ताप्लेजुङमा बेमौसमी हिमपात, पाथीभरा सेताम्मे

शनिबार, २६ बैशाख, २०८३
डिजिटल संस्करण

हिमाली जिल्ला ताप्लेजुङमा बेमौसमी हिमपात भएको छ । शुक्रबार रातिदेखि परेको वर्षासँगै जिल्लाका उच्च हिमाली क्षेत्रमा बाक्लो हिमपात भएपछि पाथीभरा क्षेत्रसहित विभिन्न स्थान सेताम्मे बनेका छन् ।

स्थानीयका अनुसार मिल्के जलजले, मिक्वा खोलाको तोक्पेगोला–लोदेन क्षेत्र तथा मानाभरालगायतका उच्च भेगमा हिमपात भएको हो। पछिल्ला केही सातादेखि निरन्तर वर्षा भइरहेको ताप्लेजुङमा वैशाख महिनामै हिमपात हुनु अस्वाभाविक मानिएको छ ।

तीन हजार ७९४ मिटर उचाइमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा पनि बाक्लो हिउँ परेको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले जानकारी दिए । उनले दिनहु जासो हिउँपरेको बताउदै गएराती निकै बाक्लो हिउँपरेको जानकारी दिए ।

समितिका कर्मचारी राजेन्द्र महतका अनुसार पाथीभरा धामभन्दा तल्लो क्षेत्रसम्मै हिउँ जमेको छ । हिमपातसँगै असिनासमेत परेको उनले जानकारी दिए । 

हिमपातका कारण केही तीर्थयात्रीलाई आवतजावतमा समस्या भए पनि अधिकांशले भने हिउँसँग रमाउँदै पाथीभराको दर्शन गरेका छन् । अहिले पाथीभरा क्षेत्रमा पर्यटकीय चहलपहल बढिरहेका बेला लगातारको वर्षा र बेमौसमी हिमपातले पर्यटन व्यवसायमा असर पर्न सक्ने व्यवसायीहरूको भनाइ छ ।

शनिबार बिहान मौसम खुलेर घाम लागे पनि दिउँसोपछि पुनः बदली भई वर्षा सुरु भएको छ ।

निरन्तर पानी परिरहेकाले जिल्लामा चिसो बढेको छ ।स्थानीयले अझै हिमपात हुन सक्ने अनुमान गरेका छन् । उता, ओलाङचुङगोलाको याङ्मा, मानाभरा जस्ता क्षेत्रमा यो सिजनमा हिउँ नपरेको बर्षै भएको थियो । तार, यस बर्ष यी क्षेत्रमा हिमपातहुनुले मौसम परिवर्तनको असर भएको विज्ञहरुले बताएका छन् । 
 

सुझावित समाचार