प्रधानमन्त्री कार्कीका पिएलाई प्रकृति संरक्षण कोषको अध्यक्ष बनाउनु शतप्रतिशत गलत : महावीर पुन

सोमबार, २ चैत, २०८२
डिजिटल संस्करण

निवर्तमान शिक्षामन्त्री महावीर पुनले राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा प्रधानमन्त्री सुशीला कार्कीका स्वकीय सचिव आदर्श श्रेष्ठको नियुक्तिप्रति सार्वजनिक रूपमा असहमति जनाएका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै पुनले उक्त नियुक्ति ‘शतप्रतिशत गलत’ भएको टिप्पणी गरेका छन्। उनले श्रेष्ठलाई सम्बोधन गर्दै प्रधानमन्त्रीको प्रतिष्ठा जोगाउन उक्त पद नलिन आग्रह गरेका छन्।

पुनले लेखेका छन्, ‘त्यति सानो लोभले प्रधानमन्त्रीज्यूले कमाउनुभएको ऐतिहासिक इज्जत धुलोमा नमिलाइदेऊ।’ उनले यस्तो नियुक्तिले नातावाद, कृपावाद, चाकरीवाद र चाप्लुसीलाई बढावा दिने उल्लेख गर्दै यस्तै प्रवृत्तिका कारण पुराना राजनीतिक दल कमजोर बनेको तर्क गरेका छन्।

पुनका अनुसार यस्तै शैली दोहोरिए नयाँ राजनीतिक शक्ति पनि दीर्घकालमा संकटमा पर्न सक्नेछन्। ‘यस्तै किसिमको नातावाद, चाकरीवाज, कृपावाद, चाप्लुसीवादले पुराना दलहरू खत्तम भए। यही पाराले काम गर्ने हो भने नयाँ दलहरू पनि कालान्तरमा मासिन्छन्,’ पुनले भनेका छन्, ‘होसियार गर्ने म छु। त्यो नियुक्ति अब आउने सरकारले बुद्धि पुऱ्याएर गरोस् ।’

प्रकृति संरक्षण कोषकी संरक्षणसमेत रहेकी प्रधानमन्त्री कार्कीले आइतबार मात्र श्रेष्ठलाई पाँच वर्षका लागि अध्यक्षमा मनोनीत गरेकी थिइन्।

सुझावित समाचार