रवि लामिछानेले बोलाए सर्वदलीय बैठक, सुनसरी घटनाबारे छलफल हुने

मंगलबार, १२ साउन, २०८३
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरीको देवानगन्जमा भएको घटनालगायत समसामयिक विषयमा छलफल गर्न बुधबार बिहान सिंहदरबारमा सर्वदलीय बैठक बोलाएका छन्।

रास्वपा सचिवालयका अनुसार बैठक बिहान ८ बजे सिंहदरबारस्थित प्रतिनिधिसभाको लेखा समितिको बैठक कक्षमा बस्नेछ। छलफलमा संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका साथै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र जनमत पार्टीका अध्यक्ष सिके राउत नेतृत्वका दललाई समेत आमन्त्रण गरिएको छ।

सभापति लामिछानेको सचिवालयले बैठकमा सहभागी हुन सबै दललाई औपचारिक पत्र पठाइएको र लामिछानेले सम्बन्धित नेताहरूसँग व्यक्तिगत रूपमा टेलिफोन संवाद गरी उपस्थितिका लागि आग्रह गरेको जनाएको छ।

रास्वपाका महामन्त्री विपिन आचार्यका अनुसार सुनसरी घटनापछि उत्पन्न संवेदनशील परिस्थितिमा सामाजिक सद्भाव कायम राख्न, सम्भावित द्वेष न्यूनीकरण गर्न र शान्ति–सुरक्षा सुदृढ बनाउन राजनीतिक दलहरूको साझा धारणा आवश्यक भएकाले बैठक आयोजना गरिएको हो।

बैठकमा सुनसरी घटनापछिको अवस्था, सामाजिक सद्भाव कायम गर्ने उपाय तथा राजनीतिक दलहरूबिच साझा सन्देश निर्माण गर्ने विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

सुझावित समाचार