सुनसरी जिल्ला प्रशासन कार्यालयले जिल्लाका पाँच संवेदनशील बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क)बमोजिम आइतबार बिहान ७ बजेदेखि अर्को सूचना जारी नभएसम्म लागू हुने गरी कर्फ्यू आदेश जारी गरेका हुन्।
कर्फ्यू लागू गरिएका क्षेत्रहरूमा हरिनगरा बजार, भुटाहा बजार, कप्तानगञ्ज बजार, घुस्की बजार र देवानगञ्ज बजार रहेका छन्। प्रशासनले प्रत्येक क्षेत्रको चार किल्ला तोकेर सो सीमाभित्र कुनै पनि व्यक्तिलाई आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउजस्ता गतिविधि गर्न निषेध गरेको जनाएको छ।
जिल्ला प्रशासन कार्यालयका अनुसार आदेश उल्लंघन गर्ने व्यक्तिलाई स्थानीय प्रशासन ऐनअनुसार एक हजार रुपैयाँसम्म जरिवाना वा एक महिनासम्म कैद, वा दुवै सजाय हुन सक्ने व्यवस्था छ।
प्रशासनले शान्ति–सुरक्षा तथा सार्वजनिक सुव्यवस्था कायम राख्न कर्फ्यू लागू गरिएको जनाएको छ। कर्फ्यू अर्को सूचना जारी नभएसम्म कायम रहनेछ।