मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ भदौ १७ बुधबार
  • Wednesday, 02 September, 2026
नयाँ पत्रिका काठमाडाैं
२o८३ भदौ १७ बुधबार o५:५o:oo
Read Time : > 1 मिनेट
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग : सबैभन्दा मूल्यवान् हिरा र मोती

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८३ भदौ १७ बुधबार o५:५o:oo

एक साधु हरेक दिन मृगस्थलीको एउटा रुखको फेदमा बस्थे र कराइरहन्थे– जे चाहन्छौ, त्यही पाउँछौ । जे चाहन्छौ, त्यही पाउँछौ । उनका कुरामा मानिस खासै ध्यान दिँदैनथे । अधिकांशले त उनलाई मानसिक सन्तुलन गुमाएका मानिस ठान्थे ।

एक दिन एक युवक तिनै साधुको नजिक हुँदै कतै जाँदै थिए । साधुको ‘जे चाहन्छौ, त्यही पाउँछौ’ भन्ने आवाजले उनी टक्क रोकिए र साधुको नजिकै गए । उनले सोधे– साधु महाराज, के म जे चाहन्छु, त्यही पाउँछु त ? साधुले आत्मविश्वाससाथ भने– अवश्य बालक, तिमीले मेरो कुरा मान्यौ भने जे चाहन्छौ, म तिमीलाई त्यही दिन्छु । तर, तिमी के चाहन्छौ, पहिले त्यो त बताऊ ।

युवकले भने– साधु महाराज, म हिराको एक ठुलो व्यापारी बन्न चाहन्छु । साधुले भने– केही छैन बालक, म तिमीलाई एउटा हिरा र एउटा मोती दिन्छु, त्यसबाट तिमी जति चाहन्छौ, त्यति नै हिरा र मोती बनाउन सक्नेछौ । साधुले आफ्नो हात युवकको हातमा राख्दै भने– बालक, म तिमीलाई संसारकै अनमोल हिरा दिँदै छु । यसलाई मानिसहरू ‘समय’ भन्ने गर्छन् । यसलाई शीघ्र आफ्नो मुट्ठीमा कस र यसलाई कहिल्यै गुम्न नदेऊ । यसबाट तिमी जति चाहन्छौ, त्यति नै हिरा बनाउन सक्छौ ।

युवक केही सोच्दै थिए, साधुले आफ्नो अर्को हात युवकको अर्को हातमा राख्दै भने– बालक, यसलाई समात । यो संसारको सबैभन्दा महँगो मोती हो । मानिसहरू यसलाई ‘धैर्य’ भन्ने गर्छन् । जब जतिसुकै समय दिँदा पनि परिणाम प्राप्त भएन भने यस मोतीलाई धारण गर्नू । याद राख, जसको साथमा यो मोती हुन्छ, उसले दुनियाँमा जे पनि प्राप्त गर्न सक्छ ।

साधुको कुरा सुनेर युवकले मनमनै अठोट गरे– आजदेखि म आफ्नो समय विनाकारण बर्बाद गर्दिनँ । जहिल्यै धैर्यपूर्वक काम गर्नेछु । यही अठोटसाथ उनले हिराका एक ठुला व्यापारीकहाँ काम गर्न सुरु गरे । मिहिनेत र इमानदारीको बलमा उनी एक दिन हिराका ठुला व्यापारी बन्न सफल भए ।