुप्रिएको छ, तर पालिकाहरूले लैजान मानेका छैनन्,’ उनले भने, ‘कतिपयले ढुवानी गर्न कठिन भएर पनि होला । हामीले विभेद गरेका छैनौँ ।’ 

काठमाडौं र धादिङका होल्डिङ सेन्टरमा भने राहत फालाफाल भएको रिपोर्ट छ । काठमाडौंको नागार्जुन नगरपालिकाका २ र १५ नम्बर वडाका श्री एल्लो गुम्बा र एल्लो प्यागोडा भवनमा दुई होल्डिङ सेन्टरमा भने राहत सामग्री अभाव छैन । यहाँ २९६ प्रभावितलाई राखिएको छ । यहाँ जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट प्रशस्त खानेकुरा र अन्य आवश्यक सामग्री पुगेको छ । राहत सामग्री धेरै भएपछि गुम्बामा स्टोरसमेत गरेर राखिएको छ । यहाँको होल्डिङ सेन्टरमा सञ्चारकर्मीलाई समेत निधेष गरिएको छ भने गेटमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । ‘होल्डिङ सेन्टरमा खान र बस्नको सहज व्यवस्था छ । धेरै संघसंस्थाहरूले पनि खाने र लाउने वस्तुहरू वितरण गर्नुभएको छ,’ नगरपालिकाकी कार्यवाहक मेयर सुशीला अधिकारीले भनिन्, ‘लामो समयसम्म राख्नुपर्ने प्रभावितलाई केन्द्र सरकारले कसरी व्यवस्थापन गर्ने भन्ने चुनौतीको पाटो हो ।’ 

हाल बाढी प्रभावितहरूलाई रसुवा, नुवाकोट, धादिङ र काठमाडौंका ३२ स्थानमा होल्डिङ सेन्टरमा राखिएको छ । नेपाल प्रहरीका अनुसार धादिङका ९ स्थानमा राखिएका होल्डिङ सेन्टरमा ४८ जना मात्रै छन् । यस क्षेत्रमा अधिकांश पीडितहरू आफन्तकहाँ बस्न थालेका छन् । नमुना वागीश्वरी मावि गल्छी, आदर्श मावि गजुरी, सरस्वती आधारभूत विद्यालय गजुरी, छोयली गुम्बा गजुरी, केदारेश्वर साधना केन्द्र गजुरी, वागीश्वरी मावि बेनीघाट रोराङ, चन्द्रोदय मावि बेनीघाट रोराङ, शंखदेव मावि बेनीघाट र नमुना मावि बेनीघाटमा बाढीपीडितलाई राखिएको छ । 

त्यस्तै, नुवाकोटमा २० होल्डिङ सेन्टरमा ३ हजार १३१ जना राखिएको छ । जसमध्ये विदुरमा पुस्तकालय तथा स्वास्थ्य चौकीमा २५०, सेफ हाउस क्रियापुत्री भवनमा १५८, स्वास्थ्य चौकी विदुरमा ९८, कबर्ड हलमा १४८, आयुर्वेद वैकल्पिक चिकित्सा भवनमा १०३, चन्द्रज्योति माविमा १५९, सुन्दरी क्युरिनी माविमा ९३, कोलनी कभर्ड हल र भैरुम माविमा ५०० जना राखिएको छ । त्यस्तै, इन्द्रायणी आधारभूत विद्यालयमा ६७, रणभूमेश्वरी माविमा ७५, महादेव माविमा २७२, त्रिशूली आधारभूत विद्यालयमा १००, सुलक्षणा माविमा १२०, तामाङ प्लाजामा १०९, किस्पाङस्थित कार्की मनकामना आधारभूत विद्यालयमा ८०, त्रिभुवन माविमा २००, बेलकोटगढीस्थित महादेव क्याम्पसमा २६, शीलादेवी माविमा ६० र जनसेवा आधारभूत विद्यालयमा ४८ जनालाई राखिएको छ । 

नुवाकोट बेलकोटगढी नगरपालिका उपप्रमुख शिवप्रसाद दाहालले हाल खानबस्नका लागि पालिकाले समन्वय गरिरहेको बताउँदै उनीहरूको दिगो व्यवस्थापन चुनौतीपूर्ण रहेको बताए । ‘हाललाई यस आसपासका संघसंस्थाबाट सहयोग आइरहेको छ, हामी सबै मिलेर व्यवस्थापन गरिरहेका छौँ,’ उनले भने, ‘काठमाडौंमा धेरै राहत उठेको छ, उक्त राहत व्यवस्थित तरिकाले वितरण गर्ने र व्यवस्थित रूपमा उनीहरूलाई दिगो समाधान गर्न सकियो भने सबैभन्दा राम्रो हुन्छ ।’ 

फेसबुकबाट प्रधानमन्त्रीको ‘झुटो’ प्रचार 
बाढीबाट अति प्रभावित नुवाकोट र रसुवाका होल्डिङ सेन्टरमा केन्द्र सरकारबाट राहत सामग्री नपुगेको गुनासो छ । तर, प्रधानमन्त्री बालेन्द्र शाहले भने मंगलबार साँझ सामाजिक सञ्जाल फेसबुकबाट झुटो प्रचार गर्दै नुवाकोटका सबै स्थानमा व्यवस्थित रूपमा राहत वितरण भएको दाबी गरे । 

‘बाढी प्रभावितहरूलाई व्यवस्थित रूपमा राहत वितरण कार्य जारी छ,’ उनले फेसबुकमा लेखेका छन्, ‘नुवाकोटका १९ अस्थायी आश्रयस्थलमा २ हजार ६५३ जनाले आश्रय तथा राहत प्राप्त गर्नुभएको छ, रसुवाका प्रभावितहरूलाई पनि नुवाकोटमा आश्रय तथा राहत उपलब्ध गराइएको छ ।’ तर, प्रभावित स्थानीय नागरिक र स्थानीय सरकारका प्रमुखहरूले केन्द्रबाट राहत प्राप्त नभएको बताएका छन् ।