सांसद विश्वराज पोखरेलले ओखलढुंगामा दिएका अभिव्यक्तिप्रति माफी मागेका छन्। गृहजिल्लाको खिजिदेम्बा गाउँपालिका–२, रगनीस्थित चण्डेश्वरी मावि पुगेका पोखरेलले प्रधानाध्यापकले स्वागत गर्न नआएको भन्दै पोखरेल जंगिएको भिडियो बाहिरिएपछि उनी विवादित बनेका थिए।
उनले शनिबार विज्ञप्ति जारी गर्दै सार्वजनिक पदीय जिम्मेवारी बोकेको मान्छेले संयम हुनपर्ने पाठ यस घटनाले सिकाएको भन्दै माफी मागेका छन्। तर, उनले भिडियो सबै नराखेर काटछाँट गरी विवादित बनाएको आरोप लगाएका छन्। ओखलढुंगाबाट निर्वाचित पोखरेल पूर्वएआइजीसमेत हुन्।