अन्डरवर्ल्ड खडा गरी उच्चपदस्थलाई धम्क्याएको आरोपमा प्रदीप अधिकारीविरुद्ध मुद्दा दायर

मंगलबार, २९ बैशाख, २०८३
डिजिटल संस्करण

भ्रष्टाचार मुद्दाबाट उन्मुक्ति पाउन अन्डरवर्ल्ड खडा गरी अख्तियार प्रमुखलगायतलाई धम्क्याएको आरोपमा नागरिक उड्यन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीविरुद्ध मुद्दा दायर भएको छ। प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले मंगलबार जिल्ला अदालत काठमाडौंमा पाँचवटा मुद्दा दायर गरेको हो। 

ज्यान मार्ने आपराधिक षड्यन्त्र गर्न नहुने, आपराधिक लाभ लिन नहुने, संगठित अपराध, बिद्युतीय कारोबार ऐन  र सम्पत्ति शुद्धीकरणको कसुमा मुद्दा दायर भएको हो। अधिकारीसहित प्रकाश पाठक र ताराप्रसाद खरेलविरुद्ध मुद्दा दायर भएको हो। 

पाठकले एक्ट्रिमिस्ट ग्रुप नेपाल खडा गरी अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईलगायतलाई धम्क्याएका थिए। अधिकारीविरुद्धको भ्रष्टाचार मुद्दा रोक्न अधिकारीले त्यसरी धम्क्याउन लगाएको प्रमाणसहित मुद्दा दायर भएको हो। तीन महिना लामो अनुसन्धानपछि तीनजनाविरुद्ध सरकारी वकिलमार्फत मुद्दा अदालतमा दर्ता भएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसएसपी रमेश थापाले बताए। 

पाठकलाई गत २८ माघमा प्रहरीले इन्टरपोलको सहयोगमा फिलिपिन्सबाट पक्राउ गरी नेपाल ल्याएको थियो। राईलाई धम्क्याउनका लागि आफूलाई अधिकारीले हुन्डीमार्फत २ करोड रुपैयाँ दिएको उनले बयानमा स्वीकार गरेका छन्। 

अधिकारी हाल भ्रष्टाचार मुद्दामा पुर्पक्षका लागि थुनामा छन्। उनीविरुद्ध चारवटा भ्रष्टाचार मुद्दा दायर भइसकेको छ। 

भ्रष्टाचार मुद्दा रोक्न उनले राजनीतिक लबिइङ गर्नेदेखि अन्डरवल्र्ड खडा गरी धम्काउने तथा तान्त्रिक समेत प्रयोग गरेको छानबिनमा खुलेको छ । त्यस्तै, जेनजी आन्दोलनपछि आफुलाई जेनजी अगुवा भन्ने केही व्यक्तिलाई पैसा दिएर अख्तियार प्रमुखको राजीनामा माग्न पठाएको समेत प्राविधिक अनुसन्धानमा खुलेको प्रहरी स्रोत बताउँछ । 

यस प्रकरणमा उनलाई सघाउने नवीन बस्नेत लगायत केही व्यक्तिहरुविरुद्ध भने प्रमाण पर्याप्त नभएको भन्दै मुद्दा नचलाउने निर्णय भएको छ । 

अनुसन्धानको क्रममा पाठकले कान्तिपुर डेन्टल कलेजका सञ्चालकलाई धम्काएर तारादेवी खरेलको थ्रीस्टार फेन्सी स्टोरको नाममा रहेको खातामा   ५ लाख रुपैयाँ लिएको देखिएको छ । जसमा खरेललाई समेत प्रतिवादी बनाएर मुद्दा दायर भएको छ । 
 

सुझावित समाचार