बैंकिङ कसुरको अभियोगमा पक्राउ परेका शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल कारागार चलान भएका छन् । बैंकबाट लिएको कर्जा दुरुपयोग गरेको प्रस्ट भएको भन्दै उच्च अदालत पाटनले उनलाई बिहीबार थुनामा पठाएको हो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनलाई बुधबार डिल्लीबजार कारागारअगाडिबाट पक्राउ गरेको छ । उनी छोरा सुलभ अग्रवाललाई भेट्न जाने क्रममा पक्राउ परेका हुन् । विभिन्न बैंकबाट लिएको कर्जा दुरुपयोगको अभियोगमा २८ जेठमा उनीविरुद्ध पाटन उच्च अदालतमा मुद्दा दायर भएको थियो । उच्चका न्यायाधीशहरू अर्जुनप्रसाद कोइराला र कविप्रसाद न्यौपानेको इजलासले थुनामा पठाउने आदेश दिएको हो ।
जगदम्बा स्टिल्सको नाममा विभिन्न बैंकबाट लिइएको ४२ करोड १४ लाख रुपैयाँ दुरुपयोग गरेको अभियोगमा शंकरलाल, उनका छोराहरू साहिल र सुलभ तथा बिचौलिया दीपक भट्टविरुद्ध गत २८ जेठमा मुद्दा दायर भएको थियो । सो कम्पनीले विभिन्न बैंकहरूबाट व्यवसायका लागि भनेर लिएको कर्जा भट्टको इन्फिनिटी होल्डिङ्समा लगेर सेयरलगायतमा लगानी गरी दुरुपयोग गरेको अभियोग थियो । त्यसमै टेकेर अदालतले थुनामा राख्ने आदेश दिएको हो ।
कर्जाको दुरुपयोगमा मद्दत पुर्याएको देखिएको भन्दै उनलाई थुनामा पठाउने आदेश भएको छ । अदालतको आदेशमा भनिएको छ, ‘यी प्रतिवादी सहप्रतिवादी साहिल अग्रवाल र सुलभ अग्रवालसमेत एकै परिवारका सदस्य रही खाता सञ्चालनमा समान भूमिका रहने सदस्यका रूपमा रहेको अवस्थामा खाता सञ्चालक यी प्रतिवादीबाट रकम दुरुपयोगको ज्ञान नभएको भन्ने अवस्था नदेखिँदा एवं यी प्रतिवादीको बैंक खाता प्रयोग गरी जटिल तहिकरण भएको, कम्पनीको नाममा प्रदान भएको कर्जा सहप्रतिवादी दीपक भट्टको नाममा रहेको कम्पनीमा सेयर खरिदमा गएको देखिएको अवस्थामा वित्तीय कारोबारमा भएको जोखिम एवं असरसमेतलाई मध्यनजर गर्दा बैंकिङ कसुर एवं सजाय ऐन, २०६४ को दफा ८ बमोजिम कर्जाको दुरुपयोग गर्न नहुने भन्ने व्यवस्थाको विपरीत देखियो ।’
सो मुद्दाका प्रतिवादी दीपक भट्ट र सुलभ अग्रवाल भने पुर्पक्षका लागि कारागारमै छन् । सम्पत्ति शुद्धीकरणको कसुरमा उनीहरूलाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाएको हो । बैंकिङ कसुर मुद्दाको हकमा भने आदेश भएको छैन । बिमा र धितोपत्रसम्बन्धी कसुरमा भने उनीहरूसँग धरौटी माग भएको छ ।
बिचौलिया दीपक भट्टमाथि अनुसन्धान गर्ने क्रममा शंकर ग्रुपको पनि वित्तीय अपराध बाहिर आएको थियो । सो ग्रुपसँग मिलेरै उनले सरकारलाई नै प्रभावमा पारी अपराध गर्दै आएको अनुसन्धान गर्ने निकायको दाबी छ । जसमा शंकर ग्रुपका तीन पुस्ताविरुद्ध मुद्दा दायर भएको छ । शंकरलालका छोराहरू सुलभ र साहिल, बुहारी सुभी अग्रवाल, नाति कृषिव अग्रवालाई समेत मुद्दा चलाइएको छ । जसमा साहिल, सुभी र कृषिव फरार सूचीमा छन्् । एमाले उपाध्यक्ष विष्णु पौडेलविरुद्ध दायर भएको सम्पत्ति शुद्धीकरणको कसुरमा पनि दीपक, सुलभ र सुभीलाई प्रतिवादी बनाइएको छ ।