फ्रेन्चाइज नेपाल भलिबल लिग (एनभिएल)को अक्सनबाट ६ टिमले कुल ४२ खेलाडी खरिद गरेका छन् । नेपाल भलिबल संघ (एनभिए)को प्राविधिक सहयोगमा आगामी भदौमा हुने प्रतियोगितामा ६ टिम सहभागी हुँदै छन् । आयोजक केडिया ग्रुपले पुरुष भलिबल इतिहासमा पहिलोपटक अक्सन गरेको हो । अक्सनमा १२९ खेलाडी समावेश थिए । तर, अन्तिम समयमा दुई खेलाडीले नाम फिर्ता लिएका हुन् ।
प्रतियोगिताको नियमानुसार प्रत्येक टोलीले १२ खेलाडी समावेश गर्नुपर्नेछ । अक्सन नियमअनुसार हरेक टोलीले क्याटगोरी ‘ए’का चार खेलाडी लिनुपर्ने थियो । सोहीअनुसार ६ फ्रेन्चाइज टोलीले ५४ मध्ये २४ खेलाडी आफ्नोमा तान्न सफल भएका छन् । ‘ए’ क्याटगोरीमा अनुबन्ध नभएका खेलाडी ‘बी’ क्याटगोरीमा घटुवा भएका छन् । ‘बी’ क्याटगोरीमा १८ खेलाडी खरिद भएका छन् । हरेक टोलीले समान तीन गरी कुल १८ विदेशी खेलाडी अनुबन्ध गर्नेछन् । त्यस्तै, हरेक टोलीले ट्यालेन्ट हन्टबाट एक खेलाडी छनोट गर्नेछन् ।
अक्सनमा सबैभन्दा धेरै विभागीय टोली त्रिभुवन आर्मीबाट २२, गण्डकीबाट २०, एपिएफ र सुदूरपश्चिमबाट समान १८ खेलाडी बिक्री भए । नेपाल पुलिसका १६ खेलाडी रहे । एनभिएका अध्यक्ष जितेन्द्र चन्दले सम्झौताभन्दा एक वर्ष ढिला भए पनि प्रतियोगिता भव्य हुने बताए । ‘प्रतियोगिता सम्झौताभन्दा एक वर्ष ढिला हुँदै छ । तर, प्रतियोगिता भव्य हुनेमा विश्वस्त छौँ,’ अध्यक्ष चन्दले भने । संघसँग केडिया ग्रुपले पहिलोपटक फ्रेन्चाइज लिग गर्न ०८१ जेठमै सम्झौता गरेको थियो । तर, विभिन्न कारण देखाउँदै प्रतियोगिता समयमै हुन सकेन । सम्झौताअनुसार केडिया ग्रुपले प्रतियोगिता आयोजना गरेबापत संघलाई वार्षिक ३५ लाख उपलब्ध गराउनेछ ।
चिरन र सनोजमाथि सबैको नजर
अक्सनमा १२७ खेलाडी सहभागी हुँदा दुई खेलाडीलाई सहभागी ६ टोलीले नजर लगाएका थिए । क्याटगोरी ‘ए’बाट मिडल ब्लकरद्वय चिरन खड्का र सनोज चौधरीलाई उच्चतम एक लाख २० हजारमा सबैले दाबी गरेका थिए । पछि गोलाप्रथा गरिएको थियो । चिरन काठमाडौं रेड्स र सनोज कर्णाली शिवराजमा अनुबन्ध भएका हुन् ।
काठमाडौंको धेरै खर्च
अक्सनमा सबैभन्दा धेरै खर्च गर्ने टोली काठमाडौं बन्यो । काठमाडौंले नियमअनुसार नै सबैभन्दा धेरै ६ लाख ५० हजार खर्च गरेको हो । कर्णालीले ६ लाख ३० हजार खर्च गर्दा मधेश र खप्तडले समान ६ लाख १० हजार खर्च गरेका हुन् । त्यस्तै, अन्नपूर्णले पाँच लाख ९० हजार र सगरमाथाले पाँच लाख ७० हजार खर्च गरेका छन् ।
