आफ्नै सन्तानको जन्मदर्ता र अदालतले आदेश दिएको राहत खोजेर एक आमा ४८ दिनदेखि माइतीघर मण्डलाको सानो टेन्टमा धर्नामा छिन् । बलात्कारको पीडा, एक्लो मातृत्वको संघर्ष, अभावपूर्ण दैनिकी र सात महिनाको शिशुको भविष्यप्रतिको चिन्ताबिच उनी न्यायको प्रतीक्षामा सडकमै छिन् । तर, उनको पुकार सुन्ने कोही देखिएको छैन । त्यही बाटो भएर सिंहदरबार ओहोरदोहोर गर्ने मन्त्रीको नजर ती महिलामा परेको छैन ।
यो कथा हो जाजरकोटकी २५ वर्षीय सुत्केरी युवतीको । शिशुलाई काखमा च्यापेर माइतीघर मण्डलाको सानो टेन्टमा धर्ना बसेको आइतबार ४८ दिन पुगेको छ । तर, सरकार उनको माग पूरा गर्न तयार छैन ।
घटनाक्रमअनुसार लोक सेवा परीक्षाको तयारीमा रहेकी उनी तत्कालीन प्रहरी जवान २६ वर्षीय भूपेन्द्रसिंह ठुगन्नाबाट १ जेठ ०८२ मा बलात्कृत भएकी थिइन् । सोही कारण उनको गर्भ बस्यो । अनेक हन्डर सहेर उनले शिशुलाई जन्म दिइन् ।
जिल्ला अदालत सुर्खेतले गत १७ फागुनमा शिशु पालन पोषणका निम्ति सुत्केरीलाई राहत कोषबाट एक लाख ५० हजार रुपैयाँ तत्काल उपलब्ध गराउन आदेश दियो । तर, उनले आदेशबमोजिमको रकम पाइनन् । शिशुको जन्मदर्ता पनि हुन सकेन ।
‘म भूपेन्द्रबाट बलात्कृत भएँ । गर्व बस्यो । सेल्टरमा बसेर बच्चालाई जन्म दिएँ । पोषणका लागि भनेर अदालतले एक लाख ५० हजार उपलब्ध गराउनू भन्यो । तर, मैले अहिलेसम्म पाइनँ । बच्चाको जन्मदर्ता गराउन चाहन्छु । तर, मेरो माग सुन्न कोही तयार भएनन्,’ उनले पीडा सुनाइन् ।
दार्चुला नौगाड गापा–२, सुन्डमुन्डका २६ वर्षीय ठगुन्ना अहिले पुपर्क्षका लागि कारागार छन् । तर, प्रशासनले उनलाई ठगुन्नासँग भेट गर्न दिएको छैन । उनी रहेको कारागारबारे सूचनासमेत उपलब्ध गराएको छैन । माइतीको ढोका पहिले नै बन्द भएको छ ।
कतै सुरक्षित साथ बस्ने कुनै विकल्प नभएपछि उनी ४८ दिनअघि काठमाडौं आएकी थिइन् । सोही दिनबाट सुरु गरेको उनको धर्ना अहिलेसम्म पनि जारी छ । तर, उनको पीडा सोधखोज गर्न सरकारी पक्षबाट कोही गएका छैनन् ।
‘ठगुन्ना पुर्पक्षका लागि जेल छ भनेका छन् । तर, उनी कहाँ छन् भन्ने कुनै जानकारी दिएका छैनन् । जानकारी पाए त्यहीँ जान्थेँ र हारगुहार गर्थेँ । थोरै भए पनि बच्चालाई हुर्काउने खर्च त आउँथ्यो होला,’ सडकमै टेन्ड टाँगेर बस्दै आएकी उनले भनिन्, तर, मैले त्यो पनि पाइनँ । जाने कुनै विकल्प नभएपछि म यहाँ आएँ र धर्नामा बसेँ । मेरो पीडा बुझ्न सरकारको तर्फबाट कोही आएका छैनन् ।’
टन्टलापुर घाम होस् या सडक नै बगाउने दर्के झरी, ४८ दिनदेखि उनको बास सडकमा टाँगिएको साँघुरो सोही टेन्टभित्रै छ । पीडित सुत्केरी महिलाका अनुसार उनीसँग अहिले पेटभरि खाने रासन छैन । शिशुलाई दुध खरिद गर्ने रकम पनि नभएको उनले गुनासो गरिन् ।
आन्दोलनमा आउनेहरू कोही टेन्टनजिक पुग्छन् र भित्र खेलिरहेको शिशु देख्छन् । उनीहरूको मन पग्लिन्छ । धेरेथोर खर्च छाडेर जान्छन् । उनी सोही रकमले चाउचाउ खरिद गर्छिन् । पानीको घुट्कीसँगै फाँको मार्छिन् । बिहान बेलुकाको छाक यसै गरी टर्दै आएको उनले सुनाइन् ।
‘आन्दोलनमा सहभागी हुनेहरू यहाँ आउँछन् । टेन्टभित्र खेलिरहेको छोरालाई देख्छन् र कथा सुनेर मुख हेरेको भन्दै अलिअलि रकम दिएर जान्छन्,’ उनले भनिन्, ‘सोही रकमले चाउचाउ किनेर खान्छु । अहिलेसम्म यसैगरी दिन बितेका छन् ।’
साँघुरो टेन्टमा कपडा फेर्ने सुविधा पनि छैन । शान्तसँग निदाउने वातावरण त हुने कुरै भएन । उनका अनुसार खानेपानी, शौचालय र लामखुट्टेको टोकाइ सबैभन्दा ठुलो समस्या बनेको छ । ‘म यहीँ बस्छु । कपडा धुने र फेर्ने ठाउँ छैन । शौचालय छैन । गुहार मागेर नजिकैको घरमा जान्छु । बेलुका भएपछि लामखुट्टेको बथान आउँछ,’ उनले दैनिकी सुनाइन् ।
ठगुन्नालाई गत माघमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले भारतको मुम्बईबाट पक्राउ गरी ल्याएको थियो । त्यसयता उनी जेलमै छन् । ठगुन्ना त्यसअघि पनि पीडित महिलाकै जाहेरीपछि पक्राउ परेका थिए ।
जबर्जस्ती करणी कसुरमा पक्राउ परेका उनले महिलालाई बयान फेर्न लगाएका थिए । त्यसपछि उनले महिलालाई क्षतिपूर्तिबापत दुई लाख ५० हजार रुपैयाँ भुक्तान गरे । जेलबाट निस्किए । युवतीका अनुसार उनले त्यसपछि निज महिलालाई जबर्जस्ती करणी गरे । शारीरिक तथा मानसिक यातना दिए । पीडित महिला त्यसपछि गर्भवती भएकी थिइन् ।