आज विश्वासको मत लिने घोषणा गरेका मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले अन्तिम समयमा स्थगित गरेका छन् । सत्तागठबन्धनभित्र बढ्दो असन्तुष्टि र आन्तरिक विवादका कारण उनि विश्वासको मत लिनबाट पछि हटेका हुन् । अन्तिम समयमा राजनीतिक समीकरण असहज बनेपछि उनले विश्वासको मत लिने कार्यक्रम स्थगित गरेका हुन् ।
विश्वासको मतका लागि शुक्रबार बिहान ११ बजे प्रदेश सभा बैठक बोलाइएको थियो । तर, सत्ता पक्षभित्रै ‘फ्लोर क्रस’ हुन सक्ने संकेत देखिएपछि मुख्यमन्त्री यादव पछि हट्ने निर्णयमा पुगेको स्रोतले जनाएको छ ।
नेपाली कांग्रेसका प्रमुख सचेतक कुमारकान्त झाका अनुसार मुख्यमन्त्रीले अब आगामी जेठ ८ गते विश्वासको मत लिने तयारी गरेका छन् । सरकारको सिफारिसमा प्रदेश प्रमुखले विश्वासको मत प्रयोजनका लागि प्रदेश सभाको सातौँ अधिवेशन आह्वान गरेका थिए ।
सरकारका मुख्य सहयोगी दल जनता समाजवादी पार्टी (जसपा)भित्र मुख्यमन्त्रीलाई विश्वासको मत दिने वा नदिने विषयमा अझै एकमत देखिएको छैन । जसपा र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बिच एकीकरण भए पनि प्रदेशका सांसदहरूबिच मतभेद कायम रहेको स्रोतको दाबी छ ।
स्रोतका अनुसार तत्कालीन लोसपातर्फका सांसदहरू मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने पक्षमा छन् । तर, जसपाका संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री सरोजकुमार यादवसहित केही सांसद आफ्नै नेतृत्वमा सरकार गठन गर्ने रणनीतिमा रहेको बताइएको छ ।
यसअघि केही दिनअघि बसेको नेपाली कांग्रेस, जसपा, लोसपा र नेकपालगायत चार दलको बैठकमा मुख्यमन्त्रीलाई विश्वासको मत दिने सहमति बनेपछि शुक्रबार नै विश्वासको मत लिने तयारी गरिएको थियो ।