नेपालमा पहिलोपटक कपिलवस्तुको तिलौराकोटमा अर्धवृत्ताकार शैलीको मन्दिर फेला पारेको छ । तिलौराकोटमा उत्खननको क्रममा पुरातत्व विभागले बौद्ध मन्दिर भेटाएको हो ।
विभागले बुधबार सार्वजनिक गरेको विवरणअनुसार बौद्ध विहारभित्र यस्तो मन्दिर पत्ता लागेको हो । मन्दिरमा प्रशस्त मात्रामा तेलका दियोहरू फेला परेकाले मन्दिर केन्द्रीय धार्मिक अनुष्ठानको केन्द्र रहेको आकलन गरिएको छ । ‘तिलौराकोट–कपिलवस्तुमा पत्ता लागेको यो स्मारक, जून नेपालकै पहिलो हो, यसै संरचनात्मक स्वरुपमा आधारित छ तर अवस्थिति असामान्य छ,’ विभागको प्रेस बिज्ञप्तिमा भनिएको छ, ‘यो धार्मिक परिसरभन्दा असल नभई सहरभित्रै निर्माण गरिएको अर्धवृत्ताकार मन्दिरको दुर्लभ उदारण हो ।’
बेलायतको दुरहाम विश्वविद्यालयका पुरातत्वविद्हरुको समेत सहयोगमा गरिएको उत्खननमा सो मन्दिर फेला परेको पुरातत्व विभागकी महानिर्देशक सौभाग्य प्रधानांगले बताइन् । यसले तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न सहयोग पुग्ने उनको विश्वास छ । नेपालले धेरै वर्षदेखि सो क्षेत्रलाई विश्व सम्पदा सूचीमा राख्ने प्रयास गरेपनि सफल हुन सकेको छैन । ‘नेपालमा भेटिएको यो नौलो किसिमको मन्दिर हो,’ प्रधानांगले भनिन्,‘अब तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पर्याप्त आधार मिलेको छ ।’ अर्काे वर्ष हुने विश्व सम्पदा समितिको बैठकमा सम्पदा सूचीमा राख्न प्रस्ताव राखिने उनले बताइन् । दरबार क्षेत्रमा रहेको विहारको एक आँगनमा सो मन्दिर फेला परेको विभागले जनाएको छ ।

विभागका पूर्वमहानिर्देशक कोषप्रसाद आचार्यले नेपालमा अर्धवृत्ताकार शैलीको मन्दिर यो पहिलो भएको बताए । यस्तो प्रकारको मन्दिरको बनावट अर्धवृत्ताकार हुने र यसले स्मारकको धार्मिक केन्द्रलाई परिभाषित गर्ने उनको भनाई छ । विभागले मन्दिरको नमुना संकलन गरी परीक्षण गर्दा मन्दिर रहेको पुष्टि भएको हो । थप परीक्षणबाट कति शताब्दीमा निर्माण भएको प्रष्ट हुने पूर्वमहानिर्देशक आचार्यले बताए ।
बुधबार आयोजित पत्रकार सम्मेलनमा दुरहाम विश्वबिद्यालका प्राध्यापक रोबिन कनिङघमले यो खोजले सो क्षेत्रको बौद्ध क्षेत्रको सम्बृद्धि थप प्रष्ट पारेको बताए । ,‘नेपालको ग्रेटर लुम्बिनी क्षेत्र अमूर्त र मूर्त सांस्कृतिक सम्पदाले अत्यन्त सम्बृद्ध छ । तिरौलाकोट–कपिलवस्तु क्षेत्रमा यो अद्धितिय अर्धवृत्ताकार मन्दिरको खोजले यस क्षेत्रको बौद्ध सम्पदाको सम्बृद्धि तथा दक्षिण एसियाका प्राचिन बौद्ध तीर्थमार्गहरुमा यसको महत्व थप पुष्टि गर्छ,’ उनले भने । विभागले लुम्बिनी विकास कोषको समेत सहयोगमा सो क्षेत्रमा अध्ययन र उत्खनन गरेको हो ।
