अन्तरपुस्ताबिच सदभाव बढाउन तथा एकले अर्काप्रति नैतिक जिम्मेवारी बढाउनका लागि कञ्चनपुरमा बुढ्यौली शिक्षा कार्यक्रम गरिएको छ।
पछिल्ला वर्षहरूमा नयाँ र पुराना पुस्ताबिचको खाडलका कारण ज्येष्ठ नागरिक समस्यामा पर्न थालेपछि राष्ट्रिय ज्येष्ठ नागरिक महासंघले सातै प्रदेशमा बुढ्यौली शिक्षा कार्यक्रम सञ्चालन गर्ने भएको छ। महासंघकी वरिष्ठ उपाध्यक्ष शारदा चन्दले ज्येष्ठ नागरिक अभिभावक र प्लस–टुका विद्यार्थीबिच अन्तरक्रिया गराई बुढ्यौली शिक्षा आदान–प्रदान गरिएको बताइन्। उनका अनुसार सुदूरपश्चिम प्रदेशको कञ्चनपुरस्थित महेन्द्रनगरबाट सुरु गरिएको उक्त कार्यक्रम सातै प्रदेशमा सञ्चालन गरिनेछ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोगमा राष्ट्रिय ज्येष्ठ नागरिक महासंघले अन्तरपुस्ताबिच छलफलमार्फत नयाँ पुस्ताका विद्यार्थीमा सदभाव र नैतिक जिम्मेवारी विकास गराउने उद्देश्य राखेको छ। पछिल्ला वर्षहरूमा अध्ययन र रोजगारीका लागि छोराछोरी अन्तरजिल्लादेखि बिदेसिने क्रम बढ्दै गएको र बिदेसिएपछि घरमा रहेका ज्येष्ठ नागरिक (आमाबाबु, हजुरआमा–हजुरबुबा) को हेरचाहमा कमी आएको कारण उनीहरू समस्यामा परिरहेका छन्। त्यसैले अहिलेबाटै नयाँ पुस्तामा ज्येष्ठ नागरिकप्रति सदभाव बढाउन कार्यक्रम सञ्चालन गरिएको हाे।
‘हामी देशभर आजको मितिमा ३० लाख ज्येष्ठ नागरिक छौँ। ८५ हजार स्वयंसेवक संघमार्फत पनि अन्तरपुस्ताबिच सदभाव फैलाउने काम गरेका छौँ,’ उनले भनिन्, ‘०७९ मा ज्येष्ठ नागरिकसम्बन्धी ऐन जारी भए पनि समस्या उस्तै छ।’
महासंघका केन्द्रीय अध्यक्ष सूर्यप्रसाद श्रेष्ठले समाजका लागि योगदान गरेका ज्येष्ठ नागरिक अहिले समस्यामा परेको बताए। हिजोको बालक भोलि ज्येष्ठ नागरिक भएपछि एक्लोपन बिताउन बाध्य हुने भएकाले अहिलेका पुस्तालाई नैतिक शिक्षा दिन आवश्यक भएको उनले बताए।
‘अहिले घरदेखि सार्वजनिक स्थलसम्म ज्येष्ठ नागरिक अपहेलित, अपमानित तथा समस्यामा परिरहेका छन्,’ उनले भने, ‘यसलाई घरबाटै अन्त्य गर्न नयाँ पुस्तामा सचेतना र सिकाइका कार्यक्रम अघि बढाउन खोजिएको हो।’
उनले सातै प्रदेशमा अन्तरक्रिया गरेर प्राप्त सुझावका आधारमा सरकारलाई ज्येष्ठ नागरिकका हकअधिकार संरक्षणका लागि योजना ल्याउन सुझाव दिइने बताए।
कार्यक्रमका प्रमुख अतिथि तथा सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति डा. हेमराज पन्तले समाज सुधार र विकासका लागि ज्येष्ठ नागरिकप्रति सम्मान, सदभाव र सहयोगी मानवीय भावना आवश्यक रहेको औँल्याए। उनले अहिलेका पुस्ताले विगतमा समाजका लागि योगदान गरेका ज्येष्ठ नागरिकको उचित मूल्यांकन र कदर गर्न सिक्नुपर्ने बताए।
कार्यक्रममा महासंघका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठ, सल्लाहकार सत्यप्रसाद मोहपाल, वरिष्ठ उपाध्यक्ष शारदा चन्द, महिला अगुवा नारा जोशी, सुदूरपश्चिम विश्वविद्यालयका समाजशास्त्र उपप्राध्यापक दीपकचन्द्र भट्ट तथा सामाजिक अगुवा प्रेम शर्माले विद्यार्थीलाई अन्तरपुस्तासम्बन्धी प्रशिक्षण दिएका थिए। उनीहरूले समाजको विकासक्रममा ज्येष्ठ नागरिकको महत्त्वपूर्ण भूमिका रहेकोले सम्मान आवश्यक रहेको औँल्याए।
कार्यक्रमबाट ज्येष्ठ नागरिकको सम्मान व्यावहारिक रूपमा लागू गर्नुपर्ने विषयमा जानकारी प्राप्त भएको विद्यार्थीहरूले बताएका छन्। विद्यार्थी रविराम लुहारले घरबाटै ज्येष्ठ नागरिकप्रति माया–स्नेह आवश्यक रहेको बताए। अर्की छात्रा पद्मा पन्तले घरघरबाटै ज्येष्ठ नागरिकको हेरचाह र स्याहारले भावी पुस्तामा पनि शिक्षा हस्तान्तरण हुने बताइन्।
कार्यक्रममा विद्यार्थी, ज्येष्ठ नागरिक तथा सरोकारवालाको सहभागिता रहेको थियो।