लघुवित्त संस्थाले लगाएको चर्को ब्याजका कारण उठीवास लागेका लघुवित्तपीडितले काठमाडौंमा आन्दोलन थालेका छन् । लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलन नेपालको नेतृत्वमा उनीहरूले आइतबार बल्खुबाट मार्च सुरु गरेका छन् । मार्च कालीमाटीबाट त्रिपुरेश्वर हुँदै शान्तिवाटिकाबाट माइतीघर मण्डलामा पुगेर धर्नामा परिणत भएको थियो ।
तराई–मधेशबाट राजधानी उत्रिएका उनीहरूले लघुवित्तको कर्जा तथा चर्को ब्याज खारेजी, जरिवाना मिनाहा गरिनुपर्ने माग राख्दै आएका छन् । पीडितलाई राहत दिनुपर्ने र चर्को ब्याज असुल्ने लघुवित्त संस्थालाई कारबाही गरिनुपर्नेसमेत उनीहरूले भन्दै आएका छन् । माइतीघर मण्डलामा विरोधमा उत्रिएका उनीहरूले माग पूरा नभएसम्म घर नफर्किने बताएका छन् । तराई मधेशका विभिन्न जिल्लाबाट झन्डै हजारको हाराहारीमा पीडितहरू काठमाडौं आएका छन् ।
आन्दोलनका निम्ति रौतहटदेखि आएकी शान्तिदेवी रामले माग पूरा भएपछि मात्रै घर फर्किने बताइन् । ‘लघुवित्तका कारण हाम्रो उठीवास लाग्यो । रकम असुल्न घरमा दैनिक लघुवित्तका मान्छे आउँछन् । ब्याज चर्को छ । जरिवाना पनि दिनुपर्ने भन्छन् । आम्दानी केही छैन । हामीले रकम कसरी उपलब्ध गराउने ? समस्या लिएर यहाँ आएका छौँ । न्याय नपाई घर फर्कन्नौँ,’ उनले भनिन् ।
लघुवित्तपीडितका अनुसार चर्को ब्याजका कारण मुलुकभर लाखौँ किसानको उठीवास लागेको छ । लघुवित्तका कर्मचारी घरमा आएर दैनिक मानसिक यातनामा उत्रिन्छन् । असुलीका लागि दबाब दिन्छन् । उनीहरूकै कारणमा परिवार बिग्रिएको छ । घरमा बास बस्ने वातावरण छैन । त्यसो हुँदा अब भने माग पूरा गरेर मात्रै घर फर्किने उनीहरूले बताएका छन् ।
लघुवित्तपीडित ०८० चैतमा पनि पीडा लिएर काठमाडौं आएका थिए । उनीहरूले कलंकीदेखि बालुवाटारसम्म मार्च गरेका थिए । झन्डै महिना दिनको आन्दोलनपछि उनीहरू र सरकारबिच ६ बुँदे सहमति भएको थियो । तर, त्यो सहमति हालसम्म पनि कार्यान्वयन नभएको उनीहरूको भनाइ छ । त्यसो हुँदा माग लिएर पुनः काठमाडौं आउनुपरेको उनीहरूको भनाइ छ ।