मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण २९ शुक्रबार
  • Friday, 14 August, 2026
२o८३ श्रावण २९ शुक्रबार १५:२८:oo
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

कैलाश गाउँपालिकाको वार्षिक समीक्षा : चालू आवमा योजनाबद्ध रूपमा काम गर्न अध्यक्ष मुक्तानको निर्देशन

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८३ श्रावण २९ शुक्रबार १५:२८:oo

मकवानपुरको कैलाश गाउँपालिकाले आर्थिक वर्ष ०८२/८३ को वार्षिक समीक्षा गर्दै चालू आर्थिक वर्षमा योजना कार्यान्वयनलाई अझ प्रभावकारी, समयमै सम्पन्न गर्ने र सेवा प्रवाहलाई थप व्यवस्थित बनाउने प्रतिबद्धता जनाएको छ । समीक्षा बैठकमा गत वर्षको वित्तीय, भौतिक तथा क्षेत्रगत प्रगतिको समीक्षा गर्दै देखिएका कमजोरी सुधार गरेर कार्यसम्पादन बढाउने निष्कर्ष निकालिएको हो ।

गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानको अध्यक्षतामा सम्पन्न समीक्षा बैठकमा विषयगत शाखा प्रमुख, वडासचिव तथा सम्बन्धित कर्मचारीहरूले आ–आफ्नो शाखाको वार्षिक प्रगति, उपलब्धि, समस्या र आगामी चुनौती प्रस्तुत गरेका थिए ।

गाउँपालिकाले गत आर्थिक वर्षमा एक करोड ७५ लाख २७ हजार सात सय नाै  रुपैयाँ आन्तरिक राजस्व संकलन गरेको जनाएको छ । राजस्व शाखाका अनुसार १० वटा वडामध्ये वडा नम्बर १० ले सबैभन्दा धेरै राजस्व संकलन गरेको छ । वडास्तरबाट मात्रै ३२ लाख ७९ हजार ६३३ रुपैयाँ राजस्व उठेको प्रतिवेदनमा उल्लेख छ।

आर्थिक प्रशासन शाखाका अनुसार गाउँपालिकाले गत वर्ष चालूतर्फ २९ करोड ६ लाख ५४ हजार ३३७ रुपैयाँ तथा पुँजीगततर्फ १६ करोड ७६ लाख ५६ हजार ५४२ रुपैयाँ खर्च गरेको छ । क्षेत्रगत खर्चको अवस्था हेर्दा सामाजिक विकासतर्फ सबैभन्दा बढी ८४.४९ प्रतिशत बजेट खर्च भएको छ । त्यसपछि कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा ८३.३३ प्रतिशत, पूर्वाधार विकासमा ७०.९ प्रतिशत, आर्थिक विकासमा ५९.५१ प्रतिशत तथा सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा ४४.५१ प्रतिशत बजेट खर्च भएको लेखा प्रमुख टीकाराम अधिकारीले जानकारी दिए ।

२०२ योजनामध्ये १८७ योजना सम्पन्न
योजना शाखाका प्रमुख दीपेन्द्र अधिकारीका अनुसार उपभोक्ता समितिमार्फत सञ्चालन गरिएका २०२ योजनामध्ये १८७ योजनाको सम्झौता सम्पन्न भई भुक्तानी गरिएको छ । सबैभन्दा धेरै योजना वडा नम्बर १० मा सञ्चालन भएका थिए ।

पूर्वाधार विकास शाखाका प्रमुख अनिलप्रसाद जोशीका अनुसार गत वर्ष गाउँपालिकाभित्र करिब ३१.५ किलोमिटर नयाँ सडक ट्र्याक खोलिएको छ भने ८९ किलोमिटर पुराना सडकको स्तरोन्नति गरिएको छ। यसबाहेक ६०४ मिटर पक्की नाला, ७३० मिटर स्ल्याब ढलान, ८७५ घनमिटर मेसनरी पर्खाल, ७१६ मिटर ग्याबिन जाली तथा करिब दुई किलोमिटर सडक ग्राभेल गरिएको प्रतिवेदनमा उल्लेख छ ।

साक्षरता बढे पनि विद्यार्थी उपस्थितिमा चिन्ता

स्वास्थ्य सेवा  शिक्षा शाखाका प्रमुख समीर जोशीका अनुसार गाउँपालिकाको कुल साक्षरता दर ६७.८ प्रतिशत पुगेको छ। पुरुषको साक्षरता ७३.३ प्रतिशत र महिलाको ६२.२ प्रतिशत रहेको छ।

शैक्षिक पहुँच र साक्षरतामा सुधार हुँदै गए पनि विद्यालयमा विद्यार्थीको नियमित उपस्थितिदर भने घट्दो रहेको उनले बताए । अभिभावकमा पर्याप्त चेतनाको अभावका कारण विद्यालय उपस्थितिमा अपेक्षित सुधार हुन नसकेको उनको भनाइ छ ।

यस्तै, स्वास्थ्य शाखाले करिब २२ हजार जनसंख्यालाई लक्षित गरेर सेवा प्रवाह गरेको जनाएको छ। शाखाले गत आर्थिक वर्षमा ८८ प्रतिशत बजेट खर्च गरेको छ । महिला तथा बालबालिका शाखातर्फ प्रदेश सरकारबाट सञ्चालित कार्यक्रमको ४६ प्रतिशत तथा गाउँपालिकाबाट सञ्चालित कार्यक्रमको ८८ प्रतिशत बजेट खर्च भएको प्रतिवेदनमा उल्लेख छ।

समीक्षा बैठकलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले चालू आर्थिक वर्षमा योजनाहरू समयमै सम्पन्न हुने गरी काम गर्न निर्देशन दिए । उनले गत वर्षको भन्दा भौतिक र वित्तीय प्रगति अझ बढाउने लक्ष्यका साथ कार्यसम्पादन गर्नुपर्नेमा जोड दिँदै विषयगत शाखाहरूले भदौ महिनादेखि नै वार्षिक कार्यक्रमलाई ब्रेकडाउन गरेर योजनाबद्ध रूपमा कार्यान्वयन सुरु गर्न आग्रह गरे ।

विशेषगरी स्वास्थ्य, शिक्षा र पूर्वाधार विकाससँग सम्बन्धित योजनाको ठेक्का प्रक्रिया समयमै पूरा गरी निर्माण कार्य छिटो सुरु गर्नुपर्ने उनको भनाइ थियो । अध्यक्ष मुक्तानले वडा कार्यालयका कर्मचारीलाई पनि सेवा प्रवाहमा कुनै ढिलासुस्ती नगर्न निर्देशन दिँदै गाउँपालिकाको समग्र सामाजिक तथा भौतिक विकासका लागि सबै शाखा र वडा कार्यालयबिच समन्वय र सहकार्य आवश्यक रहेको बताए ।