सर्लाहीको मलंगवा नगरपालिकास्थित कृष्णादेवी जनता माविका तत्कालीन प्रधानाध्यापक विन्देश्वर यादव र शिक्षिका प्रियंकाकुमारी सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।
लामो समय विद्यालयमा अनुपस्थित रहेकी शिक्षिका सिंहकाे हाजिरी किर्ते गरी तीन लाख ७१ हजार ३६ रुपैयाँ तलब भुक्तानी गरेको आरोपमा उनीहरूमाथि बुधबार विशेष अदालतमा आरोपपत्र दायर भएको हो।
औपचारिक सूचनाविना २०७९ वैशाखदेखि कात्तिक १८ गतेसम्म विद्यालयमा अनुपस्थित सिंहलाई पदबाट हटाउनेतर्फ कारबाही गर्नुपर्नेमा प्रधानाध्यापक यादवले मिलेमतोमा हाजिरी रजिस्टर खाली राखी एकमुस्ट हाजिर गर्न दिएको आरोपपत्रमा उल्लेख छ।