प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकार गठन भएयता प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट भएका कामकारबाही तथा निर्णयबारे सञ्चारकर्मीलाई नियमित जानकारी गराउँदै आएको सरकारले अब हरेक शुक्रबार साप्ताहिक मिडिया ब्रिफिङ गर्ने भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार साताभर भएका प्रमुख प्रशासनिक तथा संस्थागत कार्यहरूको एकीकृत सार सञ्चारकर्मीसमक्ष प्रस्तुत गर्ने उद्देश्यले शुक्रबारदेखि साप्ताहिक मिडिया ब्रिफिङको अभ्यास सुरु गरिएको हो।
कार्यालयले दैनिक रूपमा सञ्चार समन्वयमार्फत पत्रकारहरूलाई आवश्यक सूचना उपलब्ध गराउने क्रम भने यथावत् रहने जनाएको छ। साप्ताहिक ब्रिफिङले सरकारका कामकारबाहीबारे नियमित, व्यवस्थित र एकीकृत रूपमा जानकारी प्रवाह गर्न तथा सञ्चारकर्मीसँगको व्यावसायिक संवादलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास कार्यालयले व्यक्त गरेको छ।