फिफाले २३औँ संस्करणको विश्वकप फुटबल प्रतियोगिताको फाइनलमा स्पेनसँग पराजित भएपछि र प्रतियोगिताभर देखाएको व्यवहारलाई लिएर अर्जेन्टिनाविरुद्ध अनुशासनको कारबाही प्रक्रिया सुरु गरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले न्युयोर्क न्यु जर्सी रंगशालामा भएको फाइनलको अन्तिम सिठीपछि भएका घटनाको छानबिन गर्न एक अनुसन्धान अधिकृत नियुक्त गरेको अलजजिराले जनाएको छ । दुई साताअघि भएको फाइनलमा स्पेनसँग १–० ले पराजित भएपछि अर्जेन्टिनी खेलाडी र अफिसियल स्पेनका खेलाडीसँग मैदानमै झगडामा उत्रिएका थिए । फिफाले अर्जेन्टिनी खेलाडी नहुएल मोलिनालाई दुई, लिआन्द्रो पारेडेसलाई तीन र सहायक प्रशिक्षक रोबर्टो आयलालाई एक आरोप लगाइएको छ ।
यसैगरी उनीहरूमाथि विपक्षी खेलाडीमाथि कुटपिट गरेको वा हातपातको अभियोगमा थप छानबिन गरिने फिफाले जनाएको छ । फिफाले खेलाडी तथा अफिसियलविरुद्ध अनुशासन संहिताको धारा १४ अन्तर्गत छानबिन प्रक्रिया अगाडि बढाइएको हो । यसैगरी, मोलिनामाथि फिफाको खेल भावनाविपरीत व्यवहार गरेको अर्को एक आरोप छ । अर्जेन्टिनाका थियागो अल्माडा र स्पेनका मिडफिल्डर गाभीमाथि धारा १४ अन्तर्गत नियम उल्लंघन गरेको आरोप छ । ‘अशिष्ट व्यवहार गर्ने खेलाडी वा पदाधिकारीलाई कम्तीमा एक खेल प्रतिबन्ध लाग्नेछ । कुटपिट वा हातपात मा संलग्न हुनेलाई कम्तीमा तीन खेलको प्रतिबन्ध लाग्न सक्छ,’ अलजजिराले फिफालाई उद्धत गर्दै लेखेको छ ।
यसैबिच, इंग्ल्यान्डसँगको सेमिफाइनल खेलपछि मैदानमा प्रदर्शन गरिएको विवादास्पद ब्यानरबारे पनि छानबिन गरिनेछ । अर्जेन्टिनी खेलाडीले फकल्यान्ड टापु (माल्भिनास) आफ्नो दाबी गर्दै मैदानमा ब्यानर प्रदर्शन गरेका थिए । फाइनलका क्रममा दुई खेलाडीमाथि हातपात गरेको आरोपमा कारबाही थालिएको हो ।
इंग्ल्यान्डसँगको खेलपछि अर्जेन्टिनी खेलाडीले ‘लास माल्भिनास सोन अर्जेन्टिनासु’ लेखिएको ब्यानर प्रदर्शन गरेका थिए । जसको अर्थ ‘फकल्यान्ड टापु अर्जेन्टिनाको हो’ भन्ने हुन्छ । फिफाले मैदान वा प्रतियोगिता आयोजना भइरहँदा खेलाडीले राजनीतिक सन्देश दिन निषेध गरेको छ । यस किसिमको गतिविधि गर्दा नियम उल्लंघन भएको मानिन्छ । ‘फिफामा आबद्ध सबै फुटबल संघले नियम मान्नुपर्छ । विशेषगरी मैदानमा खेलाडी वा अफिसियलले राजनीतिक झझल्को आउने गतिविधि गर्न प्रतिबन्ध छ ।
यस्तो गरे उनीहरूले फिफाको नियम तोडेको मानिन्छ,’ फिफाले जनाएको छ, ‘हामीहरूले अर्जेन्टिनाले विश्वकपको सेमिफाइनल र फाइनलमा गरेका गतिविधिको अध्ययन सुरु गरेका छौँ ।’ सन् १९८२ मा अर्जेन्टिना र इंग्ल्यान्डबिच फकल्यान्ड टापुका सम्बन्धमा आ–आफ्नो दाबी गर्दै युद्ध भएको थियो । १० सातासम्म चलेको युद्धमा इंग्ल्यान्डले अर्जेन्टिनालाई परास्त गरेको थियो ।
