किर्ते भौचर बनाएर सरकारी अस्पतालको लाखौँ रुपैयाँ हिनामिना गरिएको घटनामा बैंक कर्मचारी नै मुख्य योजनाकारका रूपमा संलग्न रहेको खुलेपछि कपिलवस्तुमा हलचल मच्चिएको छ। कपिलवस्तुको चन्द्रौटा आधारभूत अस्पतालको खातामा जम्मा हुनुपर्ने ३८ लाखभन्दा बढी रकम नक्कली भौचरमार्फत गायब बनाइएको प्रकरणमा प्रहरीले दुई बैंक कर्मचारीसहित पाँचजनालाई पक्राउ गर्दै संगठित आर्थिक अपराधको पर्दाफास गरेको छ।
आर्थिक वर्ष ०८१/८२ को लेखा परीक्षणका क्रममा भौचरमा उल्लेख भएको रकम बैंक खातामा दाखिला नभएको भेटिएपछि शिवराज नगरपालिकाले वैशाख २७ गते प्रहरीमा जाहेरी दिएको थियो। त्यसपछि जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले अनुसन्धान अघि बढाउँदै शिवराज नगरपालिकाका स्वास्थ्य शाखाप्रमुख चूडामणि भट्टराई, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अमित पाण्डेय, नेपाल बैंक लिमिटेड चन्द्रौटा शाखाका कर्मचारी कमलप्रसाद भण्डारी र विक्रम केसी तथा अस्पतालकी फार्मेसी सहायक रुक्साना खातुनलाई पक्राउ गरेको बताएको छ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख सन्तोष आचार्यले घटनालाई ‘संगठित ढंगबाट गरिएको आर्थिक अपराध’ भन्दै थप संलग्नहरूको खोजी भइरहेको बताए। ‘अस्पतालको राजस्व रकम योजनाबद्ध रूपमा हिनामिना गरिएको देखिएको छ। पक्राउ परेका पाँचजना माथि ठगी तथा आपराधिक विश्वासघात मुद्दामा अनुसन्धान भइरहेको छ, केही फरार व्यक्तिको खोजी तीव्र बनाइएको छ,’ एसपी आचार्यले बताए।
प्रहरीका अनुसार अस्पतालको रकम नेपाल बैंक लिमिटेड चन्द्रौटा शाखामा जम्मा गरिएको देखाउने १२९ वटा भौचर नक्कली भेटिएका छन्। ती भौचरअनुसार बैंकमा जम्मा हुनुपर्ने ३८ लाख १९ हजार रुपैयाँ खातामा नै दाखिला नभएको लेखा परीक्षणबाट खुलेपछि अनियमितताको पर्दाफास भएको बताएको छ।
बैंकभित्रै बनाइन्थ्यो किर्ते भौचर
प्रहरी अनुसन्धानले किर्ते भौचर तयार गर्ने मुख्य काम बैंकभित्रै हुने गरेको खुलासा गरेको छ। प्रहरीका अनुसार नेपाल बैंक लिमिटेड चन्द्रौटा शाखाका क्यासियर कमल भण्डारीले नक्कली भौचर तयार गरी छाप र हस्ताक्षर मिलाउने काम गर्ने गरेको ती भौचर अस्पताल कर्मचारी रुक्साना खातुनमार्फत प्रयोग हुने गरेको बताएको छ।
यस्तै, बैंकमा आएको अस्पतालको नगद रकम सिस्टममा इन्ट्री नगरी कार्यालय सहयोगी विक्रम केसीले छुट्टै राख्ने र त्यसलाई पछि संलग्न व्यक्तिहरूबिच बाँडफाँट गर्ने गरिएको बयान पक्राउ परेकाहरूले दिएको बताएको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले सरकारी निकायको रकम अपचलनमा संलग्न जो–कोहीलाई कानुनी दायरामा ल्याइने बताए।
‘अनुसन्धानलाई प्रमाणमा आधारित बनाएर अघि बढाएका छौँ। आर्थिक अपराधमा संलग्न कुनै पनि व्यक्ति उम्किन पाउने अवस्था छैन,’ डिएसपी सिंहले भने। प्रहरीले घटनामा संलग्न भनिएका फरार कर्मचारी अन्य व्यक्तिको खोजी तीव्र पारेको जनाएको छ।