खटाइएका पालिकामा तीन दिनभित्र हाजिर हुन कर्मचारीलाई मन्त्रालयको अल्टिमेटम

शुक्रबार, ११ बैशाख, २०८३
डिजिटल संस्करण

नयाँ सरकार बनेपछि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले अहिले कारबाहीको प्रक्रिया थालेकी छिन् । लामो समयसम्म हाजिर नभएका ती कर्मचारीलाई यथाशीघ्र खटाइएका पालिकामा हाजिर हुन मन्त्रालयले अल्टिमेटम नै दिएको छ । अल्टिमेटमको अवधिमा खटाएको ठाउँमा नजाने कर्मचारीलाई विभागीय कारबाही गर्ने चेतावनी मन्त्रालयले दिएको छ ।

मन्त्रालयले ती कर्मचारीलाई बिहीबार पत्राचार गरेर तीन दिनभित्र अनिवार्य रूपमा हाजिर हुन भनेको छ । ‘।।।रमाना भई समय व्यतीत भइसक्दासमेत खटाइएको स्थानीय तहहरूमा रमाना भई हाजिर हुन नगएका प्रमुख प्रशासकीय अधिकृतलाई तीन दिनभित्र अनिवार्य रूपमा कामकाज गर्न खटाइएको निकायमा रमाना भई जानू । अन्यथा निजामती सेवा नियमावली, २०५० को नियम ३९ र ४० मा भएको व्यवस्थाबमोजिम कारबाही हुनेछ,’ मन्त्रालयको परिपत्रमा उल्लेख छ ।

मन्त्रालयले अब उप्रान्त पनि खटाएको निकायमा नजाने कर्मचारीमाथि कारबाही हुने चेतावनी दिएको छ । अवधि पुगी खटाएको ठाउँमा हाजिर नहुने कर्मचारीउपर कडा कानुनी कारबाही गरिने मन्त्रालयको भनाइ छ ।

मन्त्रालयको नेतृत्व सम्हालेको केही समयमै मन्त्री रावलले डेढ सयभन्दा बढी संख्यामा रिक्त रहेका स्थानीय तहमा दरबन्दीबमोजिम प्रमुख प्रशासकीय खटाइसकेकी छिन् । लामो समयदेखि प्रमुख प्रशासकीय रिक्त रहेर सेवा प्रवाह र विकास निर्माणसमेत प्रभावित भएका स्थानीय तहहरूले अहिले त्यस समस्याबाट राहत पाएका छन् । 
 

सुझावित समाचार