सीमासम्बन्धी विषयमा राजनीतिक मतभेदभन्दा माथि उठेर साझा धारणा बनाऔँ : कांग्रेस

सोमबार, २१ बैशाख, २०८३
डिजिटल संस्करण

नेपाली कांग्रेसले सीमासम्बन्धी विषयमा राजनीतिक मतभेदभन्दा माथि उठेर राष्ट्रिय सहमति र एकता कायम गरी साझा धारणा बनाउनुपर्नेमा जोड दिएको छ।

‘सीमासम्बन्धी अत्यन्त संवेदनशील विषयमा दलगत दृष्टिकोण र राजनीतिक मतभेदभन्दा माथि उठेर राष्ट्रिय सहमति र एकता कायम गरी साझा धारणा हुनुपर्छ भन्ने नेपाली कांग्रेसको स्पष्ट दृष्टिकोण छ,’ कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकको निर्णयमा भानिएको छ।

नेपाली भूमि लिपुलेकबारे भारत र चीनले गरेको सहमतिमा आपत्ति जनाउँदै नेपाल सरकारले पठाएको कूटनीतिक नोटलाई कांग्रेसले सकारात्मक रूपमा ग्रहण गरेको जनाएको छ। ‘नेपाली कांग्रेस लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूमि भएको धारणासहित नेपालको सार्वभौमिकताको सम्मान गर्न आग्रह गर्दै नेपाल सरकारले भारत र चीन दुवै देशलाई पठाएको कूटनीतिक नोटलाई सकारात्मक रूपमा ग्रहण गर्दछ,’ कांग्रेसले भनेको छ।
 
२०७२ सालमा कांग्रेसका तत्कालीन सभापति सुशील कोइराला नेतृत्वको सरकारले दुई छिमेकीलाई कूटनीतिक नोट पठाएको विषय कांग्रेसले स्मरण गराएको छ। २०७७ मा नेपालको संसदले सर्वसम्मत रूपमा ग्रहण गरेको लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको नक्सा नेपालको संविधानको अंग रहेको भन्दै कांग्रेसले ऐतिहासिक तथ्य, नक्सा, अभिलेख, दस्ताबेज र प्रमाणको आधारमा थप प्रभावकारी कूटनीतिक भूमिका निर्वाह गर्न सरकारलाई विशेष अपिल गरेको छ।

See More On

सुझावित समाचार