नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वले निष्पक्ष रूपमा पन्ध्रौँ महाधिवेशन गर्न नसक्ने निष्कर्ष निकालेको छ। एकपक्षीय ढंगले तथाकथित विशेष महाधिवेशनबाट नेतृत्व चुनिएको भन्दै देउवा पक्षले आगामी महाधिवेशनको निर्वाचन निष्पक्ष रूपमा हुन असम्भव रहेको ठहर गरेको हो।
पूर्णबहादुर खड्काले निवर्तमान कावा सभापतिको रूपमा वैशाख १५–१६ सम्म काठमाडौंमा बसेको देउवा पक्षका नेताहरूको बैठकका निर्णयहरू सार्वजनिक गर्दै ‘जबर्जस्ती एकपक्षीय ढंगले विशेष महाधिवेशन गराउनु’लाई नै वर्तमान विवादको कारण ठहर गरेका छन्।
‘एकपक्षीय महाधिवेशन प्रतिनिनिधिहरूको मात्र सहभागितामा भएको तथाकथित विशेष महाधिवेशनबाट चयन भएको नेतृत्वले अब हुने पन्ध्रौँ महाधिवेशनमा सम्पूर्ण पार्टीपंक्तिको सम्मानजनक सहभागिता गराउने र उक्त महाधिवेशनवाट निष्पक्ष निर्वाचन हुने कुरा असम्भव भएकाले पार्टीको बृहत्तर एकताको महाधिवेशनका लागि सहमतिमा साझा संरचनाहरूको आवश्यकता हुने ठहर गर्दै सम्बन्धित सबैको ध्यानाकर्षण गर्दछौँ,’ निर्णयमा भनिएको छ।
देउवा पक्षले पार्टी एकता र सुदृढ कांग्रेस निर्माणका लागि सिंगो कांग्रेसको सहभागिता हुने गरी चौधौँ महाधिवेशनबाट संशोधित पार्टी विधानबमोजिम केन्द्र, प्रदेश, जिल्लालगायत सबै तहमा पार्टी एकताको अभियान कार्यक्रम सञ्चालन गर्नुपर्ने प्रस्ट पारेको छ।