रोल्पामा बस दुर्घटना, १४ जना घाइते

बुधबार, २४ असार, २०८३
डिजिटल संस्करण

रोल्पामा यात्रुवाहक बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। जसमा पाँचजनाको अवस्था गम्भीर छ ।

रोल्पाको त्रिवेणी गाउँपालिका वडा नं. ७, गाइबिसौना स्थित घोराही–घर्तीगाउँ सहिद मार्ग खण्डमा बुधबार दिउँसो घर्तीगाउँदेखि काठमाडौंतर्फ जाँदै गरेको लु २ ख २९६६ नम्बरको बस दुर्घटना भएको हो। 

चालकसहित २५ जना सवारमा १४ जना घाइते भएका छन्।  माडी २ की २५ वर्षिय जुनमाया पुनमगर, त्रिवेणी ७ का १९ वर्षिय अम्मर झाँक्री, परिवर्तन २ का ३९ वर्षीय रामबहादुर घर्तीमगर, रोल्पा ३ की २५ वर्षीया मनिया विक गम्भीर घाइते भएका छन्। त्यस्तै, दाङको घोराही १६ की ५० वर्षिया सुनीता बुढामगर मध्यम घाइते भएकी छिन्। 

परिवर्तन ४ की ४५ वर्षीया मीरा बुढा, माडी २ का २९ वर्षीय विशाल परियार, माडी ५ की २९ वर्षीया शर्मिला घर्ती,  माडी २ का २६ वर्षीय चन्द्रवीर पुन, रोल्पा नगरपालिका ७ का ४० वर्षीय टेकबहादुर सार्की, परिवर्तन ४ का १७ वर्षीय शिवशक्ति बुढामगर,  परिवर्तन ३ का २३ वर्षीय विशाल डाँगी र माडी २ की ६८ वर्षीया भीमा पुन सामान्य घाइते भएका छन्। 
रोल्पाका डिएसपी पंचबहादुर बाखुका अनुसार गाडीका चालक चन्द्रवीर पुन पनि सामान्य घाइते भएका छन्। गम्भीर घाइतेलाई उपचारका लागि दाङ पठाइएको उनले बताए। 
 

सुझावित समाचार