पश्चिम एसियाको संकट बढ्दै जाँदा, इरानले चिनियाँ भूउपग्रहीय तस्बिर र युक्रेनमा रुसले सिकेका रणनीतिको प्रयोग गरेर खाडी क्षेत्रका अमेरिकी सैन्यअड्डादेखि अन्य महत्वपूर्ण पूर्वाधारमाथि सटिक आक्रमण गरिरहेको छ । गत शुक्रबार जोर्डनको ‘मुवाफक साल्टी हवाई अड्डा’मा भएको इरानी मिसाइल आक्रमणमा तीन अमेरिकी सैनिक मारिए । उक्त हवाई अड्डालाई अत्याधुनिक ‘थाड वायु रक्षा प्रणाली’ले सुरक्षा दिएको थियो । पछि इरानी मिडियाद्वारा जारी भूउपग्रहीय तस्बिरले हवाई अड्डाका कैयौँ भवन ध्वस्त भएको देखिन्थ्यो ।
हवाई अड्डाको वायु प्रतिरक्षा प्रणालीले आवश्यक समयमा किन काम गरेन भनेर पेन्टागनले अनुसन्धान सुरु गरेको छ । यो घटनाले इरानमाथि त्यति लामो अमेरिका–इजरायली आक्रमणपछि पनि ऊसँग अझै प्रभावकारी क्षेप्यास्त्र क्षमता रहेछ भन्ने अर्को प्रमाण दिएको छ । र, देशको नयाँ नेतृत्व आवश्यक पर्दा ती क्षमता प्रयोग गर्न इच्छुक देखिन्छ । किंग्स कलेज लन्डनको सुरक्षा अध्ययन संकायका सहप्राध्यापक एन्ड्रियास क्रिगले उचित गुप्तचर, क्षेप्यास्त्र नेभिगेसन, गतिशीलता र समन्वित आक्रमण योजनाको संयोजनका कारण इरानले ‘वास्तविक क्षति’ पुर्याइरहेको बताए ।
वासिङटनले पछिल्लो सैन्य अभियानमा तेहरानको मिसाइल क्षमता नष्ट भएको दाबी गरे पनि अमेरिकी गुप्तचर निकायले नै इरानको पहिले कायम ब्यालेस्टिक मिसाइलको करिब ७० प्रतिशत अक्षुण्ण रहेको प्रक्षेपण गरेको छ । यिनै मिसाइल खाडी क्षेत्रका अमेरिकी सैन्य आधार र अन्य रणनीतिक क्षेत्रलाई क्षति पुर्याउन प्रयोग भइरहेका छन् । यसमा इरानको सहयोगी बनेको छ, चिनियाँ भूउपग्रहीय तस्बिर । अमेरिकाले गत मे महिनामै इरानलाई भूउपग्रहीय तस्बिर प्रदान गरेको आरोपमा तीन चिनियाँ कम्पनीमाथि प्रतिबन्ध लगाएको थियो ।
इरानी क्षेप्यास्त्र क्षमताका साथै अमेरिकी सैन्य आधारकै प्रतिरक्षा अवस्थाबारे पनि प्रश्न उठेको छ । मध्यपूर्वमा सक्रिय सानाठुला विद्रोही समूहको आक्रमण थेग्ने गरी बनाइएका अमेरिकी आधार इरानी क्षेप्यास्त्र तथा ड्रोन आक्रमणविरुद्ध बलियो देखिएको छैन । यसअघि खाडी क्षेत्रका सिआइएका कैयौँ कार्यालयमा इरानले सटिक आक्रमण गरेपछि पनि अमेरिकी विश्लेषकले तेहरानलाई रुसले सघाइरहेको छ कि भनेर सोच्नुपर्ने बताएका थिए । तथापि, शंकालाई पुष्टि गर्ने बलियो आधार भने छैन ।
