रास्वपा सचेतक क्रान्तिशिखा धितालले प्रधानमन्त्री बालेन्द्र शाहलाई खलनायक बनाएर खोक्रो राष्ट्रवादको खेती नगर्न विपक्षी दलहरूलाई आग्रह गरेकी छिन्। प्रधानमन्त्रीको अभिव्यक्तिपछि विपक्षीले संसद् अवरोध गरेपछि धितालले राष्ट्रिय मुद्दाहरू समाधानको चरणमा पुग्न समय, संयम र विश्वासको आवश्यकता पर्ने प्रतिक्रिया दिएकी हुन्।
अहिलेका विपक्षी दलहरूले विगतमा सरकार सञ्चालन गर्दा छिमेकी राष्ट्रसँग दृश्य र अदृश्य सम्झौता गरेका दाबी गर्दै उनले भनेकी छिन्, ‘कतिपय सन्धि–सम्झौताहरू यस्ता पनि छन्, जसले राष्ट्रिय हितमाथि प्रत्यक्ष प्रश्न उठाएका छन्। यसको अर्थ ‘अरूले गरे, हामीले पनि गर्दा फरक पर्दैन,’ भन्ने होइन। तर, कम्तीमा विगतलाई सम्झिएर वर्तमानको मूल्यांकन गरिनुपर्छ।’
अघिल्ला सरकारहरूको पालामा उच्चस्तरीय राजनीतिक भ्रमणसमेत हुन नसकेकोमा अहिले समस्या समाधानका लागि संवादको वातावरण बनेको उनले बताइन्। एउटा भ्रमण वा अभिव्यक्तिले दशकौँ पुरानो सीमा विवाद समाधान नहुने प्रस्ट पार्दै उनले भनेकी छिन्, ‘आज देखिएको औपचारिक भ्रमण लामो प्रक्रियाको एउटा दृश्य भाग मात्र हो।’
तर, प्रक्रिया सुरु भएकै क्षण प्रधानमन्त्रीलाई खलनायक घोषणा गर्न खोजिएको दाबी गर्दै धितालले रास्वपाको नेतृत्व र प्रधानमन्त्रीबाट राष्ट्रहितविपरीत कुनै सम्झौता नहुने स्पष्ट पारेकी छिन्।
‘दशकौँसम्म सत्ता र सरकारमा बसेर समस्या समाधान गर्न नसकेकाहरूले कम्तीमा समाधानको प्रयास गरिरहेकाहरूलाई केही विश्वास गर्ने ठाउँ दिनुपर्दैन? सीमाजस्तो जटिल राष्ट्रिय मुद्दाको मूल्यांकन एउटा अभिव्यक्ति, एउटा भ्रमण वा एउटा बैठकबाट कसरी सम्भव हुन्छ? यस्तो भेट र संवाद त ५०औँपटक हुन सक्छ,’ उनले भनेकी छिन्।