सहरी विकास तथा भवन निर्माण विभागले संसद् भवन निर्माण सम्पन्न गर्न अन्तिमपटक भनेर गत फागुनमा छैटौँपटक ९० दिन समय थपेको थियो । १६ पुस ०८२ मा पाँचौँपटक म्याद सकिएको थियो । थपिएको ९० दिनको समय सकिनै लाग्दा समग्र भवनको प्रगति विवरण ९६ प्रतिशत मात्रै छ ।
विभागका प्रवक्ताका अनुसार भवनको भौतिक प्रगति ९६ प्रतिशत र वित्तीय प्रगति ८५ प्रतिशत छ । ‘मेजर काम त सकिसकेको छ । माइनर काम बाँकी हो । विदेशबाट अलिकति समान आइपुगेन,’ उनले भने, ‘पाँच महिनाअघि नै भुक्तानी गरेको सामान पनि आएन । समयभित्र सकिएन भने कानुनबमोजिम हुन्छ ।’ १ असोज ०७६ मा तत्कालीन प्रधानमन्त्री केपी ओलीले तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी शिलान्यास गरेको संसद् भवन सात वर्ष बितिसक्दा पनि निर्माण पूरा हुन सकेको छैन ।
जेन–जी आन्दोलनमा बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद् भवन आगजनी भएपछि अहिले संसद् सचिवालयसँग सदन सञ्चालन गर्न भवन छैन । समयमै नयाँ भवन निर्माण नहुँदा अस्थायी रूपमा काम चलाउनुपरेको छ । ठेकेदार कम्पनी टुदी सेप जेभीले पाँच अर्ब ३९ करोड लागतमा भवन बनाउँदै छ । सिंहदरबारस्थित पुतली बगैँचाको १५१ रोपनी क्षेत्रफलमा निर्माणाधीन भवनमा आठवटा ब्लक छन् भने १२ वटा छुट्टाछुट्टै भवन छन् । जसमा चार सय सिट क्षमताको प्रतिनिधिसभा, एक सय सिट क्षमताको राष्ट्रिय सभा छ ।
यी दुवैका बिचमा मुख्य प्रवेशद्वार छ, जसको दाहिनेतिर राष्ट्रिय सभा र देब्रेतर्फ प्रतिनिधिसभा छ । मुख्य भवनसँगै सहायक भवन पनि छन् । जहाँ संसदीय दलका कार्यालय, समितिका हल, दुइटा संसद् सचिवालय भवन, पुस्तकालय, संग्रहालय, चमेना गृहलगायत छन् ।
भिभिआइपीका लागि छुट्टै भवन, विशाल पार्किङ, सुरक्षाकर्मी बस्ने ठाउँसहित आवश्यक सबै सेवा समेटिने संरचना तयार हुँदै छ । राष्ट्रिय महत्त्व बोकेको भवनको डिजाइन स्टकचरल, आर्किटेक्चर, इलेक्ट्रिकल, स्यानिटरी पक्षलाई समायोजन गरेर भूकम्पीय हिसाबले सुरक्षित बनाइँदै छ ।