अमेरिकी रक्षामन्त्री पिट हेगसेथले गत साता कांग्रेस (संसद्)लाई सम्बोधन गर्ने क्रममा चीन र रुसले इरानलाई केही हदसम्म मद्दत गरिरहेको बताएका थिए । तर, डोनाल्ड ट्रम्पले शुक्रबार आफ्नै रक्षामन्त्रीको खण्डन गर्दै सी जिनपिङ र भ्लादिमिर पुटिनले आफूसँगको व्यक्तिगत भेटघाटमा इरानलाई हतियार नबेचेको र नबेच्ने बताएको दाबी गरे । उसो त इरान ब्यालिस्टिक कार्यक्रममा प्रयोग हुने इलेक्ट्रोनिक्स र इन्धनमा प्रयोग हुने ‘अमोनियम पर्क्लोरेट’का लागि चीनमाथि अत्यधिक निर्भर छ ।
इरानले आफ्ना क्षेप्यास्त्र दागिसकेपछि लक्ष्यतर्फ जाँदै गर्दा अमेरिकी जिपिएस, चीनको ‘बेइदु’ र रुसको ‘ग्लोनास’ एकैसाथ प्रयोग गर्ने गरेको दाबी गर्छ । ब्यालेस्टिक क्षेप्यास्त्रको गति ध्वनिको गतिभन्दा धेरै गुणा बढी हुने हुँदा तिनलाई निष्तेज बनाउन प्रयोग गरिने एन्टी–ब्यालिस्टिक प्रणाली सधैँ सटिक नहुन सक्छ । ‘तेहरानले आफ्ना केही ब्यालिस्टिक क्षेप्यास्त्रमा उडिरहेकै समयमा दिशा बदल्न सक्ने प्रविधि विकास गरेको छ,’ किंग्स कलेज लन्डनका सुरक्षा अध्ययन विषयका सहप्राध्यापक एन्डियास क्रिगले भने ।
अन्तिम चरणमा ताप खोज्दै (तापतर्फ) अघि बढ्ने क्षमता भएको र अप्टिकल नेभिगेसन प्रणाली प्रयोग गर्ने मिसाइलले रेडियो सञ्चार प्रयोग नगर्ने भएकाले तिनलाई इलेक्ट्रोनिक जामिङ गरेर रोक्न सकिँदैन ।
यो सबै उन्नत प्रविधिका कारण इरानी क्षप्यास्त्र अमेरिकी वायु प्रतिरक्षा प्रणालीका लागि गम्भीर चुनौती बनेको छ । अमेरिकी–इजरायलले इरानविरुद्ध आक्रमण सुरु गरेपछिका पहिलो ३८ दिनमै अधिक प्रयोग गरेकाले ‘प्याट्रिएट’ र ‘थाड इन्टरसेप्टर’को भण्डारण लगभग आधाले घटेको छ । मध्यपूर्वका उत्पादन क्षेत्र, तेल प्रशोधन संयन्त्रदेखि पानी शुद्ध पार्ने ‘डिसेलिनेसन प्लान्ट’सम्मको सुरक्षा प्रदान गर्नुपर्ने भएकाले यति धेरै प्रतिरक्षा प्रणाली प्रयोग गर्नुपर्यो ।
इरानले पनि युक्रेनविरुद्ध रुसले अवलम्बन गरेजस्तै क्षेप्यास्त्र आक्रमणलाई रणनीतिक कारबाहीका रूपमा विकास गरेको छ । यस रणनीतिअनुरूप पहिले ससाना ड्रोन पठाएर हवाई प्रतिरक्षालाई अलमलाउँछ र बाटो खाली भएपछि मात्र ब्यालेस्टिक मिसाइल दाग्ने गरिएको छ । ‘रोयल युनाइटेड सर्भिस’का सिद्धार्थ कौशलका अनुसार यसमा मस्कोले तेहरानलाई प्रत्यक्ष रूपमा युद्ध नीति सिकाएको भन्दा पनि दुई देशका सेनाले एक–अर्काको अनुभवबाट सिकेको हुन सक्ने सम्भावना बढी छ ।
उत्तर कोरिया र इरानमा जस्तै रुस र चीनमा पनि पश्चिमविरोधी भावना बढी भए पनि उनीहरूबिच कुनै सुसंगत सैन्य गठबन्धन भने छैन । ‘एक प्रकारको सहकार्य र सद्भाव त देखिन्छ, तर सद्भावले मात्र नेटोको जस्तो ठुलो स्तरको सुरक्षा लाभ सिर्जना गर्दैन,’ रोयल युनाइटेड सर्भिसेज इन्स्टिच्युटका रक्षा विश्लेषक म्याथ्यु सभिलले भने ।
(पत्रकार सब्बाग सुरक्षा विषयमा कलम चलाउँछन्)
द गार्जियनबाट