अनुशासन समिति सक्रिय
फिफाले विश्वकपपछि अर्जेन्टिनी खेलाडीको सबै भिडियो संकलन गरेको छ । विशेषगरी खेलका दौरान अर्जेन्टिनी खेलाडीले खेल भावनाविपरीत गरेका क्रियाकलापको गम्भीरतापूर्वक अध्ययन भएको फिफाले उल्लेख गरेको छ । ‘हामीले विभिन्न धाराअनुसार अनुसन्धान अगाडि बढाएका हौँ । जसअनुसार अर्जेन्टिनी खेलाडी दोषी देखिएका छन्,’ फिफाको विज्ञप्तिमा भनिएको छ । फिफाले थप प्रस्ट पारेको छ, ‘अनुशासन समितिले अर्जेन्टिनी फुटबल संघविरुद्ध फिफा अनुशासन संहिताको धारा १३ (गैरखेलकुद प्रदर्शनका लागि खेलको प्रयोग), धारा १४ (टोलीको दुर्व्यवहार), धारा १५ (भेदभाव र रंगभेद) र धारा १७ (खेलको सुरक्षा र व्यवस्था) उल्लंघन गरेको आशंकामा कारबाही प्रक्रिया सुरु गरेको छ ।’
फिफाले विश्वकप, २०२६ का विभिन्न खेलमा देखिएका भेदभावपूर्ण नारा र इसारा, ढिलो गरी खेल सुरु भएको र सुरक्षा प्रोटोकल पालना नगरेको विषय केन्द्रित रहेको जनाएको छ । फाइनलमा अर्जेन्टिनाका खेलाडी पारेडेसले स्पेनिस खेलाडी एरिक गार्सियाको कठालो समातेको देखिएको थियो । भिडियो फुटेजमा नाहुएल मोलिनाले जितको खुसियाली मनाउँदै दौडिरहेका म्यानचेस्टर सिटीका स्टार रोड्रीलाई हिर्काएका थिए ।
अर्जेन्टिनालाई सफाइको मौका दिइने
फिफाले अर्जेन्टिनाका आरोपितलाई आफ्नो बचाउ गर्ने मौका दिने बताएको छ । अर्जेन्टिनी खेलाडी र अफिसियलको बयानपछि मात्र फिफाले निर्णय गर्ने बिबिसीले जनाएको छ । ‘वास्तवमा घटना कसरी भएको थियो । त्यसको अनुसन्धान आरोप लागेकाबाट सुरु हुन्छ । उनीहरूले आ–आफ्ना भनाइ राखेपछि मात्र अनुसन्धान समितिले प्रतिवेदन बुझाउनेछ । प्रतिवेदनअनुसार कारबाही गर्ने वा नगर्ने भन्ने हुन्छ,’ फिफाको विज्ञप्तिमा भनिएको छ, ‘फिफाको नियमअनुसार दोषी ठहरिएमा उनीहरूमाथि विश्वव्यापी रूपमा फुटबल खेल्न प्रतिबन्ध लाग्न सक्छ ।’
नियमविरुद्ध जाँदा कारबाहीका उदाहरण
महिला विश्वकप फाइनलपछि खेलाडीलाई ओठमा चुम्बन गरेको भन्दै स्पेनिस फुटबल संघका पूर्वअध्यक्ष लुइस रुबियल्सलाई पनि यही नियमअन्तर्गत प्रतिबन्ध लगाइएको थियो । सन् २०१४ को विश्वकपमा जियोर्जियो चिलिनीलाई टोकेको आरोपमा लुइस सुअरेजलाई चार महिना प्रतिबन्ध लगाइएको थियो । सन् २०१४ मा स्लोभेनियाविरुद्धको मैत्रीपूर्ण खेलअघि यस्तै ब्यानर प्रदर्शन गर्दा अर्जेन्टिनालाई २० हजार पाउन्ड जरिवाना गरिएको थियो । यसपटक इंग्ल्यान्डविरुद्धको खेलपछि ब्यानर बोक्ने क्रिस्टियन रोमेरो, लिजान्ड्रो मार्टिनेज र जियोवानी लो सेल्सोलाई पनि प्रतिबन्ध लाग्न सक्ने सम्भावना छ ।