१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
शान्ति तामाङ काठमाडाैं
२o८१ बैशाख २४ सोमबार o६:२५:oo
Read Time : > 2 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

३४९ सम्पदाको पुनर्निर्माण बाँकी : अझै तीन वर्ष लाग्ने, पाँच अर्ब आवश्यक

Read Time : > 2 मिनेट
शान्ति तामाङ, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o६:२५:oo

विनाशकारी भूकम्प गएको नौ वर्ष बितिसक्दा पनि भूकम्पले ध्वस्त पारेका सम्पदाको पुनर्निर्माण अझै सकिएको छैन । पुरातत्व विभागका अनुसार अझै पनि तीन सय ४९ सम्पदा पुनर्निर्माण हुँन बाँकी छन् ।

१२ वैशाख ०७२ मा गएको विनाशकारी भूकम्पले नौ सय २० मठमन्दिर र दुई सय १५ गुम्बा क्षतिग्रस्त भएका थिए । क्षति पुगेका मठमन्दिरमध्ये सात सय ८१ र पाँचवटा गुम्बा मात्र पुनर्निर्माण भएका छन् । विभागका अनुसार सरकारले सम्पदा पुनर्निर्माणका लागि आवश्यक स्रोत–साधन उपलब्ध नगराउँदा लक्ष्यअनुसार काम हुन नसकेको हो ।

सौभाग्य प्रधानांग महानिर्देशक, पुरातत्व विभाग
सुरुवाती दिनमा सरकारले पुनर्निर्माणका लागि आवश्यक स्रोत–साधन एवं बजेट दिएको थियो, तर बिस्तारै घटाउँदै लग्यो । हामीले गर्नुपर्ने दायित्व भने झन् पछि बढेको बढ्यै छ । तर, बजेट र स्रोत–साधन घट्दो छ । त्यसैले पुनर्निर्माण पूरा हुन कठिन भएको हो ।

‘सुरुवाती दिनमा सरकारले पुनर्निर्माणका लागि आवश्यक स्रोत–साधन एवं बजेट दिएको थियो, तर बिस्तारै घटाउँदै लग्यो,’ विभागकी महाननिर्देशक सौभाग्य प्रधानांगले भनिन्, ‘हामीले गर्नुपर्ने दायित्व भने झन् पछि बढेको बढ्यै छ । तर, बजेट र स्रोत–साधन घट्दो छ । त्यसैले पुनर्निर्माण पूरा हुन कठिन भएको हो ।’

उनले सम्पदा पुनर्निर्माणमा पछिल्लो समय झनै समस्या थपिएको बताइन् । ‘सुरुमा तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको तर्फबाट काम गर्दा धेरै ठाउँमा उपभोक्ता समितिमार्फत सुरु गर्‍यो । प्राधिकरणको कानुनअनुसार उपभोक्ता समूहले १० करोडसम्मको काम थाले । तर, सम्पदाको काम गर्दै गर्दा समय पुगेन । तीन वर्षमा सक्नुपर्ने काम चार–पाँच वर्ष लाग्न थाल्यो । प्राधिकरण विघटन भएसँगै प्राधिकरणले बनाएको ऐन–कानुन पनि रद्द भयो । सार्वजनिक खरिद ऐन ०६३ अनुसार काम गर्न एक करोडभन्दा माथिको काम समितिले गर्न पाउँदैन । त्यसैले अब एक करोडभन्दा माथिको काम कसरी आगाडि बढाउने भन्ने अन्योल भएको छ । हामीलाई म्याद थप्न पनि गाह्रो छ । ठेक्का तोड्न पनि सकिएको छैन । यसका लागि सरकारले केही निर्णय गरिदिए सहज हुने थियो,’ उनले भनिन् । 

दुई सय १० गुम्बा पुनर्निर्माण हुन बाँकी
भूकम्पले क्षति पुर्‍याएका दुई सय १५ गुम्बामध्ये पाँचवटा सम्पन्न र २१ वटामा पुनर्निर्माण भइरहेको छ । तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिले गरिरहेको गुम्बा पुनर्निर्माण प्राधिकरण खारेज भएसँगै विभागलाई हस्तान्तरण भएको थियो । एक सय वर्षभन्दा माथिको गुम्बा पुनर्निर्माणको जिम्मा पाए पनि आवश्यकताअनुसारको बजेट नपाउँदा गुम्बा पुनर्निर्माण अगाडि बढाउन कठिन भइरहेको विभागले जनाएको छ । प्राधिकरण १० पुस ०७८ मा खारेज भएको थियो । 

सम्पदा पुनर्निर्माण सक्न अझै तीन वर्ष लाग्ने 
भूकम्पले क्षति पुर्‍याएको सम्पदा पुनर्निर्माणका लागि अझै तीन वर्ष लाग्ने भएको छ । विभागका अनुसार सरकारले पर्याप्त बजेट दियो भने मात्रै तीन वर्षमा काम सकिनेछ । सरकारले विभागलाई प्रत्येक वर्ष एकदेखि डेढ अर्ब बजेट दिनुपर्ने विभागको भनाइ छ । ‘सरकारले भनेजति बजेट दिने हो भने तीन वर्षमा बाँकी सक्नेछौँ,’ प्रधानांगले भनिन् । सम्पदा पुनर्निर्माण सक्नका लागि विभागलाई पाँच अर्ब बजेट आवश्यक रहेको उनको भनाइ छ । 

यी हुन् पुनर्निर्माण नभएका सम्पदा
उपत्यकाकै महत्वपूर्ण सम्पदासमेत पुनर्निर्माण हुन बाँकी छन् । ललितपुरको देगु तलेजु मन्दिर, हिरण्य महाविहार, काठमाडौंको आँगाम्छे, नवआदर्श माध्यमिक विद्यालय, बागदरबार, भक्तपुरको लाल बैठकजस्ता महत्वपूर्ण सम्पदा पुनर्निर्माण बाँकी छ । विभागका अनुसार फर्पिङ शेषनारायण मन्दिर सत्तल, धुला सत्तल–साँखु, नर्सिङ मठ गुठी–खोपासी, बाराही वृद्धाश्रम तथा सत्तल संरक्षण–भक्तपुर, अर्घा दरबार–अर्घाखाँची, पाल्पा दरबारको ठूलो ढोका–पाल्पा, दुधनाथ महादेव मन्दिर–धादिङको पुनर्निर्माण बाँकी छ ।

यसैगरी, हनुमानढोकाको मुख्य दरबार, नाला भगवती–काभ्रे, दोबाटे पाटी मेलुङ, गोइरापाटी नमोबुद्ध, विश्वेश्वर महादेव–गोरखा, भीम मुक्तेश्वर मन्दिर–कालीमाटी, नुवाकोट दरबार परिसरभित्रको द्वारेघर, धामीघर र सीतापोखरी, कालिका मन्दिर पाटी–लमजुङ, चाँगुनारायण मन्दिर सत्तल, भीमसेन मन्दिर–सिन्धुपाल्चोक, बट्केश्वर मन्दिर–खोटाङ, हनुमानघाट मन्दिर–भक्तपुर, तलेजु धारा पाटी–साँखुलगायत सम्पदा पुनर्निर्माण भइरहेका छन् । विभागले यो वर्ष जम्मा १५ वटा सम्पदा मात्र पुनर्निर्माण सम्पन्न गरेको छ । 

ad
ad