झापाको दमकमा एक सरकारी विद्यालयका शिक्षकले निजी विद्यालयका सञ्चालकमाथि सोमबार कुटपिट गरेका छन्। मोरङको मिक्लाजुङस्थित तोरीबारीमा रहेको देवकोटा माध्यमिक विद्यालयका शिक्षक दीपक दंगालले नेकपा नेतासमेत रहेका दमकस्थित सप्तश्री बोर्डिङका सञ्चालक वीरेन्द्र बस्नेतमाथि गुन्डागर्दीमा संलग्नलाई प्रयोग गरेर कुटपिट गरेका हुन्।
दंगाल देवकोटा माविका संघीय अनुदानअन्तर्गत अंग्रेजी विषयका करार शिक्षक हुन्। उनको लगानी दमकस्थित सप्तश्री बोर्डिङमा रहेको खुलेको छ। विद्यालयको सेयर कारोबारमा कुरा नमिलेपछि दंगालले बस्नेतलाई झापामा विगतदेखि नै गुण्डागर्दीमा संलग्न दुरेन राई, शिव साहलगायतलाई लगाएर कुटपिट गरेका हुन्।
कमल गाउँपालिका ४ का राई झापामा लामो समयदेखि गुण्डागर्दीमा संलग्न छन् । उनी पटकपटक पक्राउ पर्दै आएका छन् भने साह दमकमा शिवानी नामंक स्टार होटेल सञ्चालनको तयारीमा छन्।
दंगालले सोमबार आफ्नो मिटिङ भएको भन्दै विद्यालयमा फोनमार्फत बिदा मागेका थिए। उनी सोमबार करिब साढे १० बजे दमकस्थित एक होटेलमा पुगेका थिए। त्यसपछि राईले बस्नेतलाई फोन गर्दै त्यहाँ बोलाए। ‘दीपकको विषयमा कुरा गर्नुपर्नेछ भन्दै दुरेन राईले फोन गरे। म त्यहाँ पुग्नेबितिकै हेप्न खोजियो। मैले यहाँ छलफल हुँदैन भनेपछि ममाथि कुटपिट भयो। उनीहरू चारजना थिए। म एक्लै थिएँ,’ उनी भन्छन्, ‘दीपकसँगको कारोबार मसँग मात्र जोडिएको हैन । विद्यालयको सेयरको विषय हो। त्यहाँको सेयर होल्डर म मात्रै हैन। अरू पनि छन्। तर, ममाथि कुटपिट भयो। म पनि त्यो कारोबार मिलाउनेमै थिएँ।’ सरकारी विद्यालयका शिक्षक दंगालको यो निजी विद्यालयमा मात्रै लगानी छैन। उनी दमकको अल्फाबिटा नामक कन्सल्टेन्सीका सञ्चालक पनि हुन्।
घटनापछि बस्नेतले इलाका प्रहरी कार्यालय दमकमा जाहेरी दर्ता गराएका छन्। प्रहरीले घटनामा संलग्न राई र साहलाई पक्राउ गरेको छ। घटनामा चारजना रहेको र दुईजना फरार रहेको प्रहरीले जनाएको छ। कुटपिट गर्न मान्छे लगाउने शिक्षक दंगाल पनि फरार छन्। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार चारजना व्यक्तिले अश्लिल शब्द प्रयोग गरी गाली गलौज गर्दै बस्नेतमाथि कुटपिट गरेका थिए।
कुटपिटबाट बस्नेतको कान, मुख र गर्धनमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।