१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ असार २४ मंगलबार १८:०८:००
Read Time : < 1 मिनेट
समाचार

बालगोपालेश्वर मन्दिर पुनर्निर्माण गर्न प्राधिकरण र सीए-तुलसी कन्ट्रक्सन जेभीबीच सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ असार २४ मंगलबार १८:०८:००

रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर पुननिर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र सीए÷तुलसी कन्ट्रक्सन जेभीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

मन्दिरमा जाने पुल र पोखरी वरिपरिको बगैंचा पुनर्निर्माण गर्न मंगलबार प्राधिकरण र निर्माण कम्पनीबीच हस्ताक्षर भएको हो । सम्झौतापत्रमा प्राधिकरणका तर्फबाट सहसचिव एवं सम्पदा संरक्षण, सार्वजनिक भवन तथा पूर्वाधार महाशाखा प्रमुख शिवहरि शर्मा र निर्माण कम्पनीका तर्फबाट शान्तकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बालगोपालेश्वर मन्दिर पुनर्निर्माणका लागि सम्झौता हुनुलाई सुखद् पक्ष भन्दै प्रताप मल्लकालीन शिखर शैलीमा पुनर्निर्माण हुने बताए । ‘उपभोक्ता समितिमार्फत् रानीपोखरीको पुनर्निर्माण भइरहेकाले अब बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण पनि द्रुत गतिमा सँगसँगै अघि बढ्नेछ,’ उनले भने । 

प्राधिकरणका कार्यकारी सदस्य डा. चन्द्रबहादुर श्रेष्ठले रानीपोखरीको पुनर्निर्माण गर्दा मन्दिर पुनर्निर्माणमा र मन्दिर पुननिर्माण गर्दा रानीपोखरी पुनर्निर्माणमा असर नपार्ने गरी समन्वयात्मक ढंगले काम गर्न सुझाव दिएका छन् । 

निर्माण व्यवसायी शान्तकुमार श्रेष्ठले प्राधिकरण, उपभोक्ता समिति लगायतसँग सहकार्य र समन्वय गर्दै सम्पदाको मौलिकतालाई विशेष ध्यान दिएर बालगोपालेश्वर मन्दिर, पुल र वरिपरिको क्षेत्रमा पुनर्निर्माणको काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

पुनर्निर्माणका लागि सम्झौता रकम १४ करोड २७ हजार रुपैयाँ छ । रानीपोखरी पुनर्निर्माण भने उपभोक्ता समिति मार्फत भइरहेको छ ।