भोटेकोशीमा आएको विनाशकारी बाढीको एक साता पुग्नै लाग्दा बाढीपीडितका लागि विदेशबाट धमाधम राहत सामग्री आउन थालेको छ । छिमेकी चीनले मंगलबार दोस्रो खेप राहत सामग्री पठाएको छ भने भारतको सिक्किमबाट पनि राहत सामग्री आइपुगेको छ । अस्ट्रेलिया, पाकिस्तानलगायतका देशले समेत राहत पठाउने तयारी गरेका छन् । जापानले भने छिट्टै राहत सामग्री पठाउने प्रतिबद्धता जनाएको छ ।
चिनियाँ जनमुक्ति सेनाको जहाजमार्फत चीन सहयोगअन्तर्गतको ‘आपत्कालीन राहत सामग्री’को दोस्रो खेप नेपाल आइपुगेको चिनियाँ दूतावासले जनाएको छ । चिनियाँ राहत सामग्री नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई हस्तान्तरण गरेका छन् ।
नेपालले मृत शरीरको व्यवस्थापन तथा संरक्षणका लागि आवश्यक विशेष उपकरणसमेत प्राप्त गरेको छ । नेपालको आवश्यकता र अनुरोधका आधारमा ती सामग्री उपलब्ध गराइएको चिनियाँ दूतावासले जनाएको छ । राहत सामग्रीमा ड्रोन, डिएनए परीक्षण उपकरण तथा रिएजेन्ट, पानी शुद्धीकरण उपकरण र प्रकाश (लाइटिङ) उपकरणलगायत तत्काल आवश्यक सामग्री समावेश छन् ।
डिएनए विश्लेषणमा विशेषज्ञता हासिल गरेको भारतको १९ सदस्यीय फरेन्सिक टोलीले १२ भदौदेखि नेपालमा सम्बन्धित नेपाली अधिकारीहरूसँग मिलेर काम गरिरहेको छ । चीनबाट चारजनाको फरेन्सिक टोली मंगलबार साँझ आइपुगेको छ । उनीहरू बुधबारदेखि विपत्ग्रस्त क्षेत्रमा खटिनेछन् ।
चीनले प्रभावित क्षेत्रको मुख्य जलवैज्ञानिक तथा मौसमसम्बन्धी तथ्यांक दैनिक रूपमा नेपालको जल तथा मौसम विज्ञान विभागलाई निरन्तर उपलब्ध गराउँदै आएको पनि जनाएको छ । अन्य नेपाली निकायहरूसँग पनि समयमै जलवैज्ञानिक जानकारी उपलब्ध गराइरहेको पनि दूतावासले जनाएको छ ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार नेपाली सेनासँगको समन्वयमा बाढी प्रभावित जलविद्युत् आयोजना स्थलमा भारतका दुई र चीनको एउटा सुरुङ उद्धार विशेषज्ञ टोलीले काम गरिरहेका छन् । भारतका १२–१२ जनाका दुई टोली छन् भने चीनको नौ सदस्यीय टोली कार्यरत छ । दक्षिण कोरियाली टोली पनि नुवाकोटमा सक्रिय छ । भारतीय सुरुङ उद्धार टोलीले चिलिमे र लाङटाङ जलविद्युत् आयोजना स्थलमा तथा चिनियाँ टोलीले माथिल्लो त्रिशूली ३ ए आयोजना स्थलमा काम गरिरहेको छ ।
सिंगापुरबाट विपत्पीडित पहिचान टोली परिचालनका लागि समन्वय भइरहेको सरकारले जनाएको छ । नेपालले अन्तर्राष्ट्रिय समुदायसँग तत्कालका लागि लिडार, बेलिब्रिज, फ्रिजर, डिएनए परीक्षण किट, लोड क्यारियर, शव राख्ने झोला, उच्च क्षमताका ड्रोन, जिन सिक्वेन्सर र अन्य सामग्रीको आपूर्तिका लागि अनुरोध गरेको छ ।
चीनले नेपाललाई चरणबद्ध रूपमा बेलिब्रिज दिने वचनबद्धता जनाएको छ । तिब्बत स्वशासित क्षेत्रबाट चीनले नेपाललाई बेलिब्रिज पठाउनेछ । ‘हामीले ३० वटा बेलिब्रिज चीनसँग मागेका छौँ, उसले यतिउति दिन्छौँ भनेको छैन, तर नेपालको आवश्यकताअनुसार क्षमताले भ्याएसम्म चरणबद्ध रूपमा बेलिब्रज उपलब्ध गराउने वचन दिएको छ । प्राविधिक टोलीसहित बेलिब्रिजको पहिलो खेप चाँडै नै आउनेछ,’ परराष्ट्रका एक अधिकारीले नयाँ पत्रिकासँग भने । चीनले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३० करोड रुपैयाँ सहयोग गरिसकेको छ ।
भारत सरकारले हालसम्म ६८.५ टन राहत तथा उद्धार सामग्री उपलब्ध गराइसकेको छ । भारतले २२ फिटको रेफ्रिजेरेटेड कन्टेनर ट्रक अस्थायी रूपमा उपलब्ध गराउने तयारी गरेको छ । अर्को दक्षिण एसियाली मुलुक पाकिस्तानले नेपाललाई ८६ टन राहत सामग्री उपलब्ध गराउँदै छ । श्रीलंकाले १० लाख अमेरिकी डलरबराबरको सहयोगको प्रतिबद्धता जनाएको छ । बंगलादेशले पनि राहत सामग्री पठाउने तयारी गरेको छ ।
नेपाललाई अमेरिकाबाट पाँच लाख अमेरिकी डलर र अस्ट्रेलियाबाट एक मिलियन अमेरिकी डलर (नगद सहयोग)को प्रतिबद्धता आएको छ । युएईले ८३ टन अत्यावश्यक राहत सामग्री उपलब्ध गराइसकेको छ भने १० मिलियन डलरसम्मको सहयोगको प्रतिबद्धता जनाएको छ ।
कतारले पनि राहत सामग्री उपलब्ध गराएको छ । स्विट्जरल्यान्डबाट एक मिलियन स्विस (संयुक्त राष्ट्र संघबाट खर्च हुने गरी) प्राप्त भएको छ । एसियाली विकास बैंक (एडिबी)बाट बजेटरी सहयोग (अनुदान)का लागि पाँच मिलियन अमेरिकी डलर, विश्व बैंकबाट १६७ मिलियन अमेरिकी डलरको सहुलियतपूर्ण कर्जा, एसियाली विकास बैंकबाट प्राविधिक सहायताका लागि एक लाख ५० हजार अमेरिकी डलर उपलब्ध गराउने प्रतिबद्धता आएको छ । इयू र संयुक्त राष्ट्र संघका निकायहरूबाट पनि सहयोग प्राप्त भइरहेको सरकारले जनाएको छ ।