प्रहरीको पोसाक तथा अन्य सामग्री खरिदसम्बन्धी उजुरीलाई आधार बनाएर नेपाल प्रहरीका उच्च अधिकारीमाथि प्रश्न उठाइएको भन्दै गृहमन्त्री सुधन गुरुङले आपत्ति जनाएका छन्।
शुक्रबार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा उपस्थित गृहमन्त्री गुरुङले सार्वजनिक लेखा समितिको बुधबारको बैठकमा आफू अनुपस्थित रहेका वेला गृह मन्त्रालयका सचिव, सहसचिव तथा प्रहरी प्रमुखमाथि गरिएको व्यवहारप्रति असन्तुष्टि जनाए।
रास्वपा सांसद खगेन्द्र सुनारले प्रहरी पोसाकलगायत सामग्री खरिदमा परेको उजुरीलाई नैतिकताको विषय बनाउँदै प्रहरी नेतृत्वमाथि प्रश्न उठाएका थिए।
त्यसप्रति प्रतिक्रिया दिँदै गृहमन्त्री गुरुङले भने, ‘उजुरीको भरमा हामी न्यायाधीश बन्न मिल्दैन। आरोप जोसुकैले पनि लगाउन सक्छ। त्यसको आधारमा कसैको चरित्रहत्या गर्न पाइँदैन।’
उनले उजुरीमाथि छानबिन र त्यसको पुष्टि हुनुअघि नै कसैलाई दोषी करार गर्नु उचित नहुने बताए। ‘आरोप लगाउन जोसुकैले पनि सक्यो, तर त्यो पुष्टि नभएसम्म कसैलाई दोषी करार गरेर समितिमार्फत त्यस्तो गर्नु राम्रो होइन,’ उनले भने।
गुरुङले सार्वजनिक लेखा समितिको बैठकमा गृह मन्त्रालयका अधिकारी र प्रहरी प्रमुखप्रति प्रस्तुत व्यवहारलाई लिएर मन्त्रालयको समेत ध्यानाकर्षण भएको बताए। ‘दिस इज नट राइट, दिस इज नट गुड,’ उनले भने, ‘वि आर नट ह्याप्पी अबाउट इट।’
गृहमन्त्रीले गृह प्रशासनअन्तर्गतका कर्मचारी र प्रहरी नेतृत्वले सरकारको भावनाअनुसार काम गरिरहेको दाबी पनि गरे। आफू मन्त्रालयका कर्मचारी तथा प्रहरी प्रमुखहरूले गरिरहेको कामको प्रत्यक्ष साक्षी रहेको उल्लेख गर्दै उनले उनीहरू दिनरात खटिरहेको बताए।
उनले छानबिनबाट दोष प्रमाणित भए कानुनी प्रक्रिया अघि बढ्न सक्ने भए पनि प्रमाणित नहुँदै आरोपकै आधारमा अधिकारीहरूको चरित्रमाथि प्रश्न उठाउनु उचित नहुने धारणा राखे।