कपिलवस्तुको शुद्धोधन गाउँपालिका– ६, बिमियास्थित तौलिहवा–भैरहवा सडकखण्डमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा पाँचजना घाइते भएका छन्।
बिमियाबाट पकडीतर्फ आउँदै गरेको लु.३३प १५७७ नम्बरको डिस्कभर १२५ सिसी मोटरसाइकलले सोही दिशातर्फ जाँदै गरेको साइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ। घटनाको खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय पकडी, कपिलवस्तुबाट प्रहरी सहायक निरीक्षकको कमान्डमा ६ जना ट्राफिक प्रहरीसहितको टोली घटनास्थल पुगेको थियो।
प्रहरीका अनुसार घाइते सबैलाई उद्धार गरी उपचारका लागि नेसनल हेल्थ केयर सेन्टर, पकडी पठाइएको छ।मोटरसाइकल र साइकल प्रहरीको नियन्त्रणमा रहेका छन्। मोटरसाइकलचालकको चालक अनुमतिपत्र खुलेको छैन भने सवारीचालक अनुमतिपत्रसमेत साथमा नभएको प्रहरीले जनाएको छ। चालकको मादक पदार्थ सेवन गरे–नगरेको अवस्था भने खुल्न सकेको छैन।
दुर्घटनामा मायादेवी गाउँपालिका– २, भैसकुण्डाका ५० वर्षीय साइकलयात्री रामऔतार लोध घाइते भएका छन्। उनको ढाड, बायाँ हातको कुहिनो र काँधमा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। मोटरसाइकलचालक रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका– ८, भरबलियाका ४० वर्षीय सकिल अहमद खानको बाहिरी चोट नदेखिए पनि भित्री असर हुन सक्ने र बोल्न नसक्ने अवस्था रहेको छ। उनको अवस्था मध्यम रहेको छ।
मोटरसाइकलमा पछाडि सवार चालकका ११ वर्षीय छोरा बसिद खानलाई चोट नलागे पनि शरीर दुखेको छ। उनको अवस्था सामान्य छ। नाै वर्षीय जहिर खानको दाहिने खुट्टाको घुँडामा चोट लागेको छ भने उनको अवस्था पनि सामान्य रहेको छ। त्यस्तै, चालककी तीन वर्षीया छोरी सेफा खानलाई पेट दुखेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
दुर्घटनास्थल इलाका प्रहरी कार्यालय पकडीबाट करिब १.५ किलोमिटर पूर्वमा पर्छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।