१७ चैतअघि तीन दिन लगाएर ९० लाख लिटरभन्दा बढी इन्धन बिक्री, तर मूल्यवृद्धि नहुँदा निराश

शनिबार, १२ बैशाख, २०८३
डिजिटल संस्करण

१ र १५ तारिखमा मूल्यवृद्धि गर्ने स्थायी संरचना भएअनुसार १७ चैतमा पुनः मूल्यवृद्धि गर्ने कार्यतालिका थियो । त्यसवेला पनि निगमले औसत मागभन्दा बढी हुने गरी १५ चैतमा पेट्रोल ३७ लाख ३६ हजार लिटर र डिजेल ९७ लाख २९ हजार लिटर, १६ चैतमा २९ लाख दुई हजार लिटर पेट्रोल र ७५ लाख ४७ हजार लिटर डिजेल तथा मूल्यवृद्धि हुने १७ चैतमा ३१ लाख ७४ हजार लिटर पेट्रोल र ६८ लाख ४६ हजार लिटर डिजेल बिक्री गरेको थियो ।

मूल्य समायोजन हुने तीन दिनमा औसत मागभन्दा पेट्रोल २९ लाख १२ हजार लिटर (१५ चैत आइतबारको औसत खपत २५ लाख लिटर र अन्य दिनको औसत खपत २२ लाख लिटरका आधारमा) र डिजेल ६१ लाख २२ हजार लिटर (१५ चैत आइतबारको औसत खपत ७० लाख र अन्य दिनको औसत खपत ५५ लाख लिटरका आधारमा) बढी बिक्री भएको प्राप्त तथ्यांकमा उल्लख छ । यसरी निगमले पेट्रोल र डिजेल गरेर औसत मागभन्दा ९० लाख ३४ हजार लिटर बढी बेचेको थियो । तर, १७ चैत राति सञ्चालक समितिले हवाई इन्धनको मात्र मूल्यवृद्धि गर्ने निर्णय गर्यो । जसकारण बढी तेल बेचेर लाभ लिने कर्मचारी र पम्प व्यवसायी निराश भएका थिए । 

औसत मागभन्दा बढी इन्धन आयल निगमबाट बिक्री भइरहेको विषयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीलाई अनौपचारिक जानकारी पुगेको थियो । त्यसपछि, सञ्चालक समितिले आन्तरिक हवाई इन्धन प्रतिलिटर १२४ र बाह्य हवाई इन्धन प्रतिकिलोलिटर ८१९ डलरले बढाएर अन्यको मूल्य यथावत् राखेको थियो । 

मूल्य बढ्ने आसमा पेट्रोलपम्पमा अत्यधिक तेल बिक्री भएको भोलिपल्टको तथ्यांकले पनि पुष्टि गर्छ । किनभने १८ चैत बुधबार देशभर पेट्रोल नौ लाख ५५ हजार र डिजेल ३६ लाख २५ हजार लिटर मात्रै बिक्री भएको छ, जुन सामान्य खपतको तुलनामा आधा मात्रै हो । स्रोतका अनुसार पम्पमा तेल राख्ने ठाउँ नै नभएपछि बिक्री घटेको थियो । निगमले १९ चैत बिहीबार पेट्रोल र डिजेलमा प्रतिलिटर १५–१५ रुपैयाँ मूल्यवृद्धि गरेको थियो । उक्त दिन भने सामान्य खपतअनुसार नै इन्धन बिक्री भएको थियो । तर, पहिले नै धेरै तेल उठाएर मौज्दात राखेकाले त्यसबाट लाभ लिएको स्रोतको भनाइ छ ।

सुझावित समाचार