बाढीका कारण पुलहरूमा भएको क्षतिका कारण प्रभावित नुवाकोटको त्रिशूली नदीपारिको भूभाग यातायात सञ्जालमा जोडिएको छ।
गल्छी–त्रिशूली राजमार्गअन्तर्गत त्रिशूली पुलपारिबाट त्रिशूली नदीको दायाँ किनार हुँदै कल्लेरीटार–कोशीखोला–तारुकाघाट-दर्शनटार–छत्रेखोला–मूलथला–गौरीबेँसी हुँदै त्रिशूली बजारसम्म सडक सञ्चालनमा आएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ।
सडक सुचारु भएसँगै त्रिशूली नदीपारिका नागरिकलाई सदरमुकामसँग पुनः सडक पहुँच स्थापित भएको छ। साथै, प्रभावित क्षेत्रमा उद्धार, राहत तथा अत्यावश्यक सामग्रीको आवतजावतमा समेत सहजता हुनेछ।