नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको दुईदिने ‘बिजनेस एक्सिलेन्स कन्फरेन्स’ सम्पन्न भएको छ । हालै मात्र कम्पनीले काठमाडौंस्थित होटेल याक एन्ड यतीमा ‘बिजनेस एक्सिलेन्स कन्फरेन्स’ सम्पन्न गरेको हो ।
सम्मेलनमा देशभरबाट सेल्स तथा मार्केटिङ क्षेत्रमा कार्यरत दुई सय ५० भन्दा बढी कर्मचारीको सहभागिता रहेको थियो । कम्पनीका वरिष्ठ सञ्चालकद्वय कमलेशकुमार अग्रवाल र विमलप्रसाद ढकाल, सञ्चालक प्रवीणप्रकाश क्षेत्री तथा प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रवीणरमण पराजुलीले संयुक्त रूपमा पानसमा दीप प्रज्वलन गरी सम्मेलनको उद्घाटन गरेका थिए ।
वरिष्ठ सञ्चालक अग्रवालले नेपाल लाइफले २५ वर्षको गौरवपूर्ण यात्रा पूरा गर्दै नेपाली जीवन बिमा क्षेत्रमा विश्वास, स्थायित्व र नेतृत्वको विशिष्ट इतिहास निर्माण गरेको बताए । उनले आर्थिक वर्ष ०८२/८३ मा कम्पनीले १३ अर्ब रुपैयाँभन्दा बढी प्रथम बिमा शुल्क (एफपिआई) संकलन गरी अर्को ऐतिहासिक उपलब्धि हासिल गरेको उल्लेख गरे ।
उनले उक्त उपलब्धिका लागि कम्पनीसँग आबद्ध सम्पूर्ण कर्मचारी तथा हितधारकलाई धन्यवाद दिँदै आगामी दिनमा पनि उच्च उत्साह, समर्पण र प्रतिबद्धताका साथ अघि बढ्न आग्रह गरे । प्राप्त उपलब्धिलाई निरन्तर कायम राख्न सामूहिक प्रयास, मिहिनेत र सहकार्य आवश्यक रहेको उनको भनाइ थियो ।