कृष्णभिरको पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएपछि नेपाल ग्यासका सिलिन्डर चितवन र धुनषाका उद्योगमा लगेर भर्न थालिएको छ। दुवै स्थानमा नेपाल ग्यासको शाखा उद्योग रहेका कारण काठमाडौंबाट खाली सिलिन्डर लगेर ग्यास भर्न थालिएको सञ्चालक गोकुल भण्डारीले जानकारी दिए।
‘कृष्णभिरमा आएको पहिरोका कारण ग्यास बुलेटहरू काठमाडौं आउन सक्ने स्थिति छैन। त्यसैले, चितवन र धनुषामा रहेका हाम्रा आफ्नै उद्योगमा काठमाडौंका लागि नेपाल ग्यासको सिलिन्डरमा ग्यास भर्न थालिएको छ,’ उनले भने, ‘त्यहाँ ग्यास भरेपछि त्रिभुवन राजपथ, कान्ति लोकपथ र हेटौँडा–कुलेखानी हुँदै काठमाडौं आउने बाटोमध्ये जुन उपयुक्त हुन्छ, सोही बाटोबाट ट्रकमा ग्यास हालेर ल्याउनेछौँ।’
यी बाटो तुलनात्मक रूपमा साँघुरो भएकाले १८ टन ग्यास बोकेको बुलेट आउन सक्दैनन्। त्यसैले, तराईमा रहेको उद्योगसम्म खाली सिलिन्डर लैजाने र त्यहाँ ग्यास भरेर काठमाडौं ल्याउने विकल्प प्रयोग गर्न थालिएको भण्डारीले जानकारी दिए।
एउटा बुलेटमा रहेको ग्यासबाट करिब साढे १२ सय सिलिन्डर भर्न पुग्छ। तर, ट्रकबाट भने एकपटकमा बढीमा ५ सय सिलिन्डर मात्रै काठमाडौं आउनेछन्। त्यसैले, सकेसम्म ठुलो क्षमताका धेरै ट्रकबाट काठमाडौंमा ग्यास ओसार्ने योजना बनाएको उनले जानकारी दिए।
नेपाल ग्यासका उद्योगमा अन्य ब्रान्डका सिलिन्डरसमेत रिफिल गर्ने व्यवस्था मिलाइएको छ। खासगरी, धादिङमा प्लान्ट रहेका उद्योगसम्म बुलेट आउन नसकेपछि तराईका उद्योगीसँग समन्वय गरेर ग्यास भर्ने व्यवस्था मिलाउन आयल निगमले निर्देशन दिएपछि नेपाल ग्यास उद्योगले फरक ब्रान्डका सिलिन्डरमा पनि रिफिल गरिदिन थालेको हो।
त्यसैगरी, एभरेस्ट र सुगम ग्यासले पनि हेटौँडामा रहेको साहारा ग्यास उद्योगमा सिलिन्डर रिफिल गर्न थालेको छ। तीटवटै उद्योगको सञ्चालक शिवप्रसाद घिमिरे हुन्। उनले आइतबार राति नै काठमाडौंबाट सुगम र एभरेस्टका खाली सिलिन्डर हेटौँडा लगेर सोमबार बिहानैबाट ग्यास भर्ने काम गरेको जानकारी दिए।
‘एभरेस्ट र सुगम ग्यासमा कार्यरत सबै कर्मचारी अहिले हेटौँडामै छन्। उद्योग तीन सिफ्टमा गरेर २४सै घण्टा चलाइएको छ,’ उनले भने, ‘हेटौँडामा ग्यास भरेर काठमाडौंको बजारमा ढुवानी कार्यलाई प्राथमिकता दिइएको छ।’
अन्य उद्योगीले पनि तराईका विभिन्न उद्योगीसँगको समन्वयमा ग्यास भरेर काठमाडौंमा ट्रकमार्फत सिलिन्डर ढुवानी गरिरहेका छन्।