राष्ट्रिय सभामा उठेको सीमासम्बन्धी विषयबारे स्पष्ट पार्दै परराष्ट्र मन्त्रालयले नेपाल–भारतबिचका सीमा विवादहरू कूटनीतिक संवाद र प्राविधिक प्रक्रियाबाट समाधान गर्ने अडान दोहोर्याएको छ।
बिहीबारको बैठकमा सरकारका तर्फबाट बोल्दै परराष्ट्रमन्त्री शिशिर खनालले लामो समयदेखि खुला र संवेदनशील मानिँदै आएको नेपाल–भारत सीमामा देखिएका समस्या वार्ता र आपसी सहकार्यबाट समाधान गर्ने नीति कायम रहेको बताए।
लिम्पियाधुरा–कालापानी–लिपुलेक क्षेत्रसहित सुस्तालगायतका स्थानमा नक्सांकन पूरा हुन बाँकी रहेको र केही क्षेत्रमा दशगजा अतिक्रमण तथा सीमा पार अतिक्रमणका घटना देखिएको सरकारको भनाइ छ।
मन्त्रीका अनुसार दुई देशका प्राविधिक समिति र सीमासम्बन्धी संयन्त्रहरूले सीमास्तम्भको मर्मत, नक्सा मिलान तथा अतिक्रमणको विवरण संकलनको काम अघि बढाइरहेका छन्। अध्ययनका क्रममा केही स्थानमा सीमाको उपयोग र दाबीमा फरक देखिएको पनि उल्लेख गरिएको छ।